पाँच सय दरका २३ करोड थान नयाँ नोट प्रचलनमा ल्याउन प्रक्रिया शुरु

काठमाडौँ । बजारमा नोट आपूर्तिका लागि पाँच सय दरका नोट छापिने भएको छ । नेपाल  राष्ट्र बैङ्कले पाँच सय दरका २३ करोड थान नयाँ नोट प्रचलनमा ल्याउन प्रक्रिया शुरु गरेको हो ।

राष्ट्र बैङ्कले आइतबार एक सूचना जारी गर्दै उक्त दरका नोट प्रचलनमा ल्याउन लागि अन्तराष्ट्रिय बोलपत्र आह्वान गरेको छ ।

राष्ट्र बैङ्कले नयाँ नोट छाप्न इच्छुक आपूर्तिकर्ताबाट गोप्य शिलबन्दी बोलपत्र पेस गर्न आह्वान गरेको छ । इच्छुक आपूर्तिकर्ताले आगानी मे ३ तारिखसम्म कार्यालय समयभित्र बोलपत्र पेस गर्न सक्ने सूचनामा उल्लेख छ ।

राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभागले नोट छाप्न योग्य भेण्डरहरुका लागि अन्तराष्ट्रिय टेण्डर आह्वान गरेको हो ।

प्रतिबोलपत्र २० हजार रुपियाँ अथवा १४४ अमेरिकी डलर, १३३ युरो वा ११२ पाउन्ड स्टर्लिङ लाग्ने राष्ट्र बैङ्कले जनाएको छ ।

नोट छाप्न पूर्वशर्त पूरा गरे अनुरुप छ वटा विदेशी कम्पनीलाई छनौट गरिसकेको राष्ट्र बैङ्कले जनाएको छ । छनौटमा परेका विदेशी कम्पनीहरुमा चीनको चाइना बैङ्कनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशन, यूकेको डे ला रुई इन्टरनेशनल लिमिटेड, जर्मनीको गीएसेकी डेभिरेन्ट करेन्सी टेक्नोलोजी, रसियाको ज्वाइन्ट स्टक कम्पनी ‘गोज्नाक’, फ्रान्सको ओबेरथुर फिडुसिआयर एसएएस र पोल्यान्डको पोलिस सेक्युरिटी प्रिन्टिङ वर्कस छन् ।

पूर्वशर्त पूरा गरेका छ वटा कम्पनीहरुले बैङ्क नोट छाप्न राष्ट्र बैङ्कमा बोलपत्र पेस गर्न सक्ने आइतबार जारी सूचनामा उल्लेख छ । यिनैमध्ये कम लागतमा बैङ्क नोट छाप्ने प्रस्ताव पेस गर्ने कम्पनीलाई राष्ट्र बैङ्कले नोट छाप्ने ठेक्का दिने जनाएको छ ।


SHARE THIS