RBS
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६  शुरु, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ शुरु, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन

काठमाडौं । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को शुरु भएको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको एक्स्पो मङ्गलबार नेपाल प्रहरी क्लबमा विशेष औपचारिक कार्यक्रमबीच उद्घाटन गरिएको हो ।

स्पेसल प्यानल अफ गेस्टले उद्घाटन गरेको कार्यक्रममा नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले एक्स्पो सवारीसाधन किनबेच गर्ने थलो मात्र नभई सम्पूर्ण मोबिलिटी इकोसिस्टमलाई एकै ठाउँमा ल्याउने साझा मञ्च भएको बताउनुभयो । उहाँले पटक–पटक फेरिने नीतिगत व्यवस्थाले व्यवसायीमा अनिश्चितता सिर्जना गरेकाले नयाँ लगानी भित्रिन समस्या भइरहेको बताउनुभयो । उहाँले निजी क्षेत्र र सरोकारवालाहरुसँग छलफल गरेरमात्रै नीतिहरु परिवर्तन गर्न सरकारलाई सुझाव दिनुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सवारीसाधन बिक्री गरेरमात्रै नहुने र सुरक्षाको क्षेत्रमा सामाजिक उत्तरदायित्व बहन गर्न व्यवसायीहरुलाई सुझाव दिनुभयो । उहाँले ब्राण्डहरुले बिक्रीपछिको सेवामा ध्यान दिनुपर्नेे बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले अटोमोबाइल क्षेत्रलाई सधैं राजस्वको स्रोतको रुपमा मात्रै हेरेको गुनासो गर्नुभयो । उहाँले अटोमोबाइल क्षेत्रलाई विलासी नभई आवश्यकताको क्षेत्रको रुपमा लिन सुझाव दिनुभयो । नेपालमा अटोमोबाइल क्षेत्रमा संसारकै सबैभन्दा उच्च भन्सार दर लागू गरिएको उहाँले बताउनुभयो ।

सबै व्यवसायको लागि स्थिर नीति आवश्यक पर्ने भएकाले विद्युतीय सवारीका लागि पनि स्थिर नीति लिन उहाँले सुझाव दिनुभयो । अध्यक्ष श्रेष्ठले निजी क्षेत्र लगानी गर्न तयार रहेको तर त्यसका लागि सरकारले वातावरण बनाइदिनुपर्ने बताउनुभयो ।

त्यस्तै नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डेले अटोमोबाइल क्षेत्र सरकारलाई राजस्व प्रदान गर्ने प्रमुख क्षेत्रमध्ये एक भएकाले सरकारले उच्च प्राथमिकतामा राखेर हेर्नुपर्ने धारणा राखे । उहाँले यातायात क्षेत्रमा हुने लगानी र यसको दिगो विकासले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मोबिलिटी अब यातायातको विषयमात्रै नभएर देशको आर्थिक समृद्धिसँग प्रत्यक्ष जोडिएको विषय भएको बताउनुभयो । नेपालको कुल गार्हस्थ्य उत्पादनमा मोबिलिटी क्षेत्रको करिब सात प्रतिशत योगदान रहेको तथ्याङ्क उहाँले पेस गर्नुभयो ।

‘यो क्षेत्र बैङ्किङ, बिमा, पर्यटन, निर्माण र सूचना प्रविधिजस्ता विविध क्षेत्रसँग अन्तरसम्बन्धित छ । त्यसैले यस क्षेत्रलाई केबल विलासिता वा उपभोगको क्षेत्रका रूपमा नहेरी आर्थिक विकासको इन्जिनका रूपमा स्वीकार गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।

उद्घाटन सत्रमा नेपाल सरकारका विशिष्ट पदाधिकारीहरु, विभिन्न कूटनीतिक नियोगका अधिकारीहरु, प्रतिष्ठित संघसंस्थाका पदाधिकारीहरु, नाइमाका सञ्चालक समितिका पदाधिकारी एवं सदस्य संस्थाहरु, नाइमा नेपाल प्रदर्शनी साझेदार संस्थाहरु, अटो क्षेत्रसँग सम्बन्धित विभिन्न संस्थाहरुलगायतको विशेष उपस्थिति रह्यो ।

पहिलो दिन मङ्गलबार विभिन्न ब्राण्डले ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका छन् । त्यस्तै २९ हजारभन्दा बढीले मेला अवलोकन गरेका छन् । मेला अवधिभरमा करिब डेढ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

एक्स्पोको पहिलो दिन मङ्गलबार Investment and Foreign Direct Investment (FDI): Mobilizing–Fuel for Economic Growth विषयमा छलफल भएको छ । पूर्वबैङ्कर अनिलकेशरी शाहले सहजीकरण गरेको कार्यक्रममा राष्ट्र बैङ्कका कार्यकारी निर्देशक एवं आर्थिक अनुसन्धान विभाग प्रमुख डा. सत्येन्द्र तिमिल्सिना, डोल्मा फाउन्डेसनका अध्यक्ष टिम गोचर, नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र नाइमा अध्यक्ष वैद्यले प्यानलिस्टका रुपमा सहभागिता जनाएका छन् । मङ्गलबारको Learning Session मा मात्रै तीन सयभन्दा बढीले सहभागिता जनाएका छन् ।

एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञहरूद्वारा Learning Sessions, Policy Dialogues and Industry Interactions जस्ता कार्यक्रमहरु सञ्चालन हुने नाइमाले जनाएको छ ।

कार्यक्रममा Basic Life Support and Immediate Care After Road Traffic Accidents ¬विषयमा ग्राण्डी इन्टरनेसलन हस्पिटलका तर्फबाट जानकारीमूलक विशेष प्रस्तुति दिइएको थियो ।

नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको एक्स्पो छ दिन अर्थात् साउन ३१ सम्म चल्नेछ । एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको छ । एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्राण्डदेखि अन्य नयाँ मोडलका विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षणका रूपमा रहेका छन् ।

एक्सपोमा बैङ्क तथा वित्तीय संस्था र बिमा कम्पनीले सवारी खरिदका लागि विशेष अफर तथा सहुलियत कर्जा उपलब्ध गराइरहेका छन् ।

मेलाको को–स्पोन्सरमा ग्लोबल आइएमई बैङ्क लिमिटेड रहेको छ भने रेडबुल पावर्डबाईका रुपमा रहेको छ । त्यस्तै बैङ्किङ पार्टनरका रुपमा एनएमबी बैङ्क लिमिटेड र सिद्धार्थ बैङ्क लिमिटेड रहेका छन् । मेलाको इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन् ।

त्यसैगरी, टेक्नोलोजी पार्टनरमा बोस, एजुकेसन पार्टनरमा ग्लोबल कलेज र एम्बार्क कलेज, चार्जिङ पार्टनरमा अग्नि इनर्जी प्राइभेट लिमिटेड र अजायल इन्जिनियरिङ सोलुसन्स प्राइभेट लिमिटेड, राइड पार्टनरमा पठाओ नेपाल प्राइभेट लिमिटेड, हाइड्रेसन पार्टनरमा अक्वा मिनरल्स (अक्वा हन्ड्रेड) प्राइभेट लिमिटेड, हस्पिटालिटी पार्टनरमा द सोल्टी काठमाडौं, मेडिकल पार्टनरमा ग्रान्डी इन्टरनेसनल हस्पिटल, सर्भिलियन्स पार्टनरमा भत्सल इम्पेक्स प्राइभेट लिमिटेड (हिकभिजन) तथा फायर एन्ड सेफ्टी पार्टनरमा हिट्को प्राइभेट लिमिटेड रहेका छन् ।

नाइमा मोबिलिटी एक्स्पोको को टिकेटिङ पार्टनरमा आइएमई खल्ती लिमिटेड, क्यूआर पार्टनरमा युनियन पे, अडियो भिजुअल पार्टनरमा पायनियर इभेन्ट म्यानेजमेन्ट एन्ड मिडिया नेटवर्क प्राइभेट लिमिटेड, डिजिटल पार्टनरमा डिजिपल सोलुसन्स प्राइभेट लिमिटेड, भेइकल सेफ्टी पार्टनरमा एटीएस नेपाल, म्यानेजमेन्ट पार्टनरमा मिडिया स्पेस सोलुसन्स प्राइभेट लिमिटेड, कनेक्टिभिटी पार्टनरमा वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेड र पब्लिकेसन पार्टनरमा प्रफिट मिडिया प्राइभेट लिमिटेड रहेका छन् ।

सुशासन बलियो नभएसम्म आर्थिक समृद्धि हासिल गर्न नसकिनेमा सरोकारवालाले जोड

सुशासन बलियो नभएसम्म आर्थिक समृद्धि हासिल गर्न नसकिनेमा सरोकारवालाले जोड

ललितपुर । सुशासन बलियो नभएसम्म आर्थिक समृद्धि हासिल गर्न नसकिनेमा सरोकारवालाले जोड दिएका छन् ।

गुड गभर्नेन्स प्रोटेक्सन फोरमले आइतबार ललितपुरमा आयोजना गरेको ‘नेसनल गभर्नेन्स समिट २०२६’को उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले सोह्रौँ योजनाले सुशासनसँगै सामाजिक न्याय र उत्पादनमुखी अर्थतन्त्रलाई प्राथमिकता दिएको भन्दै नेपालको अर्थतन्त्रलाई दिगो र फराकिलो बनाउन ऊर्जा, पर्यटन र सूचना प्रविधिको निर्यात बढाउनुपर्ने बताए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले सोह्रौँ आवधिक योजनाले सुशासन, सामाजिक न्याय र समृद्धिलाई मुख्य प्राथमिकतामा राखेको बताउनुभयो ।

मुलुकको आर्थिक विकासका लागि उत्पादन र उत्पादकत्व बृद्धि अपरिहार्य रहेको भन्दै उहाँले जलवायु परिवर्तन, खाद्य सुरक्षा, जनशक्ति तथा प्रतिभा पलायनजस्ता चुनौतिलाई सम्बोधन गर्दै डिजिटल सुशासन र अर्थतन्त्रबीच प्रभावकारी समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपालको अर्थतन्त्र अहिले अवसर र चुनौतीको दोहोरो अवस्थामा रहेको चर्चा गर्दै उहाँले  विदेशी विनिमय सञ्चिति तुलनात्मक रूपमा बलियो भए पनि यसको ठूलो हिस्सा रेमिट्यान्समा निर्भर रहेको भन्दै ऊर्जा, पर्यटन तथा सूचना प्रविधि क्षेत्रको निर्यात बढाएर अर्थतन्त्रलाई दिगो बनाउनुपर्ने बताउनुभयो ।

विश्वव्यापी रूपमा जलवायु परिवर्तन, डिजिटलाइजेसन तथा कृत्रिम बौद्धिकता (एआई), बृद्धि हुँदै गएको जनसंख्या र भू–राजनीतिक अनिश्चितताले नेपालको अर्थतन्त्रमा समेत प्रभाव पारिरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले सुशासन कायम गर्न राजनीतिक नेतृत्वमा सुधार, अनुशासन र जवाफदेहिता आवश्यक रहेको बताउनुभयो ।

शासनसत्ताको स्रोत नागरिक भएकाले राज्य सञ्चालन गर्दा आम नागरिकलाई केन्द्रविन्दुमा राख्नुपर्ने उहाँले बताउनुभयो ।

पहुँचले जे पनि हुने अवस्थाले सुशासन कायम हुन नसक्ने भन्दै उहाँले भन्नुभयो – “सुशासन कायम गर्ने जिम्मेवारी बोकेका पदाधिकारी र निकाय अनुशासनमा रहेनन् भने सुशासन कायम हुन सक्दैन ।”

विधिको शासन र अनुशासनका आधारमा काम गर्न कानुन निर्माणको जिम्मेवारीमा रहेका जनप्रतिनिधिले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । शासनसत्तामा रहेकालाई जिम्मेवार र जवाफदेही बनाउन नागरिक तहबाटै निरन्तर खबरदारी आवश्यक रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा गुड गभर्नेन्स प्रोटेक्सन फोरमकी अध्यक्ष जया दुर्गा वुढाथोकीले कार्यक्रमलाई सुशासनको एक “फरक नमुना“ का रूपमा प्रस्तुत गर्दै आगामी दिनमा सहभागीहरूको सल्लाहअनुसार अघि बढ्ने बताउनुभयो । आगामी दिनमा पनि सुशासनको यात्रामा सँगै हिँड्ने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

कार्यक्रमको निष्कर्षसहित विस्तृत प्रतिवेदन छिट्टै सार्वजनिक गरिने र सरोकारवाला निकायमा बुझाइने अध्यक्ष वुढाथोकीले बताउनुभयो ।

सम्मेलनको मुख्य आकर्षणका रुपमा रहेका चार वटा फरक फरक सत्रमार्फत डिजिटल प्रविधिलाई केबल सरकारी सेवा प्रवाहको माध्यम नभई सुशासन, सामाजिक समावेशिता र साझा समृद्धिको आधार बनाउने विषयमा उच्चस्तरीय मन्थन भएको थियो । सोह्रौँ योजनाको लक्ष्यअनुसार डिजिटल सरकार निर्माणदेखि संस्थागत समन्वय र नागरिकमैत्री सेवा प्रवाहसम्मका विषयमा छलफल गर्दै सहभागीहरूले राजनीतिक प्रतिबद्धतालाई ठोस कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिइएको थियो ।

मध्ये पहिलो सत्रमा “नेपालको सोहीं योजनाअन्तर्गत डिजिटल सुशासन र साभा समृद्धिः नीतिदेखि कार्यान्वयनसम्म” विषयमा छलफल गरिएको थियो । यस्तै दोस्रो सत्रमा “डिजिटल सरकार, सेवा प्रवाह तथा संस्थागत समन्वय” विषयमा छलफल गरिएको थियो ।

यस्तै तेस्रो सत्रमा “समावेशी सुशासन र साभा समृद्धिका लागि डिजिटल रूपान्तरण” र चौंथो सत्रमा “उच्चस्तरीय मोलमेच संवादः राजनीतिक प्रतिबद्धतादेखि कार्यान्वयनसम्म” विषयमा छलफल गरिएको थियो ।

ग्रिल तथा स्टिल व्यवसायी संघको सामाजिक अभियान : स्वास्थ्य परीक्षणदेखि रक्तदानसम्म

ग्रिल तथा स्टिल व्यवसायी संघको सामाजिक अभियान : स्वास्थ्य परीक्षणदेखि रक्तदानसम्म

काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायी संघ, काठमाडौं जिल्ला कार्यसमितिले व्यवसायीसँगै श्रमिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै निःशुल्क टी.टी. खोप तथा रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा करिब १७० जना व्यवसायी तथा कर्मचारी सहभागी भएका छन् भने ४० जनाले रक्तदान गरेका छन् ।

ग्रिल तथा स्टिल व्यवसायको प्रकृतिका कारण कार्यस्थलमा चोटपटकको जोखिम उच्च हुने भएकाले व्यवसायी तथा दक्ष एवं अर्धदक्ष श्रमिकको स्वास्थ्य सुरक्षालाई लक्षित गर्दै कार्यक्रम आयोजना गरिएको आयोजक पक्षले जनाएको छ ।

कार्यक्रममा रिपब्लिक अफ माल्टाका अवैतनिक महावाणिज्यदूत तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष दिनेशकुमार श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो । त्यस्तै, ग्रिल तथा स्टिल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष अमृतबहादुर श्रेष्ठ विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रममा ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालका निवर्तमान अध्यक्ष तथा नेपाल घरेलु तथा साना उद्योग महासंघका वस्तुगत उपाध्यक्ष मोहन कटुवाल, हिमाल हस्पिटल प्रालिका प्रबन्ध निर्देशक तथा महासंघका तृतीय उपाध्यक्ष एवं काठमाडौं जिल्लाका पूर्व अध्यक्ष यज्ञदास श्रेष्ठ, महासचिव विवेकदास श्रेष्ठलगायत महासंघका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरूको उपस्थिति थियो ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि दिनेशकुमार श्रेष्ठले व्यवसायीहरूलाई बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण ऋण प्राप्त गर्न आवश्यक सहजीकरण गर्ने तथा ग्रिल व्यवसायमा प्रयोग हुने मेसिनरी खरिदमा विशेष छुट उपलब्ध गराउन पहल गर्ने बताउनुभयो ।

महासंघका निवर्तमान अध्यक्ष मोहन कटुवालले काठमाडौं जिल्ला समितिको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । निर्वाचन सम्पन्न भएको एक महिना नपुग्दै व्यवसायी तथा कर्मचारीको स्वास्थ्यलाई केन्द्रमा राखेर टी.टी. खोप तथा रक्तदानजस्तो रचनात्मक कार्यक्रम आयोजना गरेकोमा उहाँले जिल्ला कार्यसमितिलाई धन्यवाद दिनुभयो ।

आगामी दिनमा पनि व्यवसायी तथा श्रमिकको हितमा केन्द्रित स्वास्थ्य, सुरक्षा र सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिन उहाँले आग्रह गर्नुभयो ।

ग्रिल तथा स्टिल व्यवसायी संघ, काठमाडौं जिल्ला कार्यसमितिका कार्यवाहक अध्यक्ष भरत लामिछानेले व्यवसायी तथा कर्मचारीको हितलाई प्राथमिकतामा राख्दै आगामी दिनमा समेत स्वास्थ्य तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गनुभयो ।

कार्यक्रममा हिमाल हस्पिटल प्रालिका प्रबन्ध निर्देशक यज्ञदास श्रेष्ठले ग्रिल तथा स्टिल व्यवसायमा आबद्ध व्यवसायी तथा कर्मचारीका लागि विभिन्न रोगको उपचार तथा स्वास्थ्य परीक्षणमा विशेष छुट उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।

सोही अवसरमा श्रेष्ठ मेसिनरी प्रा.लि.को तर्फबाट काठमाडौं जिल्ला समितिको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मानसमेत गरिएको थियो ।

ग्रिल तथा स्टिल व्यवसायी संघ, काठमाडौं जिल्ला कार्यसमितिका महासचिव यामबहादुर श्रेष्ठ ‘पशुपति’ कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

आयोजकका अनुसार व्यवसायी तथा श्रमिकको स्वास्थ्य, कार्यस्थल सुरक्षा, सामाजिक उत्तरदायित्व र व्यावसायिक सहकार्यलाई एउटै अभियानमा जोडिएको यस कार्यक्रमले ‘स्वस्थ व्यवसायी, सुरक्षित श्रमिक र संगठित व्यवसाय’ को भावनालाई थप बलियो बनाएको छ ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने हिमाल हस्पिटल प्रालि. तथा श्रेष्ठ मेसिनरी प्रालि., अतिथि, रक्तदाता व्यवसायी, स्वास्थ्यकर्मी तथा सहभागी व्यवसायी एवं कर्मचारीप्रति ग्रिल तथा स्टिल व्यवसायी संघ, काठमाडौं जिल्ला कार्यसमितिले आभार व्यक्त गरेको छ ।

अशान्तिले साना उद्योग धरापमा पर्ने नेपाल घरेलु तथा साना उद्योग महासंघको चिन्ता

अशान्तिले साना उद्योग धरापमा पर्ने नेपाल घरेलु तथा साना उद्योग महासंघको चिन्ता

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले सुनसरीको देवानगञ्ज–कप्तानगञ्जलगायत तराईका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित  तनावपूर्ण अवस्था, सामाजिक अशान्ति तथा हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र आर्थिक गतिविधिको संरक्षणका लागि सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ ।

महासंघले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

महासंघका अनुसार सीमित पूँजी, स्थानीय बजार र दैनिक कारोबारमा निर्भर रहने घरेलु तथा साना उद्योगहरू अशान्ति, बन्द, तोडफोड तथा बजार अवरोधबाट सबैभन्दा बढी प्रभावित हुने गर्छन् । यस्तो अवस्थाले उद्यमीहरूको आत्मविश्वास कमजोर बनाउनुका साथै उत्पादन र आपूर्ति प्रणालीमा समेत असर पु¥याउने जनाएको छ ।

विज्ञप्तिमा नेपाल विविध जातजाति, भाषा, धर्म र संस्कृतिको साझा पहिचान बोकेको मुलुक भएकाले सामाजिक सद्भाव, सहिष्णुता र आपसी विश्वास नै राष्ट्रिय स्थायित्व तथा आर्थिक समृद्धिको आधार रहेको उल्लेख गरिएको छ । यस्ता घटनाले घरेलु तथा साना उद्योग, स्थानीय उत्पादन, व्यापार, पर्यटन, रोजगारी तथा समग्र आर्थिक गतिविधिमा प्रत्यक्ष र दीर्घकालीन नकारात्मक असर पार्ने महासंघको भनाइ छ ।

महासंघले कुनै पनि समस्या वा मतभेदको समाधान हिंसा वा टकरावबाट नभई संविधान, कानुन, संवाद र आपसी समझदारीका माध्यमबाट खोजिनुपर्नेमा जोड दिएको छ । सामाजिक तथा धार्मिक सद्भाव कायम राख्दै संयमता अपनाउन सबै सरोकारवालालाई आग्रह गरिएको छ ।

विज्ञप्तिमार्फत महासंघले नेपाल सरकार, स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग प्रभावित क्षेत्रमा प्रभावकारी शान्ति–सुरक्षाको व्यवस्था गर्न, उद्योग–व्यवसाय र सर्वसाधारणको जनधनको सुरक्षा सुनिश्चित गर्न तथा आर्थिक गतिविधि सहज रूपमा सञ्चालन हुने वातावरण तत्काल निर्माण गर्न आग्रह गरेको छ ।

साथै सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट फैलाइने अफवाह, भ्रामक सूचना र उत्तेजनात्मक अभिव्यक्तिबाट सचेत रहँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी विश्वासलाई थप मजबुत बनाउन नागरिक, राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा, सञ्चारमाध्यम तथा निजी क्षेत्रलाई महासंघले आह्वान गरेको छ ।

महासंघले शान्तिपूर्ण, सुरक्षित तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि सरकार, निजी क्षेत्र तथा सबै सरोकारवालासँग आवश्यक सहकार्य गर्न आफू सधैं प्रतिबद्ध रहेको जनाएको छ ।

“जेन–जीलाई दर्शक होइन, परिवर्तनको नेतृत्व गर्ने पुस्ताका रूपमा स्थापित गर्न खोज्दैछौं”

“जेन–जीलाई दर्शक होइन, परिवर्तनको नेतृत्व गर्ने पुस्ताका रूपमा स्थापित गर्न खोज्दैछौं”

राजु टण्डन, संयोजक काठमाडौं युथ कन्क्लेभ (केवाइसी) २०२६

युवाहरूलाई प्रेरणा, नेतृत्व र उद्यमशीलतासँग जोड्ने उद्देश्यले आयोजना हुँदै आएको काठमाडौं युथ कन्क्लेभ यस वर्ष नयाँ अवधारणासहित आयोजना हुँदैछ । आयोजकका अनुसार यस संस्करणको केन्द्रबिन्दु “जेन–जेड” हो । उनीहरूलाई केबल कार्यक्रमका सहभागी होइन, परिवर्तनका संवाहकका रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ । केवाइसीका संयोजक राजु टण्डनसँग गरिएको कुराकानीमा युवाको नेतृत्व, शिक्षा प्रणाली, उद्यमशीलता, विदेश पलायन र सरकारसँगको संवादलाई मुख्य विषय बनाइएको छ । प्रस्तुत छ “इन्सपायरिङ युथ” बाट “युथ इन लिडरसिप” तर्फ आयोजकले सन् २०१९ देखि सञ्चालन हुँदै आएको कन्क्लेभको मूल उद्देश्य युवालाई सफल व्यक्तिहरूको अनुभवसँग जोडेर प्रेरित गरिएको छ ।

काठमाडौं युथ कन्क्लेभ २०२६ आयोजना गर्नुको मुख्य उद्देश्य के हो ?

हामीले सन् २०१९ देखि नै “प्रेरणादायी युवा, नेतृत्वदायी राष्ट्र” भन्ने मूल नाराका साथ विद्यार्थी र युवाहरूलाई लक्षित गरेर यो कार्यक्रम गर्दै आएका छौं । यसको मुख्य उद्देश्य विभिन्न क्षेत्रका सफल व्यक्तित्वहरूलाई एकै ठाउँमा ल्याएर उहाँहरूको संघर्ष, कथा र अनुभवका माध्यमबाट युवाहरूलाई प्रेरित गर्नु हो ।

यस वर्षको कन्क्लेभमा विगतका संस्करणहरूभन्दा नयाँ के छ ?

हामीले विगत छ वर्षदेखि एउटै थिममा काम गरिरहेका छौं, तर यस वर्ष हामीले २०२६ को कन्क्लेभलाई “जेन–जेड हिरोज” प्रति समर्पित गरेका छौं । पछिल्लो समय नेपालमा भएका विभिन्न युवा आन्दोलन र परिवर्तनका लहरहरूले के देखाएको छ भने युवाहरू नयाँ सोच, नयाँ प्रणाली र नयाँ नेपाल चाहन्छन् । त्यसैले यस पटकको केवाईसीले ती युवा आवाजहरूलाई विशेष स्थान दिएको छ ।

आजका नेपाली युवाले भोगिरहेको सबैभन्दा ठूलो चुनौती के देख्नुहुन्छ ?

सबैभन्दा ठूलो चुनौती प्रविधि र हाम्रो प्रणालीबीचको खाडल हो । हाम्रा युवाहरू प्रविधिमा २१औं शताब्दीमा छन्, तर शिक्षा र स्वास्थ्य प्रणाली अझै पछाडि छ । यसले गर्दा युवाहरूमा निराशा छ । यो कन्क्लेभले उद्यमशीलता र सीपमा जोड दिएर युवाहरूलाई आफ्नै देशमा भविष्य देख्न मद्दत गर्छ ।

उद्यमशीलता र नेतृत्व विकासमा यो कार्यक्रमले कसरी प्रभाव पार्छ ?

आज सय जनालाई नेतृत्व गर्ने युवाले भोलि लाखौंको नेतृत्व गर्न सक्छ भन्ने हाम्रो विश्वास हो । चिया पसल होस् वा मःम पसल, सानो व्यवसायबाटै उद्यमशीलता सुरु गर्न सकिन्छ भन्ने सोच हामी विकास गर्न चाहन्छौं । २०–२२ वर्षका युवाहरू उद्यमी बने मात्र देशको अर्थतन्त्र बलियो हुन्छ ।

नेपालमा “बौद्धिक पलायन” को समस्या विकराल छ । विदेश जान चाहने युवालाई के सन्देश दिनुहुन्छ ?

यो गम्भीर विषय हो । १८ देखि २० वर्षका प्रतिभाशाली युवाहरू खाडी वा विकसित मुलुक पलायन भइरहेका छन् । यदि हाम्रा भविष्यका डाक्टर र इन्जिनियरहरू अहिले नै पलायन भए भने १५ वर्षपछि हामीले विशेषज्ञहरू विदेशबाट मगाउनुपर्ने स्थिति आउन सक्छ । हामीले यस कार्यक्रममार्फत नेपालमै बसेर सफलता पाएका रोल मोडलहरू देखाउन चाहन्छौं, जसले गर्दा युवाहरूले यहीँ केही गर्ने हिम्मत गरून् ।

यस कार्यक्रममा सहभागी विद्यार्थीहरूले के कुरा सिकेर फर्कन्छन् ?

विद्यार्थीहरूले यहाँ आमन्त्रित १०–१५ जना वक्ताहरूको भोगाइ र सफलताको कथा सुन्छन् । उनीहरूले एउटा सकारात्मक सोच र ऊर्जा लिएर फर्कन्छन् । हाम्रो लक्ष्य भनेकै कार्यक्रम पछि सहभागीहरूमा “मैले पनि केही गर्न सक्छु” भन्ने आत्मविश्वास पैदा होस् भन्ने हो ।

स्टार्टअप र नयाँ उद्यमीहरूका लागि के अवसर छ ?

हामीले विगतदेखि नै स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न स्टार्टअप स्टलहरूको व्यवस्था गर्दै आएका छौं । यस पटक पनि करिब १० वटा स्टार्टअपलाई प्रदर्शनीको मौका दिएका छौं । व्यवसाय गर्न पैसाभन्दा ठूलो कुरा आइडिया (सोच) हो भन्ने कुरा हामी बुझाउन चाहन्छौं ।

हाम्रो शिक्षा प्रणालीमा कस्तो सुधार आवश्यक देख्नुहुन्छ ?

शताब्दी पुरानो शिक्षा प्रणालीलाई अब परिमार्जन गर्नुपर्छ । शिक्षासँगै सीप र अनुभवलाई जोड्नुपर्छ । यदि विद्यार्थीले पढ्दै गर्दा केही सीप सिकेर “पकेट मनी” कमाउन सक्ने वातावरण भयो भने उनीहरू विदेशिन बाध्य हुने छैनन् ।

कार्यक्रममा कति विद्यार्थी सहभागी हुँदैछन् र व्यवस्थापन कसरी गरिएको छ ?

हाम्रो अभियानबाट करिब १० हजारभन्दा बढी युवा जोडिएका छन् । मुख्य कार्यक्रममा करिब २५ सयदेखि तीन हजारको उपस्थिति रहनेछ । यसका लागि हामीले डिजिटल रजिस्ट्रेसन र कोडको व्यवस्था गरेका छौं ।

कार्यक्रममा शिक्षा मन्त्रीको सहभागिताले के कस्तो सन्देश दिन्छ ?

शिक्षा मन्त्रीको उपस्थितिले सरकार र युवाबीच सिधा संवादको वातावरण बन्छ । सरकारको युवा प्रतिको धारणा र योजनाहरू प्रत्यक्ष सुन्न पाउँदा विद्यार्थीहरूमा थप भरोसा जाग्छ ।

आगामी योजनाहरू के–के छन् ?

हामी यो कार्यक्रमलाई काठमाडौंमा मात्र सीमित नराखी सातै प्रदेशमा लैजाने योजनामा छौं । सुर्खेत, सुदूरपश्चिम लगायतका क्षेत्रमा पुगेर त्यहाँका स्थानीय युवा र वक्ताहरूलाई समेट्दै केवाईसीको च्याप्टरहरू सुरु गर्नेछौं । साथै, विदेशमा रहेका नेपाली युवाहरूलाई पनि यो सञ्जालमा जोड्ने हाम्रो लक्ष्य छ ।

 अनलाइन बाल सुरक्षामा युवाको भूमिका सशक्त बनाउन प्रशिक्षक–प्रशिक्षण

अनलाइन बाल सुरक्षामा युवाको भूमिका सशक्त बनाउन प्रशिक्षक–प्रशिक्षण

ललितपुर, साउन १४ गते

अनलाइन बाल सुरक्षालाई प्रभावकारी बनाउन युवाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले भ्वाइस अफ चिल्ड्रेनले तीनदिने प्रशिक्षक–प्रशिक्षण (टीओटी) तालिम सञ्चालन गरेको छ ।

साउन १३ देखि १५ गतेसम्म ललितपुरस्थित सोसल वर्क इन्स्टिच्युटमा सञ्चालित ‘अनलाइन बाल संरक्षणका लागि युवाको भूमिका सम्बन्धी प्रशिक्षक–प्रशिक्षण’ मा कोशी, बागमती र गण्डकी प्रदेशका २५ जना स्वयंसेवक सहभागी छन् । संस्थाको ‘साइबर सुरक्षा परियोजना’ अन्तर्गत आयोजित तालिमले युवामा डिजिटल साक्षरता, कृत्रिम बौद्धिकता (एआई), नेतृत्व विकास, प्रभावकारी सञ्चार तथा अनलाइन बाल सुरक्षासम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।

तालिमको दोस्रो दिन एआई विज्ञ अजय शर्माले ‘डिजिटल साक्षरता र कृत्रिम बौद्धिकता’ विषयमा सहजीकरण गर्नुभयो । उहाँले डिजिटल साक्षरताको आधारभूत अवधारणा, डिजिटल सुरक्षा, जिम्मेवार एआईको प्रयोग तथा युवाका लागि एआईको उपयोगिताबारे प्रस्तुति दिँदै सुरक्षित र नैतिक डिजिटल अभ्यासले बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

तालिममा सहभागीहरूले साइबर जोखिम, व्यक्तिगत सूचना सुरक्षा, तथ्य परीक्षण, जिम्मेवार एआई प्रयोग तथा समुदायमा डिजिटल सचेतना विस्तारका उपायबारे अन्तरक्रियात्मक छलफल गरेका थिए ।

संस्थाका अनुसार तालिमपछि सहभागीहरूले आफ्ना समुदायमा डिजिटल साक्षरता र अनलाइन बाल सुरक्षासम्बन्धी प्रशिक्षण सञ्चालन गर्ने, सम्बन्धित नीति तथा कानुनको समीक्षा गरी सुधारका लागि सिफारिस तयार गर्ने तथा सरोकारवाला निकायमा ध्यानाकर्षण गराउने अपेक्षा गरिएको छ । वि.सं. २०५७ मा स्थापना भएको भ्वाइस अफ चिल्ड्रेनले जोखिममा परेका बालबालिकाको संरक्षण, पुनस्र्थापना तथा बालअधिकार प्रवद्र्धनका क्षेत्रमा निरन्तर काम गर्दै आएको छ ।

छैटौं संस्करणको काठमाडौं युथ कन्क्लेभ २०२६ आगामी शनिबार हुँदै

छैटौं संस्करणको काठमाडौं युथ कन्क्लेभ २०२६ आगामी शनिबार हुँदै

काठमाडौं । युवाको नेतृत्व, प्रेरणा, उद्यमशीलता र नागरिक सहभागितालाई सशक्त बनाउने उद्देश्यसहित काठमाडौं युथ कन्क्लेभ (केवाइसी) २०२६ को छैटौं संस्करण आगामी शनिबार काठमाडौंमा आयोजना हुने भएको छ ।

''जेन–जेड हिरोजलाई सम्मान'' मूल नारासहित आगामी साउन १६ गते शनिबार राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना आयोजना गर्न लागिएको आयोजक पक्षले जनाएको छ ।

आयोजकका अनुसार गत भदौमा भएको जेन–जेड आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूप्रति सम्मान अर्पण गर्नुका साथै आन्दोलनमा घाइते भएकाहरूको साहस, योगदान र समर्पणको सम्मान गर्ने उद्देश्यले यस वर्षको कन्क्लेभ आयोजना गर्न लागिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल सहभागी हुनेछन् । साथै, विश्वका १४ वटै आठ हजार मिटरभन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गर्नुका साथै के–टु -केटु) हिमालको ऐतिहासिक शीतकालीन आरोहण गर्ने पर्वतारोही तथा प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु शेर्पालाई केवाइसी युवा प्रेरणा सम्मान प्रदान गरिने आयोजकले जनाएको छ ।

कन्क्लेभमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल, कथावाचक साइग्रेस पोखरेल, नृत्यांगना तथा मोडल कविता नेपाली, अभिनेता पारस बम, गायक तथा संगीतकार एसटी म्यान, गायक बृजेश श्रेष्ठ, उद्यमी खेम संग्रौला, सामग्री निर्माता कुसुम नेपाल, गायिका अस्मिता अधिकारी, गायक महेश काफ्ले तथा हास्यकलाकार मेक्सम गौडेल लगायतको सहभागिता रहनेछ । कार्यक्रमको सञ्चालन प्रिया सिग्देल र जय प्रधान ले गर्नेछन् ।

फिनिक्स कलेज अफ म्यानेजमेन्ट, युनिभर्सल कलेज र आर्यन स्कुल अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट को संयुक्त आयोजनामा हुने कन्क्लेभको मुख्य प्रायोजक एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज रहेको छ। एनसेल फाउन्डेसन ले कार्यक्रमलाई सहयोग गरेको छ भने ग्लोबल आइएमई बैंक, रेड बुल नेपाल, खल्ती, नेसनल प्याथल्याब र एसीसीए क्रमशः बैंकिङ, ऊर्जा पेय, डिजिटल भुक्तानी, स्वास्थ्य परीक्षण तथा शैक्षिक साझेदारका रूपमा रहेका छन् ।

कार्यक्रममा करिब पाँच हजारभन्दा बढी युवा तथा विद्यार्थी सहभागी हुने अपेक्षा गरिएको केवाइसीका संयोजक राजु टण्डनले बताउनुभयो ।