अशान्तिले साना उद्योग धरापमा पर्ने नेपाल घरेलु तथा साना उद्योग महासंघको चिन्ता

अशान्तिले साना उद्योग धरापमा पर्ने नेपाल घरेलु तथा साना उद्योग महासंघको चिन्ता

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले सुनसरीको देवानगञ्ज–कप्तानगञ्जलगायत तराईका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित  तनावपूर्ण अवस्था, सामाजिक अशान्ति तथा हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र आर्थिक गतिविधिको संरक्षणका लागि सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ ।

महासंघले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

महासंघका अनुसार सीमित पूँजी, स्थानीय बजार र दैनिक कारोबारमा निर्भर रहने घरेलु तथा साना उद्योगहरू अशान्ति, बन्द, तोडफोड तथा बजार अवरोधबाट सबैभन्दा बढी प्रभावित हुने गर्छन् । यस्तो अवस्थाले उद्यमीहरूको आत्मविश्वास कमजोर बनाउनुका साथै उत्पादन र आपूर्ति प्रणालीमा समेत असर पु¥याउने जनाएको छ ।

विज्ञप्तिमा नेपाल विविध जातजाति, भाषा, धर्म र संस्कृतिको साझा पहिचान बोकेको मुलुक भएकाले सामाजिक सद्भाव, सहिष्णुता र आपसी विश्वास नै राष्ट्रिय स्थायित्व तथा आर्थिक समृद्धिको आधार रहेको उल्लेख गरिएको छ । यस्ता घटनाले घरेलु तथा साना उद्योग, स्थानीय उत्पादन, व्यापार, पर्यटन, रोजगारी तथा समग्र आर्थिक गतिविधिमा प्रत्यक्ष र दीर्घकालीन नकारात्मक असर पार्ने महासंघको भनाइ छ ।

महासंघले कुनै पनि समस्या वा मतभेदको समाधान हिंसा वा टकरावबाट नभई संविधान, कानुन, संवाद र आपसी समझदारीका माध्यमबाट खोजिनुपर्नेमा जोड दिएको छ । सामाजिक तथा धार्मिक सद्भाव कायम राख्दै संयमता अपनाउन सबै सरोकारवालालाई आग्रह गरिएको छ ।

विज्ञप्तिमार्फत महासंघले नेपाल सरकार, स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग प्रभावित क्षेत्रमा प्रभावकारी शान्ति–सुरक्षाको व्यवस्था गर्न, उद्योग–व्यवसाय र सर्वसाधारणको जनधनको सुरक्षा सुनिश्चित गर्न तथा आर्थिक गतिविधि सहज रूपमा सञ्चालन हुने वातावरण तत्काल निर्माण गर्न आग्रह गरेको छ ।

साथै सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट फैलाइने अफवाह, भ्रामक सूचना र उत्तेजनात्मक अभिव्यक्तिबाट सचेत रहँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी विश्वासलाई थप मजबुत बनाउन नागरिक, राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा, सञ्चारमाध्यम तथा निजी क्षेत्रलाई महासंघले आह्वान गरेको छ ।

महासंघले शान्तिपूर्ण, सुरक्षित तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि सरकार, निजी क्षेत्र तथा सबै सरोकारवालासँग आवश्यक सहकार्य गर्न आफू सधैं प्रतिबद्ध रहेको जनाएको छ ।

“जेन–जीलाई दर्शक होइन, परिवर्तनको नेतृत्व गर्ने पुस्ताका रूपमा स्थापित गर्न खोज्दैछौं”

“जेन–जीलाई दर्शक होइन, परिवर्तनको नेतृत्व गर्ने पुस्ताका रूपमा स्थापित गर्न खोज्दैछौं”

राजु टण्डन, संयोजक काठमाडौं युथ कन्क्लेभ (केवाइसी) २०२६

युवाहरूलाई प्रेरणा, नेतृत्व र उद्यमशीलतासँग जोड्ने उद्देश्यले आयोजना हुँदै आएको काठमाडौं युथ कन्क्लेभ यस वर्ष नयाँ अवधारणासहित आयोजना हुँदैछ । आयोजकका अनुसार यस संस्करणको केन्द्रबिन्दु “जेन–जेड” हो । उनीहरूलाई केबल कार्यक्रमका सहभागी होइन, परिवर्तनका संवाहकका रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ । केवाइसीका संयोजक राजु टण्डनसँग गरिएको कुराकानीमा युवाको नेतृत्व, शिक्षा प्रणाली, उद्यमशीलता, विदेश पलायन र सरकारसँगको संवादलाई मुख्य विषय बनाइएको छ । प्रस्तुत छ “इन्सपायरिङ युथ” बाट “युथ इन लिडरसिप” तर्फ आयोजकले सन् २०१९ देखि सञ्चालन हुँदै आएको कन्क्लेभको मूल उद्देश्य युवालाई सफल व्यक्तिहरूको अनुभवसँग जोडेर प्रेरित गरिएको छ ।

काठमाडौं युथ कन्क्लेभ २०२६ आयोजना गर्नुको मुख्य उद्देश्य के हो ?

हामीले सन् २०१९ देखि नै “प्रेरणादायी युवा, नेतृत्वदायी राष्ट्र” भन्ने मूल नाराका साथ विद्यार्थी र युवाहरूलाई लक्षित गरेर यो कार्यक्रम गर्दै आएका छौं । यसको मुख्य उद्देश्य विभिन्न क्षेत्रका सफल व्यक्तित्वहरूलाई एकै ठाउँमा ल्याएर उहाँहरूको संघर्ष, कथा र अनुभवका माध्यमबाट युवाहरूलाई प्रेरित गर्नु हो ।

यस वर्षको कन्क्लेभमा विगतका संस्करणहरूभन्दा नयाँ के छ ?

हामीले विगत छ वर्षदेखि एउटै थिममा काम गरिरहेका छौं, तर यस वर्ष हामीले २०२६ को कन्क्लेभलाई “जेन–जेड हिरोज” प्रति समर्पित गरेका छौं । पछिल्लो समय नेपालमा भएका विभिन्न युवा आन्दोलन र परिवर्तनका लहरहरूले के देखाएको छ भने युवाहरू नयाँ सोच, नयाँ प्रणाली र नयाँ नेपाल चाहन्छन् । त्यसैले यस पटकको केवाईसीले ती युवा आवाजहरूलाई विशेष स्थान दिएको छ ।

आजका नेपाली युवाले भोगिरहेको सबैभन्दा ठूलो चुनौती के देख्नुहुन्छ ?

सबैभन्दा ठूलो चुनौती प्रविधि र हाम्रो प्रणालीबीचको खाडल हो । हाम्रा युवाहरू प्रविधिमा २१औं शताब्दीमा छन्, तर शिक्षा र स्वास्थ्य प्रणाली अझै पछाडि छ । यसले गर्दा युवाहरूमा निराशा छ । यो कन्क्लेभले उद्यमशीलता र सीपमा जोड दिएर युवाहरूलाई आफ्नै देशमा भविष्य देख्न मद्दत गर्छ ।

उद्यमशीलता र नेतृत्व विकासमा यो कार्यक्रमले कसरी प्रभाव पार्छ ?

आज सय जनालाई नेतृत्व गर्ने युवाले भोलि लाखौंको नेतृत्व गर्न सक्छ भन्ने हाम्रो विश्वास हो । चिया पसल होस् वा मःम पसल, सानो व्यवसायबाटै उद्यमशीलता सुरु गर्न सकिन्छ भन्ने सोच हामी विकास गर्न चाहन्छौं । २०–२२ वर्षका युवाहरू उद्यमी बने मात्र देशको अर्थतन्त्र बलियो हुन्छ ।

नेपालमा “बौद्धिक पलायन” को समस्या विकराल छ । विदेश जान चाहने युवालाई के सन्देश दिनुहुन्छ ?

यो गम्भीर विषय हो । १८ देखि २० वर्षका प्रतिभाशाली युवाहरू खाडी वा विकसित मुलुक पलायन भइरहेका छन् । यदि हाम्रा भविष्यका डाक्टर र इन्जिनियरहरू अहिले नै पलायन भए भने १५ वर्षपछि हामीले विशेषज्ञहरू विदेशबाट मगाउनुपर्ने स्थिति आउन सक्छ । हामीले यस कार्यक्रममार्फत नेपालमै बसेर सफलता पाएका रोल मोडलहरू देखाउन चाहन्छौं, जसले गर्दा युवाहरूले यहीँ केही गर्ने हिम्मत गरून् ।

यस कार्यक्रममा सहभागी विद्यार्थीहरूले के कुरा सिकेर फर्कन्छन् ?

विद्यार्थीहरूले यहाँ आमन्त्रित १०–१५ जना वक्ताहरूको भोगाइ र सफलताको कथा सुन्छन् । उनीहरूले एउटा सकारात्मक सोच र ऊर्जा लिएर फर्कन्छन् । हाम्रो लक्ष्य भनेकै कार्यक्रम पछि सहभागीहरूमा “मैले पनि केही गर्न सक्छु” भन्ने आत्मविश्वास पैदा होस् भन्ने हो ।

स्टार्टअप र नयाँ उद्यमीहरूका लागि के अवसर छ ?

हामीले विगतदेखि नै स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न स्टार्टअप स्टलहरूको व्यवस्था गर्दै आएका छौं । यस पटक पनि करिब १० वटा स्टार्टअपलाई प्रदर्शनीको मौका दिएका छौं । व्यवसाय गर्न पैसाभन्दा ठूलो कुरा आइडिया (सोच) हो भन्ने कुरा हामी बुझाउन चाहन्छौं ।

हाम्रो शिक्षा प्रणालीमा कस्तो सुधार आवश्यक देख्नुहुन्छ ?

शताब्दी पुरानो शिक्षा प्रणालीलाई अब परिमार्जन गर्नुपर्छ । शिक्षासँगै सीप र अनुभवलाई जोड्नुपर्छ । यदि विद्यार्थीले पढ्दै गर्दा केही सीप सिकेर “पकेट मनी” कमाउन सक्ने वातावरण भयो भने उनीहरू विदेशिन बाध्य हुने छैनन् ।

कार्यक्रममा कति विद्यार्थी सहभागी हुँदैछन् र व्यवस्थापन कसरी गरिएको छ ?

हाम्रो अभियानबाट करिब १० हजारभन्दा बढी युवा जोडिएका छन् । मुख्य कार्यक्रममा करिब २५ सयदेखि तीन हजारको उपस्थिति रहनेछ । यसका लागि हामीले डिजिटल रजिस्ट्रेसन र कोडको व्यवस्था गरेका छौं ।

कार्यक्रममा शिक्षा मन्त्रीको सहभागिताले के कस्तो सन्देश दिन्छ ?

शिक्षा मन्त्रीको उपस्थितिले सरकार र युवाबीच सिधा संवादको वातावरण बन्छ । सरकारको युवा प्रतिको धारणा र योजनाहरू प्रत्यक्ष सुन्न पाउँदा विद्यार्थीहरूमा थप भरोसा जाग्छ ।

आगामी योजनाहरू के–के छन् ?

हामी यो कार्यक्रमलाई काठमाडौंमा मात्र सीमित नराखी सातै प्रदेशमा लैजाने योजनामा छौं । सुर्खेत, सुदूरपश्चिम लगायतका क्षेत्रमा पुगेर त्यहाँका स्थानीय युवा र वक्ताहरूलाई समेट्दै केवाईसीको च्याप्टरहरू सुरु गर्नेछौं । साथै, विदेशमा रहेका नेपाली युवाहरूलाई पनि यो सञ्जालमा जोड्ने हाम्रो लक्ष्य छ ।

छैटौं संस्करणको काठमाडौं युथ कन्क्लेभ २०२६ आगामी शनिबार हुँदै

छैटौं संस्करणको काठमाडौं युथ कन्क्लेभ २०२६ आगामी शनिबार हुँदै

काठमाडौं । युवाको नेतृत्व, प्रेरणा, उद्यमशीलता र नागरिक सहभागितालाई सशक्त बनाउने उद्देश्यसहित काठमाडौं युथ कन्क्लेभ (केवाइसी) २०२६ को छैटौं संस्करण आगामी शनिबार काठमाडौंमा आयोजना हुने भएको छ ।

''जेन–जेड हिरोजलाई सम्मान'' मूल नारासहित आगामी साउन १६ गते शनिबार राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना आयोजना गर्न लागिएको आयोजक पक्षले जनाएको छ ।

आयोजकका अनुसार गत भदौमा भएको जेन–जेड आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूप्रति सम्मान अर्पण गर्नुका साथै आन्दोलनमा घाइते भएकाहरूको साहस, योगदान र समर्पणको सम्मान गर्ने उद्देश्यले यस वर्षको कन्क्लेभ आयोजना गर्न लागिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल सहभागी हुनेछन् । साथै, विश्वका १४ वटै आठ हजार मिटरभन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गर्नुका साथै के–टु -केटु) हिमालको ऐतिहासिक शीतकालीन आरोहण गर्ने पर्वतारोही तथा प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु शेर्पालाई केवाइसी युवा प्रेरणा सम्मान प्रदान गरिने आयोजकले जनाएको छ ।

कन्क्लेभमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल, कथावाचक साइग्रेस पोखरेल, नृत्यांगना तथा मोडल कविता नेपाली, अभिनेता पारस बम, गायक तथा संगीतकार एसटी म्यान, गायक बृजेश श्रेष्ठ, उद्यमी खेम संग्रौला, सामग्री निर्माता कुसुम नेपाल, गायिका अस्मिता अधिकारी, गायक महेश काफ्ले तथा हास्यकलाकार मेक्सम गौडेल लगायतको सहभागिता रहनेछ । कार्यक्रमको सञ्चालन प्रिया सिग्देल र जय प्रधान ले गर्नेछन् ।

फिनिक्स कलेज अफ म्यानेजमेन्ट, युनिभर्सल कलेज र आर्यन स्कुल अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट को संयुक्त आयोजनामा हुने कन्क्लेभको मुख्य प्रायोजक एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज रहेको छ। एनसेल फाउन्डेसन ले कार्यक्रमलाई सहयोग गरेको छ भने ग्लोबल आइएमई बैंक, रेड बुल नेपाल, खल्ती, नेसनल प्याथल्याब र एसीसीए क्रमशः बैंकिङ, ऊर्जा पेय, डिजिटल भुक्तानी, स्वास्थ्य परीक्षण तथा शैक्षिक साझेदारका रूपमा रहेका छन् ।

कार्यक्रममा करिब पाँच हजारभन्दा बढी युवा तथा विद्यार्थी सहभागी हुने अपेक्षा गरिएको केवाइसीका संयोजक राजु टण्डनले बताउनुभयो ।

 पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना सरकारको मुख्य प्राथमिकता

पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना सरकारको मुख्य प्राथमिकता

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आर्थिक विकास, उद्यमशीलता प्रवद्र्धन र रोजगारी सिर्जनाका लागि पुँजी बजारलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै बजारलाई व्यावसायिक, पारदर्शी र मर्यादित बनाउन आवश्यक सुधार अघि बढाइने बताउनुभएको छ । पुँजी बजारका सरोकारवालासँग सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उहाँले राम्रो काम गर्नेलाई प्रोत्साहन र अनियमितता गर्नेलाई शून्य सहनशीलताको नीति अपनाइने स्पष्ट पार्नुभयो ।

पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य सरकारको मुख्य प्राथमिकतामा रहेको उहाँको भनाई छ । यस क्षेत्रका व्यवसायीहरूलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै उहाँले नेपालको पुँजी बजारलाई व्यावसायिक र मर्यादित बनाउनुपर्नेमा जोड दिनुभएको छ । यसबाट उद्यमशीलता फस्टाउने र रोजगारीका अवसरहरू थपिने उल्लेख गर्दै उहाँले राम्रो काम गर्नेलाई सरकारले सधैँ प्रोत्साहन गर्ने तर गल्ती गर्नेहरूविरुद्ध शून्य सहनशीलताको नीति अपनाउने स्पष्ट पार्नुभएको छ ।

छलफलका क्रममा पुँजी बजारका सरोकारवाला संस्थाहरूका प्रतिनिधिहरूले बजारको दिगो विकासका लागि कानुनी, नीतिगत, संस्थागत र प्रणालीगत सुधारको आवश्यकता रहेको सुझाव दिनुभएको छ । प्रधानमन्त्री शाहसँगको संवादले आफूहरू अझ बढी प्रोत्साहित भएको उल्लेख गर्दै उहाँहरूले प्रारम्भिक सार्वजनिक निष्कासन प्रणालीमा सुधार गर्न, दोस्रो बजारमा माग र आपूर्तिको सन्तुलन मिलाई उचित मूल्य निर्धारण प्रणालीको विकास गर्न तथा दैनिक कारोबार रकमलाई ३० अर्ब रुपियाँभन्दा बढी पु¥याउने वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभएको छ ।

चरणबद्ध कार्ययोजना कार्यान्वयनमा

छलफलमा नियमनकारी निकायका तर्फबाट नेपाल धितोपत्र बोर्डका अध्यक्ष गोपाल भट्टले सरोकारवालाहरूका सुझावलाई आत्मसात् गर्दै बोर्डले आर्थिक वर्ष २०८३/८४ को पुँजी बजार नीति तथा नेपालको पुँजी बजार मार्गचित्र २०८३ लागू गरिसकेको जानकारी दिनुभयो छ । ती नीतिहरूमा उल्लिखित कार्यक्रमहरूलाई चरणबद्ध रूपमा कार्ययोजना बनाई कार्यान्वयनमा लगिसकिएको उहाँले स्पष्ट पार्नुभयो ।

नेप्से पुनर्संरचनाका लागि उपयुक्त मोडालिटी

नेपाल स्टक एक्सचेन्जका अध्यक्ष अमृत लम्सालले बैङ्क तथा वित्तीय संस्था, बीमा बजार एवम् पुँजी बजार सुधारका लागि आवश्यक ऐनहरूको तर्जुमा तथा संशोधन प्रक्रिया सुरु भइसकेको बताउनुभयो छ । नेप्सेको पुनर्संरचनाका लागि उपयुक्त मोडालिटी तय गरी अघि बढाइने उल्लेख गर्दै उहाँले धितोपत्र बोर्डद्वारा जारी गरिएका नीतिअनुरूप प्रणालीको विकास गरी धितोपत्र कारोबारलाई थप प्रभावकारी र व्यवस्थित बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सरोकारवालाहरुले बैङ्क तथा वित्तीय संस्थामार्फत मार्जिन कारोबारसँग सम्बन्धित ब्रोकर कम्पनीहरूलाई कर्जा प्रवाह सहज बनाउन नेपाल राष्ट्र बैङ्कले आवश्यक कदम चाल्नुपर्ने  भनाइ राख्नुभएको थियो । बैङ्क तथा वित्तीय संस्थाले धितोपत्रमा लगानी गरेपछि कम्तीमा छ महिनासम्म बिक्री गर्न नपाउने विद्यमान व्यवस्था खारेज गर्न तथा सेयर धितो कर्जाको सीमालाई प्राथमिक पुँजीसँग आबद्ध गर्नुको सट्टा कुल कर्जाको पाँच प्रतिशत कायम गर्ने व्यवस्था मिलाउन उहाँहरूले सुझाव थियो ।

निजी क्षेत्रप्रति सकारात्मक दृष्टिकोण

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले सरकारले निजी क्षेत्रप्रति सकारात्मक दृष्टिकोण राख्दै मुलुकको अर्थतन्त्र चलायमान बनाउन र निजी क्षेत्रको खस्किएको मनोबल उकास्न सरकारले विशेष चासो देखाएको बताउनुभयो । सरकारले निजी क्षेत्र नै देशको अर्थतन्त्र र रोजगारीको मुख्य आधार भएको स्वीकार गरेको उहाँको भनाई छ ।

छलफलका क्रममा सरकारी पक्षबाट नेपाल धितोपत्र बोर्ड -सेबोन) र नेपाल स्टक एक्सचेन्ज -नेप्से) का अध्यक्षहरूलाई सेयर बजारमा देखिएका अड्चनहरू तत्काल फुकाउन निर्देशन दिइएको भन्दै उहाँले पुँजी बजारको विकासका लागि तयार पारिएका मार्गचित्र र नीतिगत कार्यक्रमहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउन सरकारले प्रतिबद्धता जनाइएको बताउनुभयो ।

बैठकमा उठेका राष्ट्र बैङ्कसँग सम्बन्धित समस्याहरूलाई सम्बोधन गर्न पनि प्रधानमन्त्री शाहले छिट्टै राष्ट्र बैङ्कका गभर्नरसँग छुट्टै छलफल गर्ने आश्वासन दिनुभएको अध्यक्ष ढकालले बताउनुभयो । निजी क्षेत्रका प्रतिनिधिहरूका अनुसार, बजारका प्राविधिक पक्षहरू -तरलता, ब्याजदर र स्थायी सरकार) अनुकूल रहे पनि लगानीकर्ताको मनोबल कमजोर हुँदा समस्या देखिएको उहाँको भनाई छ ।

पछिल्लो समय निजी क्षेत्रभित्र देखिएको "पर्ख र हेर" को अवस्था र काम गर्न नसकिने डर–त्रासको वातावरणलाई चिर्न सरकार तत्पर देखिएको भन्दै अध्यक्ष ढकालले भन्ुुभयो – æनिजी क्षेत्रलाई तर्साउने वा धम्काउने भन्दा पनि उनीहरूलाई प्रोत्साहन गरेर लगानीको वातावरण बनाउन प्रधानमन्त्री गम्भीर देखिनुभएको छ ।ÚÚ

अर्थ मन्त्रालयले व्यक्तिगत कारोबारमा हुने नोक्सानीमा समेत कर समायोजनको व्यवस्था गरिदिनुपर्ने, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोष जस्ता ठुला संस्थाहरूलाई दोस्रो बजारमा लगानी गर्न प्रोत्साहन गर्नुपर्ने, नेपाल स्टक एक्सचेन्जको रणनीतिक साझेदारसहित पुनर्संरचना गरिनुपर्ने र गैरआवासीय नेपालीहरूलाई पनि नेपालको पुँजी बजारमा लगानी गर्ने मार्ग प्रशस्त गरिनुपर्ने माग सरोकारवालाहरूले राख्नुभएको थियो ।

छलफलमा नासा सेक्युरिटिजका प्रतिनिधि सन्दीप जलान, नेपाल लाइफ इन्स्योरेन्सका प्रतिनिधि नवराज सिलवाल, नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ, पुँजी बजार समितिका सभापति प्रियराज रेग्मी र लगानीकर्ता अम्बिकाप्रसाद पौडेलको सहभागिता रहेको थियो ।

उकासियो लगानीकर्ताको मनोबल, नेप्से २७१९ विन्दुमा

सेयर बजारमा लगानीकर्ताको मनोबल सुधारिँदा नेप्से परिसूचक १९ कारोबार दिनपछि २७०० विन्दुमाथि उक्लिएको छ । लगातार पाँचौं दिनको बृद्धिसँगै सोमबार नेप्से ४१.७० अंकले बढेर २७१९.२४ विन्दुमा पुगेको छ ।

सरकारबाट बजार सुधारको संकेत र लगानीकर्तामाझ बढेको सकारात्मक मनोविज्ञानका कारण धितोपत्र बजारमा उत्साह फर्किएको छ । सोमबार परिसूचकसँगै पाँच अर्ब ५१ करोड रुपियाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

 साउनमा पनि घट्यो वाणिज्य बैङ्कहरूको निक्षेप ब्याजदर

साउनमा पनि घट्यो वाणिज्य बैङ्कहरूको निक्षेप ब्याजदर

काठमाडौं / साउन महिनामा पनि वाणिज्य बैङ्कहरूको निक्षेप ब्याजदर घट्ने क्रम रोकिएको छैन । अधिकांश बैङ्कले अघिल्लो महिनाकै ब्याजदर कायम राखे पनि आठ बैङ्कले व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् ।

वाणिज्य बैङ्कहरूले साउन महिनाका लागि निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेको नयाँ दरअनुसार असारको तुलनामा साउन महिनामा व्यक्तिगत तथा संस्थागत दुबै निक्षेपको औसत ब्याजदर घटेको छ ।

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैङ्कमध्ये आठ बैङ्कले ब्याजदरमा कटौती गरेका छन् भने अधिकांश बैङ्कले असार महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर असारको ४.२५८ प्रतिशतबाट घटेर साउनमा ४.१६७५ प्रतिशतमा झरेको छ । यस्तै, संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर ३.१८ प्रतिशतबाट घटेर ३.११६ प्रतिशतमा सीमित भएको छ ।

सबैभन्दा बढी ब्याजदर घटाउने बैङ्क राष्ट्रिय वाणिज्य बैङ्क बनेको छ । बैङ्कले व्यक्तिगत मुद्दती निक्षेपमा ०.७५ प्रतिशत बिन्दु र संस्थागत निक्षेपमा एक प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ ।

त्यसैगरी, ग्लोबल आइएमई बैङ्कले व्यक्तिगततर्फ ०.५० प्रतिशत र संस्थागततर्फ ०.२५ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ । एनएमबि बैङ्कले व्यक्तिगतमा ०.२५ प्रतिशत तथा संस्थागतमा ०.५० प्रतिशत बिन्दुले ब्याजदर कटौती गरेको छ ।

सिटिजन्स बैङ्क इन्टरनेसनलले व्यक्तिगततर्फ ०.१५ प्रतिशत र संस्थागततर्फ ०.५० प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ । कृषि विकास बैङ्कले संस्थागत निक्षेपमा ०.०३ प्रतिशत बिन्दुले ब्याजदर घटाउँदा कुमारी बैङ्क र स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले व्यक्तिगत मुद्दती निक्षेपमा क्रमशः ०.०६ प्रतिशत र ०.१० प्रतिशत बिन्दुले ब्याजदर घटाएका छन् ।

यता, नबिल, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, सानिमा, माछापुच्छ्रे, नेपाल एसबिआई, एभरेष्ट, सिद्धार्थ, हिमालयन, लक्ष्मी सनराइज, एनआइसी एसिया र प्राइम कमर्सियलसहित १२ वटा बैङ्कले असार महिनाकै ब्याजदरलाई साउनमा पनि यथावत् राखेका छन् ।

नेपाल बैङ्क लिमिटेडले भने व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४.२५ प्रतिशतमै कायम राख्दै संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर तीन प्रतिशतबाट बढाएर चार प्रतिशत पु¥याएको छ ।

साउन महिनाका लागि सार्वजनिक दरअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ४.५५ प्रतिशत ब्याजदर नबिल बैङ्क र प्रभु बैङ्कले उपलब्ध गराउने भएका छन् । कुमारी बैङ्क र स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा कम ३.८५ प्रतिशत ब्याजदर तोकेका छन् ।

संस्थागत मुद्दती निक्षेपतर्फ नेपाल बैङ्कले सबैभन्दा बढी चार प्रतिशत ब्याजदर तोकेको छ । प्रभु बैङ्क, कृषि विकास बैङ्क, नेपाल एसबिआई, प्राइम कमर्सियल बैङ्क, ग्लोबल आइएमई बैङ्क र स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले भने अधिकतम २.७५ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

बैङ्कहरूको नयाँ ब्याजदरले निक्षेपकर्ताले पाउने प्रतिफलमा थप कमी आएको देखिएको छ भने बजारमा ब्याजदर घट्ने क्रम अझै जारी रहेको संकेत गरेको छ ।