१८ औँ वार्षिकोत्सवको अवसरमा टेलिकमको भीओएलटीईको व्यावसायिक सुरुवात

काठमाडौँ । नेपाल टेलिकमले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा परीक्षण सुरु गरेको करिब नौ महिनापछि ‘भ्वाइस ओभर लङ टर्म इभोलुसन (भीओएलटीई)’ सेवाको व्यावसायिक सुरुवात गरेको छ ।

टेलिकमले शनिबार १८औँ वार्षिकोत्सवको अवसरमा कम्पनीले भीओएलटीईको व्यावसायिक सुरुवात भएको घोषणा गरेको हो । फोरजी/एलटीई नेटवर्कमा आधारित यो सेवामार्फत प्रयोगकर्ताले उच्च गुणस्तरको भ्वाइस सेवा प्रयोग गर्न पाउनेछन् । सँगै भ्वाइस कलमार्फत नै भिडियो कलको सुविधा लिन सक्नेछन् । टेलिकमले गत जेठ ३ गते यसको परीक्षण सुरु गरेको थियो ।

टेलिकमले उपलब्ध गराइरहेको फोरजी नेटवर्कमा यसअघि इन्टरनेट मात्र प्रयोग गर्न सकिन्छ । फोरजी सेवा लिइरहेका ग्राहकले कल गर्दा त्यो थ्रीजी नेटवर्कमा परिणत हुन्थ्यो । यसले गर्दा फोरजी सेवा सुरु भइसक्दा पनि भ्वाइसमा ग्राहकले कुनै भिन्नता पाउन सकेका थिएनन् । 

अब भने ग्राहकले फोरजी नेटवर्क नै प्रयोग गरेर भ्वाइस कल गर्न सक्नेछन् । यसरी भ्वाइस कल गर्दा त्यो आवाजको गुणस्तर एचडीस्तरको हुने टेलिकमको दाबी छ । व्यक्तिव्यक्ति भेटेरै कुराकानी गरेजस्तो उच्च गुणस्तरीय भ्वाइस सेवा पाउन सकिने कम्पनीले जनाएको छ । यसबाहेक कल सम्पर्क हुने दर यसमा छिटो हुनेछ । 

आवाज स्पष्ट र प्राकृतिकजस्तो सुनिने विशेषता भीओएलटीईमा हुन्छ । टुजीको तुलनामा भीओएलटीईको भ्वाइस गुणस्तर छ गुणा र थ्रीजीको तुलनामा तीन गुणा राम्रो हुने गर्छ । 

फोरजीका लागि टेलिकमले प्रयोग गरिरहेको ८०० मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सीकोे ‘कभरेज’ क्षेत्र पनि बढी हुने भएकाले नेपालजस्तो ग्रामीण र विकट क्षेत्रमा यो सेवा निकै उपयोगी हुनेछ । उक्त ब्यान्डको फ्रिक्वेन्सीको पहुँच रहेको क्षेत्रमा टुजी अथवा थ्रीजी नेटवर्क नभए पनि सम्बन्धित क्षेत्रका स्थानीयवासीले फोरजी प्रविधिको डेटा र भ्वाइस सेवा उपयोग गर्न पाउने कम्पनीले जनाएको छ । 

भीओएलटीई प्रयोगकर्ताले कल गरिरहेकै अवस्थामा पनि उच्च गुणस्तरको डेटाको अनुभव गर्न सक्नेछन् । फोन गर्दा अन्य नेटवर्कमा स्विच भइराख्ने अहिलेको परिस्थिति अन्त्य हुँदा मोबाइलको ब्याट्री लाइफ बढेको अनुभव पनि प्रयोगकर्ताले लिन सक्नेछन् । 

टेलिकमको भीओएलटीई सेवा लिन सबैभन्दा तपाईको मोबाइल सेटमा स्टारफोरफोरफोरह्यास (८द्धद्धद्ध३) डायल गर्नुपर्छ । यसरी डायल गर्दा त्यहाँ तपाईलाई तीनवटा विकल्प आउनेछन् । जसमध्ये सबैभन्दा माथि फोरजी सेवा सुरु गर्ने विकल्प हुनेछ । भीओएलटीई प्रयोग गर्न तपाईंले यो सेवा सुरु गर्नुपर्नेछ । त्यसपछि दोस्रो नम्बरमा भीओएलटीई सेवा सुरु गर्ने विकल्प हुनेछ । सो नम्बर राखेर तपाईंले यो सेवा लिन सक्नुहुनेछ । यदि तपाईलाई यो सेवा लिनुछैन भने त्यसमै डायल गरेर तेस्रो नम्बरमा रहेको ‘डिएक्टिभेट भीओएलटीई’ भन्ने विकल्प छनोट गर्नुपर्नेछ । 

टेलिकमका अनुसार भीओएलटीई सेवा लिन तपाईसँग ८०० र १८ सय मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी सपोर्ट गर्ने मोबाइल हुनु भने अनिवार्य छ । केही भारतीय मोबाइल सेटमा ८०० मेगाहर्ज ब्यान्ड सपोर्ट नगर्ने भएकाले टेलिकमले सो ब्यान्डमा उपलब्ध गराइरहेको फोरजी सेवा लिन कतिपय ग्राहक असमर्थ भइरहेका छन् । त्यसैले कम्पनीले फोरजी अथवा भीओएलटीई सेवा लिन ८०० र १८ सय दुवै ब्यान्डको फ्रिक्वेन्सी सपोर्ट गर्ने मोबाइल भएको निश्चित गरेर मात्र खरिद गर्न ग्राहकलाई आग्रह गरेको छ । 

टेलिकमले परीक्षणका रूपमा उपलब्ध गराइरहेको भए पनि भीओएलटीईका प्रयोगकर्ता १० लाख नाघेका छन् । निमित्त प्रबन्ध निर्देशक प्रतिभा वैद्यका अनुसार प्रयोगकर्ताको सङ्ख्या नियमित बढिरहेको छ । अहिले सक्रिय प्रयोगकर्ताको सङ्ख्या भने एक लाख ६० हजार रहेको उहाँले जानकारी दिनुभयो । व्यावसायिक सुरुवात भएको अवसरमा टेलिकमले शनिबारका लागि नि:शुल्क भीओएलटीई प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको थियो ।


SHARE THIS