काठमाडौँ । तेस्रो पुल सुधार तथा मर्मत कार्यक्रम कार्यान्वयनका लागि विश्व बैङ्कले २० अर्ब ४० करोड रुपियाँ प्रदान गर्ने भएको छ ।
विश्व बैङ्कको कार्यकारी निर्देशक बोर्डले १५ करोड अमेरिकी डलरको वित्तीय ‘प्याकेज’ आइतबार स्वीकृत गरेको हो ।
सहायता रकम नेपालका रणनीतिक सडक सञ्जालमा निर्मित पुलहरूको मर्मतसम्भार तथा सबलीकरणका निम्ति स्वीकृत गरिएको वासिङ्टन डिसीस्थित विश्व बैङ्कको प्रधान कार्यालयले जनाएको छ ।
नेपालको पुल प्रणालीले दुर्गम र सहरी समुदायको जीवनयापन, स्वास्थ्य सेवा, शिक्षा र आर्थिक अवसरहरूका साथ अन्य आधारभूत सेवाहरूमा जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका पुलहरुको लागि उक्त सहयोग प्रदान गरिएको विश्व बैङ्कले जनाएको छ ।
साथै बाढी, पहिरो र भूकम्पलगायत प्राकृतिक एवं जलवायुजन्य जोखिमले पुलजस्ता पूर्वाधारमा गम्भीर असर गर्ने भएकाले तिनको सबलीकरणका निम्ति वित्तीय सहयोगको प्याकेज स्वीकृत गरिएको बैङ्कले जनाएको छ ।