अशान्तिले साना उद्योग धरापमा पर्ने नेपाल घरेलु तथा साना उद्योग महासंघको चिन्ता

अशान्तिले साना उद्योग धरापमा पर्ने नेपाल घरेलु तथा साना उद्योग महासंघको चिन्ता

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले सुनसरीको देवानगञ्ज–कप्तानगञ्जलगायत तराईका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित  तनावपूर्ण अवस्था, सामाजिक अशान्ति तथा हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र आर्थिक गतिविधिको संरक्षणका लागि सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ ।

महासंघले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

महासंघका अनुसार सीमित पूँजी, स्थानीय बजार र दैनिक कारोबारमा निर्भर रहने घरेलु तथा साना उद्योगहरू अशान्ति, बन्द, तोडफोड तथा बजार अवरोधबाट सबैभन्दा बढी प्रभावित हुने गर्छन् । यस्तो अवस्थाले उद्यमीहरूको आत्मविश्वास कमजोर बनाउनुका साथै उत्पादन र आपूर्ति प्रणालीमा समेत असर पु¥याउने जनाएको छ ।

विज्ञप्तिमा नेपाल विविध जातजाति, भाषा, धर्म र संस्कृतिको साझा पहिचान बोकेको मुलुक भएकाले सामाजिक सद्भाव, सहिष्णुता र आपसी विश्वास नै राष्ट्रिय स्थायित्व तथा आर्थिक समृद्धिको आधार रहेको उल्लेख गरिएको छ । यस्ता घटनाले घरेलु तथा साना उद्योग, स्थानीय उत्पादन, व्यापार, पर्यटन, रोजगारी तथा समग्र आर्थिक गतिविधिमा प्रत्यक्ष र दीर्घकालीन नकारात्मक असर पार्ने महासंघको भनाइ छ ।

महासंघले कुनै पनि समस्या वा मतभेदको समाधान हिंसा वा टकरावबाट नभई संविधान, कानुन, संवाद र आपसी समझदारीका माध्यमबाट खोजिनुपर्नेमा जोड दिएको छ । सामाजिक तथा धार्मिक सद्भाव कायम राख्दै संयमता अपनाउन सबै सरोकारवालालाई आग्रह गरिएको छ ।

विज्ञप्तिमार्फत महासंघले नेपाल सरकार, स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग प्रभावित क्षेत्रमा प्रभावकारी शान्ति–सुरक्षाको व्यवस्था गर्न, उद्योग–व्यवसाय र सर्वसाधारणको जनधनको सुरक्षा सुनिश्चित गर्न तथा आर्थिक गतिविधि सहज रूपमा सञ्चालन हुने वातावरण तत्काल निर्माण गर्न आग्रह गरेको छ ।

साथै सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट फैलाइने अफवाह, भ्रामक सूचना र उत्तेजनात्मक अभिव्यक्तिबाट सचेत रहँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी विश्वासलाई थप मजबुत बनाउन नागरिक, राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा, सञ्चारमाध्यम तथा निजी क्षेत्रलाई महासंघले आह्वान गरेको छ ।

महासंघले शान्तिपूर्ण, सुरक्षित तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि सरकार, निजी क्षेत्र तथा सबै सरोकारवालासँग आवश्यक सहकार्य गर्न आफू सधैं प्रतिबद्ध रहेको जनाएको छ ।

 घरेलु तथा साना उद्योग महासंघ वस्तुगत सदस्यमा रामहरी तोलाङ निर्वाचित

घरेलु तथा साना उद्योग महासंघ वस्तुगत सदस्यमा रामहरी तोलाङ निर्वाचित

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ वस्तुगत सदस्यमा रामहरी तोलाङ निर्वाचित हुनुभएको छ ।

महासंघको ललितपुरमा सम्पन्न २६ औ राष्ट्रिय महाधिवेशन तथा २३ औं राष्ट्रिय महिला उद्यमी सम्मेलनबाट तोलाङ केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको हो ।

पीजी सुजका प्रबन्ध निर्देशक समेत रहनुभएका तोलाङ छाला जुत्ता उत्पादक संघको सल्लाहकार पनि हुनुहुन्छ ।

 घरेलु महासंघ केन्द्रिय सदस्यमा बसन्त महर्जन निर्वाचित

घरेलु महासंघ केन्द्रिय सदस्यमा बसन्त महर्जन निर्वाचित

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघको केन्द्रिय सदस्यमा बसन्त कुमार मर्हजन निर्वाचित हुनुभएको छ ।

महासंघको ललितपुरमा सम्पन्न २६ औ राष्ट्रिय महाधिवेशन तथा २३ औं राष्ट्रिय महिला उद्यमी सम्मेलनबाट महर्जन खुल्लातर्फ केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको हो ।

महासंघको महालक्ष्मी नगर संस्थापक अध्यक्षको भूमिका पुरा गरिसक्नुभएका महर्जन चार दशकदेखि गार्मेन्ट क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।

 घरेलु तथा साना उद्योग महासंघ एसोसियट्सतर्फको उपाध्यक्षमा रामनाथ मैनाली

घरेलु तथा साना उद्योग महासंघ एसोसियट्सतर्फको उपाध्यक्षमा रामनाथ मैनाली

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ एसोसियट्सतर्फको उपाध्यक्षमा रामनाथ मैनाली निर्वाचित हुनुभएको छ ।

महासंघको ललितपुरमा सम्पन्न २६ औ राष्ट्रिय महाधिवेशन तथा २३ औं राष्ट्रिय महिला उद्यमी सम्मेलनबाट मैनाली निर्विरोध निर्वाचित हुनुभएको हो ।

यसअघिको कार्यसमितिमा एसोसियट्सतर्फको सदस्यको जिम्मेवारी बहन गर्नुभएका मैनाली होटल तथा पर्यटन क्षेत्रमा सक्रिय हुनुहुन्छ ।

घरेलु तथा साना उद्योग प्रवर्द्धनका लागि प्रभावकारी नीति आवश्यक

घरेलु तथा साना उद्योग प्रवर्द्धनका लागि प्रभावकारी नीति आवश्यक

ललितपुर । आर्थिक मन्दी, लगानी संकुचन र बजार सुस्ताएका बेला घरेलु तथा साना उद्योगलाई सहुलियत, नीतिगत स्थिरता र सरकारी संरक्षण आवश्यक रहेको सरोकारवालाहरुले औँल्याएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको आइतबारदेखि यहाँ शुरु भएको २६औं राष्ट्रिय महाधिवेशन तथा २३ औं राष्ट्रिय महिला उद्यमी सम्मेलनको उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले उद्योग क्षेत्र पुनर्जीवनका लागि सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको बताएका छन् ।
तीन तहका सरकारबीचको समन्वय अभाव, पुराना कानुन र नीतिगत अस्थिरताले घरेलु तथा साना उद्योग क्षेत्र प्रभावित भएको उनीहरुको भनाई थियो ।
सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले घरेलु तथा साना उद्योगको विकास मुलुकको आत्मनिर्भर अर्थतन्त्र निर्माणको आधार भएको बताउनुभयो । उहाँले स्थानीय उत्पादनलाई पर्यटनसँग जोडेर बजार विस्तार गर्नुपर्नेमा जोड दिँदै कर्णालीका राडीपाखी, अल्लोलगायत स्थानीय उत्पादनको प्रभावकारी ब्रान्डिङ र बजारीकरण आवश्यक रहेको धारणा राख्नुभयो ।
सचिव निरौलाले सरकारी निकायमा हुने बारम्बारको कर्मचारी सरुवाले नीतिगत निरन्तरतामा असर परेको उल्लेख गर्दै सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वयको आवश्यकता औँल्याउनुभयो । उहाँले संविधानअनुकूल कानुन परिमार्जन, उद्योगमैत्री नीति निर्माण, सार्वजनिक खरिदमा स्थानीय उत्पादनलाई प्राथमिकता तथा सार्वजनिक–निजी साझेदारी -पीपीए) मोडललाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने सुझाव दिनुभयो ।
महासंघका अध्यक्ष उमेशप्रसाद सिँहले वर्तमान आर्थिक मन्दीका कारण उद्योग व्यवसाय प्रभावित भएको उल्लेख गर्दै सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले लघु, घरेलु तथा साना उद्योगीहरूको हकहित संरक्षण, रुग्ण उद्योगहरूको पुनरुत्थान तथा उद्योगमैत्री नीति निर्माणका लागि महासंघले निरन्तर सरकारसँग पहल गर्दै आएको बताउनुभयो ।
अध्यक्ष सिँहका अनुसार हाल देशभर सञ्चालनमा रहेका लघु तथा साना उद्योगहरूले ३२ देखि ४० लाख मानिसलाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेका छन् ।
महासंघले २०४७ सालमा स्थापना भएदेखि लघु, घरेलु तथा साना उद्यमीहरूको हकहित संरक्षण, उद्यमशीलताको विकास तथा महिला उद्यमीहरूको नेतृत्व क्षमता अभिबृद्धिका क्षेत्रमा कार्य गर्दै आएको उहाँले बताउनुभयो । हाल महासंघको संगठन सात सात वटै प्रदेश, ७७ वटै जिल्ला र तीन सय भन्दा बढी पालिकामा विस्तार भएको छ । साथै केन्द्रीय महिला उद्यमी समिति अन्तरगत सात प्रदेश, ६२ जिल्ला तथा विभिन्न पालिकाहरूमा महिला उद्यमी समितिहरू सक्रिय रहेको अध्यक्ष सिँहले बताउनुभयो ।
देशभरका जिल्ला तथा प्रदेशबाट आएका प्रतिनिधिहरूको सहभागिता रहेको दुईदिने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी कार्ययोजना र नीतिगत दिशा तय गर्ने महासंघले जनाएको छ ।
महासंघ तथा केन्द्रीय महिला उद्यमी समितिको आगामी तीन वर्षका लागि नयाँ नेतृत्वसमेत चयन गरिने महाधिवेशनबाट महिला उद्यमशीलता विकास, आर्थिक सशक्तीकरण, नवप्रवर्तन तथा बजार पहुँच विस्तारका विषयमा महत्वपूर्ण योजना र कार्यक्रम तय गरिने जनाइएको छ ।
उद्घाटन समारोहमा महासंघका सल्लाहकार वासु गिरी, महासंघका वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष सन्तोष पाण्डे, महाधिवेशन व्यवस्थापन समितिका संयोजक मोहन कटुवाल, महासंघका महासचिव डम्बर प्रसाद रेग्मी, महासंघ महिला उद्यमी समितिका अध्यक्ष रोशनी उपाध्यायलगायतले आफ्ना भनाई राख्नुभएको थियो ।

 मध्यरातिदेखि नयाँ मूल्य लागू, पेट्रोलियम पदार्थ सस्तो

मध्यरातिदेखि नयाँ मूल्य लागू, पेट्रोलियम पदार्थ सस्तो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले नयाँ मूल्य असार १७ गते राति १२ः०१ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल÷मट्टीतेल तथा एलपी ग्यासको बिक्री मूल्य घटाएको जनाएको छ ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २० रुपियाँ, डिजेल÷मट्टीतेलमा प्रतिलिटर ३० रुपियाँ तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपियाँ मूल्य घटाइएको हो ।

निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गएको र इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा समायोजन गरिएको जनाएको छ । प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर १५ रुपियाँ ९ पैसा, डिजेल २९ रुपियाँ ४६ पैसा, हवाई इन्धन २९ रुपियाँ ४२ पैसाले घटेर आएको निगमले जानकारी दिएको छ । एलपी ग्यासको खरिद मूल्यमा पनि कमी आएको बताइएको छ ।

यस्तै, अन्तर्राष्ट्रिय उडानका लागि हवाई इन्धनको बिक्री मूल्य काठमाडौंका लागि प्रति किलोलिटर २६५ अमेरिकी डलर ले घटाइएको छ भने पोखरा र भैरहवाका लागि ब्रेकइभेन बिन्दुमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ ।



पीजी सुज ब्राण्ड २८ वर्ष प्रवेश : विदेशी जुत्ताको विकल्पदेखि अन्तर्राष्ट्रिय बजारसम्म

पीजी सुज ब्राण्ड २८ वर्ष प्रवेश : विदेशी जुत्ताको विकल्पदेखि अन्तर्राष्ट्रिय बजारसम्म

काठमाडौं । पीजी सुज ब्राण्डको नेपाली जुत्ता उत्पादक कम्पनी पारागन फुटवेयर इण्डष्ट्रिज बुधबारदेखि आफ्नो स्थापनाको २८औं वर्ष प्रवेश गरेको छ ।

नेपाली सीपको उपयोग गरी उत्पादन गरिएका छालाका जुत्ता र छालाजन्य वस्तुहरु नेपाली उपभोक्ता माझ पहिचानका साथ सेवा पु-याउँदै आएको कम्पनी २०५५ असार १७ गते स्थापना भएको हो ।  स्थापनाकालदेखि नेपालमा छालाका स्तरीय जुत्ता उत्पादन र बिक्री वितरण गर्दै आएको कम्पनीले शुरुवातमा अधिकांश काम हातबाटै शुरु भइ अहिले अत्याधुनिक मेसिनसम्म आइपुगेको बताउनुहुन्छ कम्पनीका प्रबन्ध निर्देशक रामहरी तोलाङ्ग ।
गुणस्तरलाई सुरुदेखि नै प्राथमिकतामा राख्दै आजसम्म आइपुग्दा, पारागन फुटवेयर उद्योगले आधुनिक मेसिन प्रविधिमार्फत उत्पादन गर्दै आएको जनाउँदै उहाँले बालबालिका, युवा, महिला तथा ज्येष्ठ नागरिकसम्म सबै उमेर समूहका ग्राहकहरूको आवश्यकता र रुचिअनुसार उत्पादनहरू उपलब्ध गराउँदै आएको बताउनुभयो ।
शुरुवातमा बढीमा १५ देखि २० जोर जुत्ता उत्पादनबाट शुरु भएको उद्योगका उत्पादन अहिले देशव्यापी भएका छन् । उद्योगदेखि सोरुमसम्म करिब एक सय जना प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा साढे तीन सय बढी जनशक्तिलाई रोजगारी प्रदान गरिरहेको पारागन फुटवेयरले आगामी दिनमा आयातीत जुत्तालाई प्रतिस्थापन गर्दै निर्यातमा जाने र ग्राहकले पनि विदेशी जुत्ता खोज्नै नपर्ने अवस्था ल्याउने गरी काम गरिरहेको कम्पनीका प्रबन्ध निर्देशक तोलाङ्गले बताउनुभयो ।
चन्द्रागिरी नगरपालिका वडा नं. ९ मा रहेको उद्योगमा पार्टी, क्याजुअल, बच्चा, कलेज तथा स्कुल स्पोर्टसलगायतका जुत्ता उत्पादन हुने गरेको छ ।
दिगो बजार तथा स्थानीय कच्चा पदार्थमा आधारीत व्यवसायको निरन्तरताबाट नै कुनै पनि कम्पनीको संस्थागत विकास र व्यवसायिकता निरन्तरता स्थापित हुने भन्दै कम्पनीका मार्केटिङ प्रमुख राजेन्द्र  तोलाङ्गले आगामी दिनमा पीजी सुज ब्राण्डका उत्पादनलाई अन्तराष्ट्रिय बजारमा पनि पु¥याउने तयारीमा लागेको बताउनुभयो ।
पारागन फुटवेयरले परम्परागत प्रविधि र नयाँ प्रविधिको समिश्रणबाट उत्पादित नेपाली जुत्ताहरु वास्तवमा भौगोलिक विकटता र नेपालीको क्रयशक्तिलाई समेत ध्यान दिएर पीजी सुज ब्राण्डका जुत्ता उत्पादन गरिएको उहाँले बताउनुभयो । सामान्य नागरिकदेखि कर्मचारी, विद्यार्थी, सेना, प्रहरीलगायतको आवश्यकतालाई ध्यान दिएरै पारागन फुटवेयर उद्योग स्थापना भएको हो ।
कम्पनीका मार्केटिङ प्रमुख तोलाङ्गले पारागन ब्राण्डका जुत्ताहरु अन्तर्राष्ट्रिय ब्रान्डसँग कुनै पनि हालतमा कमजोर छैनन् भन्ने कुरा आम उपभोक्ताहरुले बुझिसकेका कारण कम्पनीको रजत वर्ष पुरा गर्ने यात्रा सम्भव भएको बताउनुभयो ।
नेपाली हातहरुले बनाइएका जुत्ताहरु आजका नेपाली उपभोक्ताहरुले मात्र होइन विदेशी उपभोक्ताहरुले समेत मन पराउन थालेको भन्दै उहाँले बलियो, राम्रो र सस्तोमा नेपाली जुत्ताहरु पाइनुले पनि यसप्रति दिनानुदिन आकर्षण बढ्दै गएको बताउनुभयो । नेपाली जुत्ता उत्पादन गर्ने उद्योगहरुले अझ नयाँ प्रविधि भित्र्याउन सके निश्चय नै नेपाली उद्योगहरुले विदेशी उत्पादनसँग पनि प्रतिस्पर्धा गर्न सक्षम हुने उहाँको विश्वास छ ।
नेपाली जुत्ता उत्पादन गर्ने जति पनि उद्योगहरु छन् उनीहरुले नेपाली उपभोक्तालाई मध्यनजर राखेर उत्पादन गर्ने तथा अन्तर्राष्ट्रिय चाहना र रोजाइलाई समेत ध्यान दिएर आकर्षक, सस्तो र राम्रो वस्तु उत्पादन गर्न सके नेपाली उद्योगहरुको भविष्य राम्रो रहेको कम्पनीका मार्केटिङ प्रमुख तोलाङ्गले  बताउनुभयो ।
आधुनिक किसिमका छालाका जुत्ता तथा छालाजन्य वस्तु उत्पादनको गुणस्तरीयतामा पारागनले कुनै कन्जुसाई नगरेका कारण अहिले आम नेपाली उपभोक्ताहरुमा पनि नेपाली ब्राण्ड सस्तो र राम्रो छ भन्ने बलियो धारणा बनिसकेको उहाँले बताउनुभयो ।
ग्लोबल आइएमई बैङ्कको उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैङ्कको उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

काठमाडौं । ग्लोबल आइएमई बैङ्क लिमिटेडले मुलुकमा उद्यमशीलताको विकास र साना तथा मझौला उद्यमको प्रवद्र्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई उद्यमशाला कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।

विश्व लघु, साना तथा मझौला व्यवसाय दिवस २०२६ को अवसरमा आयोजित कार्यक्रम मार्फत् उद्यमशाला कार्यक्रमको घोषणा गर्दै इन्क्यूबेसन कार्यक्रमका लागि देशभरका उद्यमी तथा नवप्रवर्तनको सोच भएका व्यक्तिहरुबाट आवेदन आह्वान गरेको छ ।

नवप्रवर्तनको सोच भएका व्यक्तिहरुलाई सफल उद्यमी बन्न प्रेरित गर्नुका साथै सञ्चालनमा रहेका लघु, साना तथा मझौला व्यवसायमा आवद्ध व्यवसायहरुलाई दिगो र प्रतिष्ठित व्यवसाय बनाउन आवश्यक  सैद्धान्तिक एवम् व्यवहारिक ज्ञान, सीप तथा परामर्श प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बैङ्कले जनाएको छ ।

बैङ्कको प्रधान कार्यालय कमलादी, काठमाडौँमा आयोजित एक कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मीले उद्यमशाला कार्यक्रमको विधिवत् घोषणा गर्दै कार्यक्रमका लागि आवेदन खुल्ला भएको घोषणा गर्नुभयो ।

“लघु, साना तथा मझौला व्यवसायीहरूले भोग्नुपर्ने साझा चुनौतीहरूलाई सम्बोधन गर्न बैङ्कले यो प्लेटफर्म तयार गरेको हो । सम्बन्धित क्षेत्रका विषयविज्ञ, अनुभवी व्यवसायी तथा प्रशिक्षकहरू मार्फत सहभागीहरूलाई व्यावहारिक ज्ञान र समस्या समाधानका उपायहरू प्रदान गरिनेछ,” उहाँले भन्नुभयो ।

उद्यमशाला कार्यक्रमअन्तरगत बैङ्कले मुख्यतया दुईवटा ढाँचामा सहयोग गर्नेछ ।

पहिलो इन्क्युबेसन र दोस्रो एक्सीलेरेसन । इन्क्युबेसन कार्यक्रम नयाँ र नवप्रवर्तनकारी व्यावसायिक सोंच भएका तर उद्यमशीलताको यात्रा कसरी सुरु गर्ने भन्ने अन्योलमा रहेका युवाहरूलाई लक्षित गरी सञ्चालन गरिनेछ । यसअन्तरगत उनीहरूको क्षमता अभिबृद्धि, व्यवसायको सञ्जाल विस्तार र मार्गनिर्देशन प्रदान गरिनेछ ।

त्यसैगरी, एक्सीलेरेसन कार्यक्रमअन्तरगत हाल सञ्चालनमा रहेका तर व्यवसाय विस्तार वा स्तरोन्नतिमा कठिनाइ भोगिरहेका उद्यमीहरूलाई समेटिनेछ । यस अन्तरगत क्षमता विकास, आधुनिक प्रविधिको प्रयोग, बजारीकरण र सरोकारवाला निकायहरूसँगको पहुँचमा सहजीकरण गरिने बैङ्कले जनाएको छ ।

कार्यक्रममार्फत सहभागीहरूले व्यवसाय दर्ता, कर तथा कानुनी प्रक्रिया, बजार अध्ययन, उत्पादन प्रक्रिया, वित्तीय व्यवस्थापन र बैङ्क तथा वित्तीय संस्थासँगको पहुँच जस्ता महत्वपूर्ण विषयमा गहन व्यावहारिक ज्ञान प्राप्त गर्ने बैङ्कले विश्वास लिएको छ ।

उद्घाटन समारोहमा बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत, उच्च पदस्थ व्यवस्थापकहरू, साझेदार संस्थाका प्रतिनिधिहरू तथा सञ्चारकर्मीहरूको  उपस्थिति रहेको थियो ।

ललितपुरमा हुँदै नेपाल घरेलु तथा साना उद्योग महासंघको महाधिवेशन, करिब एक हजार प्रतिनिधि सहभागी हुने

ललितपुरमा हुँदै नेपाल घरेलु तथा साना उद्योग महासंघको महाधिवेशन, करिब एक हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघको २६औँ राष्ट्रिय महाधिवेशन तथा २३औँ राष्ट्रिय महिला उद्यमी सम्मेलन आगामी आइतबारदेखि ललितपुरमा शुरु हुने भएको छ ।

स्थापनाको ३६ वर्ष पूरा गरी ३७ औँ वर्षमा प्रवेश गर्न लागेको महासंघ राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको बुधबार राजधानीमा पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । जेठ २४ र २५ गते हुने महाधिवेशनमा देशभरका उद्यमीहरूको सहभागितासँगै उद्योग क्षेत्रका समसामयिक मुद्दामाथि व्यापक बहस हुने महासंघका अध्यक्ष उमेश प्रसाद सिँहले जानकारी दिनुभयो ।

महासंघले २०४७ सालमा स्थापना भएदेखि लघु, घरेलु तथा साना उद्यमीहरूको हकहित संरक्षण, उद्यमशीलताको विकास तथा महिला उद्यमीहरूको नेतृत्व क्षमता अभिबृद्धिका क्षेत्रमा कार्य गर्दै आएको उहाँले बताउनुभयो । हाल महासंघको संगठन सात सात वटै प्रदेश, ७७ वटै जिल्ला र तीन सय भन्दा बढी पालिकामा विस्तार भएको छ । साथै केन्द्रीय महिला उद्यमी समिति अन्तरगत सात प्रदेश, ६२ जिल्ला तथा विभिन्न पालिकाहरूमा महिला उद्यमी समितिहरू सक्रिय रहेको अध्यक्ष सिँहले बताउनुभयो ।

महासंघका अनुसार महाधिवेशनमा देशभरका सातै प्रदेश र ७७ वटै जिल्लाबाट प्रतिनिधि, पर्यवेक्षक तथा महिला उद्यमी प्रतिनिधिसहित करिब एक हजार जनाको सहभागिता रहने बताइएको छ । सम्मेलनले महासंघको संगठनात्मक सुदृढीकरण, विगतका गतिविधिको समीक्षा, भावी कार्यदिशा निर्धारण तथा लघु, घरेलु र साना उद्योग क्षेत्रका चुनौती र अवसरबारे व्यापक छलफल गर्ने अपेक्षा गरिएको महासंघका उपाध्यक्ष शेभा गुरुङले बताउनुभयो ।

महासंघ तथा केन्द्रीय महिला उद्यमी समितिको आगामी तीन वर्षका लागि नयाँ नेतृत्वसमेत चयन गरिने महाधिवेशनबाट महिला उद्यमशीलता विकास, आर्थिक सशक्तीकरण, नवप्रवर्तन तथा बजार पहुँच विस्तारका विषयमा महत्वपूर्ण योजना र कार्यक्रम तय गरिने उपाध्यक्ष गुरुङले बताउनुभयो । महाधिवेशन अवधिभर उद्यमीहरूले उत्पादन गरेका नेपाली वस्तुहरूको प्रदर्शनीसमेत आयोजना गरिनेछ ।

महासंघले कार्यक्रमको सफल आयोजनाका लागि विभिन्न उपसमितिहरू गठन गरी आवश्यक तयारी पूरा गरिसकेको जनाएको छ । कार्यक्रमलाई भव्य, सभ्य तथा उपलब्धिमूलक बनाउन सरोकारवाला निकाय तथा सञ्चारमाध्यमको सहयोग र सहभागिताको अपेक्षा गरिएको छ ।

पत्रकार सम्मेलनमा महाधिवेशन व्यवस्थापन समितिका संयोजक मोहन कटुवाल, महासंघका महासचिव डम्बर प्रसाद रेग्मीले महाधिवेशनको तयारी बारे आफ्ना भनाई राख्नुभएको थियो ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, उपाध्यक्षहरु मुकेश उपाध्याय, चन्दनकृष्ण श्रेष्ठ, हरिहर थापा, शान्ता बास्कोटा, कोषाध्यक्ष अच्युत पाण्डे, महासंघ महिला उद्यमी समितिका वरिष्ठ उपाध्यक्ष रिता अवाललगायतका केन्द्रिय पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

बजेटप्रति धारणा सार्वजनिक

यसैबीच, महासंघले सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति आफ्नो धारणा सार्वजनिक गरेको छ । महासंघले बजेटलाई समग्रमा स्वागत गर्दै यसले आर्थिक पुनरुत्थान, उत्पादनमूलक क्षेत्रको प्रवद्र्धन तथा निजी क्षेत्रको मनोबल अभिबृद्धिमा सकारात्मक योगदान पु-याउने विश्वास व्यक्त गरेको छ ।

यद्यपि, लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवद्र्धनका विषयमा बजेटले पर्याप्त ध्यान दिन नसकेको महासंघको गुनासो छ । उद्योग तथा व्यवसायमैत्री कर नीति, उद्यमशीलता विकास कार्यक्रम, डिजिटल अर्थतन्त्रको प्रवद्र्धन, उत्पादन तथा रोजगारी बृद्धि, ऊर्जा र पूर्वाधार विकासलाई सकारात्मक पक्षका रूपमा लिइएको महासंघले जनाएको छ ।

बजेटमा घोषणा गरिएका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, सहज वित्तीय पहुँच, घरेलु उत्पादनको संरक्षण तथा प्रवद्र्धन, युवा तथा महिला उद्यमीलाई विशेष सहुलियत, सीप विकास र बजार व्यवस्थापनका कार्यक्रमलाई व्यवहारमा लागू गर्न सरकारसँग आग्रह गरेको महासंघका अध्यक्ष सिँहले जानकारी दिनुभयो ।

निर्माण सामग्री, ऊर्जा तथा ढुवानी लागतमा भएको बृद्धिका कारण साना उद्योग व्यवसायीले भोगिरहेका समस्यालाई सम्बोधन गर्न थप नीतिगत तथा कार्यक्रमगत पहल आवश्यक रहेको महासंघको धारणा छ । साथै स्वदेशी उत्पादनको प्रयोग र प्रवद्र्धनलाई प्रोत्साहन गर्ने स्पष्ट कार्ययोजना कार्यान्वयनमा ल्याउन पनि महासंघले सरकारसँग आग्रह गरेको छ ।

महासंघले सरकारसँग सहकार्य गर्दै आर्थिक समृद्धि, रोजगारी सिर्जना तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणको अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

राजधानीमा "साउथ एसिया ट्रेड फेयर २०२६" जारी, अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता

राजधानीमा "साउथ एसिया ट्रेड फेयर २०२६" जारी, अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता



काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने उद्देश्यसहित बिहीबारदेखि राजधानीमा शुरु भएको "साउथ एसिया ट्रेड फेयर २०२६" जारी छ ।

राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप प्रदर्शनी हलमा चलिरहेको सार्कस्तरीय यस अन्तर्राष्ट्रिय व्यापार मेलाले व्यवसायिक गतिविधि पुनः चलायमान बनाउन प्रमुख भूमिका खेलेको छ ।

सोमबारसम्म चल्ने प्रदर्शनीमा अवलोकनकर्ताको उल्लेख्य भीड देखिएको छ । स्थानीय उत्पादनदेखि सार्क क्षेत्रका उत्पादनहरुमा अवलोकनकर्ताले रुची देखाएका छन ।

देशभित्र लामो समयदेखि सुस्त रहेको व्यापारिक वातावरण र लगानीगत अनिश्चितताबीच यो मेला निजी क्षेत्रका लागि पुनः सक्रिय हुने प्लेटफर्म बनेको छ । देशमा देखिएका विभिन्न आर्थिक तथा व्यावसायिक परिस्थितिका कारण केही समय गुम्सिएर बसेका व्यवसायीहरू मेलामा उत्साहपूर्वक सहभागिताका जनाइरहेको मेला संयोजक सुमन महर्जनले बताउनुभयो ।

इन्ट्रोडक्शन ट्रेड शोज नेपाल प्रा.लि. द्वारा आयोजना तथा व्यवस्थापन गरिएको यस मेलामा बङ्गलादेशको उद्योग मन्त्रालय तथा एक्सपोर्ट प्रोमोसन ब्यूरो -इपीबी) को सहकार्य रहेको छ ।

यस कार्यक्रमलाई इन्डोर्स वाईका रूपमा भुटान सरकारको उद्योग, वाणिज्य तथा रोजगारी मन्त्रालयले समर्थन गरेको छ ।

कार्यक्रमका सहयोगी संस्थाहरूका रूपमा नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ, ललितपुर चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, भक्तपुर चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, चेम्बर अफ इन्डस्ट्रीज मोरङ, ललितपुर चेम्बर अफ कमर्स, नेपाल–चाइना एक्जिक्युटिभ काउन्सिल, नेपाल कस्मेटिक व्यवसाय संघ तथा विश्व उद्यम सहायता फाउन्डेसन रहेका छन् ।

साथै, यस मेलाका साझेदारहरूमा अनलाइन पार्टनर इटिकेटनेपाल डट कम, बीटुबी पार्टनर विराट बजार, इन्टरनेट पार्टनर वल्र्डलिंक, लाइटिङ पार्टनर एक्जिविसन लाइट हाउस, सीसीटिभी पार्टनर जोडहनी ग्रुप, ई–कमर्स पार्टनर वन पसल प्राइभेट लिमिटेड, टेक्सटाइल पार्टनर नित्य ट्रेडिसनल र उद्यमी पार्टनर उद्यमी घर रहेका छन् ।

मेलामा भारत, बङ्गलादेश, नेपाल, भुटान, पाकिस्तान, अफगानिस्तान, श्रीलंका र माल्दिभ्स लगायतका देशहरूको सहभागिता रहेको छ । आयोजकका अनुसार मेलाको मुख्य उद्देश्य उत्पादन तथा सेवाको प्रवद्र्धन, बजार सम्भाव्यता अध्ययन तथा क्रेता–बिक्रेता बीच सहकार्य विस्तार गर्नु हो । साथै, विभिन्न देशबीच व्यापारिक सम्बन्धलाई अझ मजबुत बनाउने लक्ष्य पनि राखिएको छ ।

गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हित सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने दायित्वलाई प्रदर्शनीले प्राथमिकता दिएको छ । निकासी अभिबृद्धि गर्ने उद्देश्य लिई यस प्रदर्शनी मार्फत निकासीयोग्य वस्तुको प्रवद्र्घन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने तथा त्यसका लागि आवश्यक पहल कदमी समेत गर्ने उदेश्य राखेको छ ।

मेलामा कपडा तथा रेडिमेड सामग्री, सौन्दर्य सामग्री, हस्तकला, सवारी साधन तथा पार्टपुर्जा, फर्निचर, कृषि उत्पादन, सूचना प्रविधि, घरेलु उपकरण लगायतका विभिन्न क्षेत्रका उत्पादन तथा सेवाहरू आदी सामग्रीहरूको प्रदर्शनीले आगन्तुकहरूका लागि एक्स्पो एउटा उपयुक्त आकर्षण बनेको छ । साथै, व्यापारिक भेटघाट, फुड फेष्टिवल, रक्तदान कार्यक्रम तथा मनोरञ्जनात्मक गतिविधिहरू समेत सञ्चालन भइरहेको छ । नेपालमा लगानी तथा व्यापार विस्तारका नयाँ सम्भावनाहरू सिर्जना गर्न मेलाले उल्लेख्य भूमिका खेलेको छ ।

 तस्बीरमा राजधानीमा आयोजना भइरहेको "साउथ एसिया ट्रेड फेयर २०२६"

तस्बीरमा राजधानीमा आयोजना भइरहेको "साउथ एसिया ट्रेड फेयर २०२६"

तस्बीरमा हेर्नुहोस दक्षिण एसियाली देशहरूको सहभागितामा राजधानीमा आयोजना भइरहेको "साउथ एसिया ट्रेड फेयर २०२६"



















 एकतामा जोड दिँदै ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल को ३१औँ स्थापना दिवस सम्पन्न

एकतामा जोड दिँदै ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल को ३१औँ स्थापना दिवस सम्पन्न

काठमाडौँ । नीतिगत सुधार, आधुनिक प्रविधिको अपनत्व र व्यवसायीहरूको एकतामा जोड दिँदै ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालले आफ्नो ३१औँ स्थापना दिवस बालाजु बाइसधारा मा विविध कार्यक्रमका साथ मनाएको छ ।

बढ्दो मूल्यबृद्धि र व्यवसायिक चुनौतीबीच समाधान खोज्ने प्रतिबद्धतासहित संघीय संरचनाअनुसार देशभर संगठन विस्तारलाई तीब्रता दिँदै महासंघले स्थापना दिवस मनाएको हो ।

तीन दशकभन्दा बढीको संघर्ष, सहकार्य, एकता र सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै आएको महासंघ यस अवसरसँगै आफ्नो गौरवमय ३१औँ वर्षमा प्रवेश गरेको हो ।

कार्यक्रममा अध्यक्ष ठुलोबाबु श्रेष्ठ, निवर्तमान अध्यक्ष मोहन कुटुवाल, वरिष्ठ उपाध्यक्ष अमृत बहादुर श्रेष्ठ, प्रथम उपाध्यक्ष केदार अधिकारी लगायत केन्द्रीय पदाधिकारी, प्रदेश तथा जिल्ला समितिका प्रतिनिधि, महानगर तथा नगर समितिका सदस्यहरू, व्यवसायी, पत्रकार, कलाकार तथा सुरक्षाकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमको सुरुवात æरक्तदान जीवन दानÆ भन्ने मूल मन्त्रसहित आयोजित रक्तदान कार्यक्रमबाट गरिएको थियो । उक्त रक्तदान कार्यक्रम काठमाडौं मेडिकल कलेज ब्लड बैंक सँगको सहकार्यमा सम्पन्न भएको थियो । व्यस्त दैनिकीका बाबजुद पनि व्यवसायीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै सामाजिक उत्तरदायित्वप्रति आफ्नो प्रतिबद्धता देखाएका थिए । आयोजकका अनुसार यस पहलले धेरै बिरामीहरूका लागि आशा जगाउने विश्वास गरिएको छ ।

रक्तदानपछि सञ्चालन गरिएको वनभोज कार्यक्रमले औपचारिकताको घेरालाई तोड्दै व्यवसायीहरूबीच आत्मीयता र मित्रताको वातावरण सिर्जना गरेको थियो । हाँसो, खुशी र सम्झनाहरूले भरिएको वातावरणले …व्यवसायभन्दा माथि सम्बन्धÚ भन्ने सन्देशलाई व्यवहारमै उतारेको देखिएको थियो ।

कार्यक्रमको अर्को आकर्षणका रूपमा सांस्कृतिक प्रस्तुति रहेको थियो। चर्चित कलाकारहरू डिजराज पौडेल, प्रकाश ओझा, लोकदोहोरी गायिका उमा श्रेष्ठ, लोकगायक सुर्यमणी आचार्य, अमृत खाती, स्मृति गौतम, यादव श्रेष्ठ लगायतले प्रस्तुत गरेका गीत, संगीत तथा नृत्यले कार्यक्रमलाई झन् रौनकपूर्ण बनाएको थियो । नेपाली कला, संस्कृति र मौलिकतालाई उजागर गर्ने प्रस्तुतिहरूले सहभागीहरूलाई भावनात्मक रूपमा जोड्दै उनीहरूमा नयाँ ऊर्जा भरिएको अनुभव गराएको थियो ।

कार्यक्रममा महासंघका अध्यक्ष ठुलोबाबु श्रेष्ठले महासंघको यात्रालाई स्मरण गर्दै भविष्यका योजनाबारे स्पष्ट दृष्टिकोण प्रस्तुत गर्नुभएको थियो । व्यवसायीहरूको एकता नै महासंघको मुख्य शक्ति भएको उल्लेख गर्दै नीतिगत सुधार, आधुनिक प्रविधिको प्रयोग तथा संगठन विस्तारलाई प्राथमिकतामा राखिने उहाँले बताउनुभयो ।

महासंघले संघीय संरचनाअनुसार संगठन विस्तारलाई तीब्रता दिएको जनाउँदै अध्यक्ष श्रेष्ठले  विभिन्न प्रदेश तथा स्थानीय तहमा समिति गठनको कार्य भइरहेको जानकारी दिनुभयो । दक्ष जनशक्ति उत्पादनका लागि तालिम कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको उल्लेख गर्दै उहाँले यसले व्यवसायमा गुणस्तर र प्रतिस्पर्धात्मक क्षमता अभिबृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो ।

महासंघका अध्यक्ष श्रेष्ठले बढ्दो मूल्यबृद्धिका कारण व्यवसायीहरू समस्यामा परेको उल्लेख गर्दै ग्राहकसँग सहकार्य गर्दै समाधान खोज्नुपर्ने आवश्यकता औंल्याउनुभयो । साथै, व्यवसायलाई सुरक्षित र व्यवस्थित बनाउन बीमा, सामाजिक सुरक्षा कोषमा आबद्धता, व्यवसायको ग्रेडिङ प्रणाली र सीप प्रमाणपत्रलाई प्राथमिकता दिने योजना रहेको जानकारी दिनुभयो ।

सामूहिक खरिद प्रणालीमार्फत लागत घटाउने र व्यवसायलाई प्रतिस्पर्धी बनाउने विषयमा पनि महासंघले पहल गरिरहेको बताउँदै आगामी दिनमा अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दै संगठनलाई अझ सुदृढ बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

दिनभर चलेका गतिविधिहरूले कबवल मनोरञ्जन मात्र प्रदान गरेनन्, व्यवसायीहरूबीच आपसी सम्बन्ध, सहकार्य र साझा उद्देश्यलाई अझ सुदृढ बनाउने वातावरण सिर्जना गरेको महासंघका महासचिव विवेकदाश श्रेष्ठले बताउनुभयो । वर्षौंदेखि प्रतिस्पर्धामा रहेका व्यवसायीहरूबीचको सम्बन्ध कार्यक्रममा अझ नजिकिएको अनुभूति गरिएको महासंघका महासचिव श्रेष्ठले बताउनुभयो ।

महासंघका उपाध्यक्ष एवं वनभोज कार्यक्रम संयोजक सुदन विष्टको सभापतित्वमा सम्पन्न कार्यक्रम महासचिव श्रेष्ठले सञ्चालन गनुभएको थियो ।

साउथ एसिया ट्रेड फेयर २०२६ तयारी अन्तिम चरणमा, व्यवसायिक गतिविधि चलायमान हुने अपेक्षा

साउथ एसिया ट्रेड फेयर २०२६ तयारी अन्तिम चरणमा, व्यवसायिक गतिविधि चलायमान हुने अपेक्षा

काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने उद्देश्यसहित “साउथ एसिया ट्रेड फेयर २०२६” को तयारी अन्तिम चरणमा पुगेको छ । सार्क मुलुकका सहभागीहरू काठमाडौं आइपुग्ने क्रम सुरु भएको छ । बिहीबार मे ७ देखि ११ तारिख (वैशाख २४ देखि २८, २०८३) सम्म राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने सार्कस्तरीय यस अन्तर्राष्ट्रिय व्यापार मेलालाई व्यवसायिक गतिविधि पुनः चलायमान बनाउने प्रमुख अवसरका रूपमा हेरिएको छ ।

देशभित्र लामो समयदेखि सुस्त रहेको व्यापारिक वातावरण र लगानीगत अनिश्चितताबीच यो मेला निजी क्षेत्रका लागि पुनः सक्रिय हुने प्लेटफर्म बन्ने अपेक्षा गरिएको छ । देशमा देखिएका विभिन्न आर्थिक तथा व्यावसायिक परिस्थितिका कारण केही समय गुम्सिएर बसेका व्यवसायीहरू अहिले उत्साहपूर्वक सहभागिताका लागि अग्रसर भएका छन् ।

इन्ट्रोडक्शन ट्रेड शोज नेपाल प्रा.लि. द्वारा आयोजना तथा व्यवस्थापन गरिने यस मेलामा बङ्गलादेशको उद्योग मन्त्रालय तथा एक्सपोर्ट प्रोमोसन ब्यूरो (इपीबी) को सहकार्यमा सञ्चालन हुन लागेको छ ।

यस कार्यक्रमलाई इन्डोर्स वाईका रूपमा भुटान सरकारको उद्योग, वाणिज्य तथा रोजगारी मन्त्रालयले समर्थन गरेको छ ।

कार्यक्रमका सहयोगी संस्थाहरूका रूपमा नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ, ललितपुर चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, भक्तपुर चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, चेम्बर अफ इन्डस्ट्रीज मोरङ, ललितपुर चेम्बर अफ कमर्स, नेपाल–चाइना एक्जिक्युटिभ काउन्सिल, नेपाल कस्मेटिक व्यवसाय संघ तथा विश्व उद्यम सहायता फाउन्डेसन रहेका छन् ।

साथै, यस मेलाका साझेदारहरूमा अनलाइन पार्टनर इटिकेटनेपाल डट कम, बीटुबी पार्टनर विराट बजार, इन्टरनेट पार्टनर वल्र्डलिंक, लाइटिङ पार्टनर एक्जिविसन लाइट हाउस, सीसीटिभी पार्टनर जोडहनी ग्रुप, ई–कमर्स पार्टनर वन पसल प्राइभेट लिमिटेड, टेक्सटाइल पार्टनर नित्य ट्रेडिसनल र उद्यमी पार्टनर उद्यमी घर रहेका छन् ।

मेलामा भारत, बङ्गलादेश, नेपाल, भुटान, पाकिस्तान, अफगानिस्तान, श्रीलंका र माल्दिभ्स लगायतका देशहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । आयोजकका अनुसार मेलाको मुख्य उद्देश्य उत्पादन तथा सेवाको प्रवद्र्धन, बजार सम्भाव्यता अध्ययन, तथा क्रेता–बिक्रेता बीच सहकार्य विस्तार गर्नु हो । साथै, विभिन्न देशबीच व्यापारिक सम्बन्धलाई अझ मजबुत बनाउने लक्ष्य पनि राखिएको छ । आयोजकले करिब १५० भन्दा बढी प्रदर्शकहरू सहभागी हुने र झण्डै एक लाख स्थानीय दर्शक तथा पाँच हजार अन्तर्राष्ट्रिय तथा व्यावसायिक प्रतिनिधिहरूको उपस्थितिको अपेक्षा गरिएको मेला संयोजक सुमन महर्जनले बताउनुभयो ।

गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हित सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने दायित्वलाई प्रदर्शनीले प्राथमिकता दिने छ । निकासी अभिबृद्धि गर्ने उद्देश्य लिई यस प्रदर्शनी मार्फत निकासीयोग्य वस्तुको प्रवद्र्घन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने तथा त्यसका लागि आवश्यक पहल कदमी समेत गर्ने उदेश्य राखेको छ ।

मेलामा कपडा तथा रेडिमेड सामग्री, सौन्दर्य सामग्री, हस्तकला, सवारी साधन तथा पार्टपुर्जा, फर्निचर, कृषि उत्पादन, सूचना प्रविधि, घरेलु उपकरण लगायतका विभिन्न क्षेत्रका उत्पादन तथा सेवाहरू आदी सामग्रीहरूको प्रदर्शनीले आगन्तुकहरूका लागि एक्स्पो एउटा उपयुक्त आकर्षण बन्न सक्ने विश्वास गरिएको छ । साथै, व्यापारिक भेटघाट, फुड फेष्टिवल, रक्तदान कार्यक्रम तथा मनोरञ्जनात्मक गतिविधिहरू समेत सञ्चालन गरिने जनाइएको छ । यस कार्यक्रमले नेपालमा लगानी तथा व्यापार विस्तारका नयाँ सम्भावनाहरू सिर्जना गर्ने विश्वास गरिएको छ ।

यस मेलामा आफ्ना ब्रान्डहरूको प्रभावकारी प्रवद्र्धन तथा व्यापार विस्तार गर्न इच्छुक सम्पूर्ण फर्म तथा कम्पनीहरूलाई स्टल बुकिङ वा प्रायोजनका साथै सम्पूर्णमा अवलोकनको लागि हार्दिक आमन्त्रण गरिन्छ ।

घरेलु महासंघले उठायो साना उद्योगको समस्या, उद्योग मन्त्रीबाट समाधानको आश्वासन

घरेलु महासंघले उठायो साना उद्योगको समस्या, उद्योग मन्त्रीबाट समाधानको आश्वासन

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलले उद्योग मन्त्री गौरी कुमारीलाई भेट गरी साना तथा घरेलु उद्योग क्षेत्रका समस्याबारे ध्यानाकर्षण गराएको छ ।

महासंघका अध्यक्ष उमेशप्रसाद सिँहको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मन्त्रालयमा भएको भेटघाटका क्रममा साना उद्योगीहरूले भोग्दै आएका विभिन्न चुनौतीहरूबारे जानकारी गराएको थियो ।

स्वदेशी उत्पादनहरुलाई आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न कठिनाई भएकाले आन्तरिक उत्पादनलाई प्राथमिकता दिने सरकारी नीतिको खाँचो औंल्याउँदै सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगलाई बढावा दिनुपर्ने महासंघका अध्यक्ष सिँहको बताउनुभयो । निर्यात प्रवद्र्धनका लागि प्रोत्साहन तथा प्रक्रिया सरलीकरण आवश्यक आवश्यक भएको भन्दै उहाँले ठुला र साना उद्योगलाई एउटै बास्केटमा नराखी साना उद्योगलाई छुट्टै सेवा सुविधाको व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो  ।

जवाफमा उद्योग मन्त्री गौरी कुमारीले महासंघले उठाएका विषयहरू महत्वपूर्ण रहेको उल्लेख गर्दै समस्या समाधानका लागि मन्त्रालय सकारात्मक रहेको बताउनुभयो । उहाँले आवश्यक नीतिगत सुधार र सम्बन्धित निकायसँग समन्वय गरी साना उद्योगको प्रवद्र्धनका लागि पहल गरिने आश्वासन दिनुभयो ।

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउत, महासंघका सल्लाहकार वासु गिरी, उपाध्यक्षद्घय शोभा गुरुङ र सत्यनारायण प्रजापति, महासंघ अन्तरगत केन्द्रिय महिला उद्यमी समितिका वरिष्ठ उपाध्यक्ष रिता अवाललगायतको उपस्थिति रहेको थियो ।


 दक्षिण एसियाली देशहरूको सहभागितामा काठमाडौंमा साउथ एसिया ट्रेड फेयर हुने

दक्षिण एसियाली देशहरूको सहभागितामा काठमाडौंमा साउथ एसिया ट्रेड फेयर हुने

काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने उद्देश्यसहित ''साउथ एसिया ट्रेड फेयर २०२६'' आगामी ७ देखि ११ मे २०२६ (वैशाख २४ देखि २८ २०८३) सम्म काठमाडौंमा आयोजना हुने भएको छ । मेला भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सञ्चालन हुनेछ ।

इन्ट्रोडक्शन ट्रेड शोज नेपाल प्रा.लि. द्वारा आयोजना तथा व्यवस्थापन गरिने यस मेलामा बंगलादेशको उद्योग मन्त्रालय (Ministry of Bangladesh) र Export Promotion Bureau–EPB को सहकार्यमा सञ्चालन हुन लागेको छ । साथै कार्यक्रममा सहयोगी संस्थाहरूका रूपमाः नेपाल चेम्बर अफ कमर्स, ललितपुर चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, भक्तपुर चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, चेम्बर अफ इण्डष्ट्रिज मोरङ रहने छन् । मेलाको अनलाइन पार्टनरका रूपमा eTicketNepal.com रहनेछ र बीटुबी पार्टनरमा विराटबजार रहेको छ।

मेलामा भारत, बंगलादेश, नेपाल, भुटान, पाकिस्तान, अफगानिस्तान, श्रीलंका र माल्दिभ्स लगायतका देशहरूको सहभागिता रहने छ । आयोजकका अनुसार मेलाको मुख्य उद्देश्य उत्पादन तथा सेवाको प्रवद्र्धन, बजार सम्भाव्यता अध्ययन तथा क्रेता–बिक्रेता बीच सहकार्य विस्तार गर्नु हो । साथै, विभिन्न देशबीच व्यापारीक सम्बन्धलाई अझ मजबुत बनाउने लक्ष्य पनि राखिएको छ । आयोजकले करिब १५० भन्दा बढी प्रदर्शकहरू सहभागी हुने र झण्डै एक लाख स्थानीय अवलोकनकर्ता तथा पाँच हजार अन्तराष्ट्रिय तथा व्यावसायिक प्रतिनिधिहरूको उपस्थितिको अपेक्षा गरिएको मेला संयोजक सुमन महर्जनले बताउनुभयो ।

गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हित सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने दायित्वलाई प्रदर्शनीले प्राथमिकता दिने छ । निकासी अभिबृद्धि गर्ने उद्देश्य सहित प्रदर्शनीमार्फत निकासीयोग्य वस्तुको प्रवद्र्धन गर्न सबै व्यापारीक समुदायलाई प्रोत्साहन गर्ने तथा त्यसका लागि आवश्यक पहल कदमी समेत गर्ने उद्देश्य राखेको छ ।

मेलामा कपडा तथा रेडिमेड सामग्री, सौन्दर्य सामग्री, हस्तकला, सवारी साधन तथा पार्टपूर्जा, फर्निचर, कृषि उत्पादन, सूचना प्रविधि, घरेलु उपकरण लगायतका विभिन्न क्षेत्रका उत्पादन तथा सेवाहरू आदि सामग्रीहरूको प्रदर्शनीले अवलोकनकर्ताहरूका लागि मेला एउटा उपयुक्त आकर्षण बन्न सक्ने विश्वास गरिएको छ । साथै, व्यापारीक भेटघाट, सेमिनार, सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जनात्मक गतिविधिहरू समेत सञ्चालन गरिने आयोजक पक्षले जनाएको छ । मेलाले नेपालमा लगानी तथा व्यापार विस्तारका नयाँ सम्भावनाहरू सिर्जना गर्ने विश्वास गरिएको छ ।

यस मेलामा आफ्ना ब्रान्डहरूको प्रभावकारी प्रवद्र्धन तथा व्यापार विस्तार गर्न इच्छुक सम्पूर्ण फर्म तथा कम्पनीहरूलाई स्टल बुकिङ वा प्रायोजनका लागि हार्दिक आमन्त्रण गरिन्छ ।
ग्रील तथा स्टील व्यवसायी महासंघको ३०औँ साधारणसभा : व्यवसाय पुनर्गठन र अवैध प्रतिस्पर्धा नियन्त्रण मुख्य एजेन्डा

ग्रील तथा स्टील व्यवसायी महासंघको ३०औँ साधारणसभा : व्यवसाय पुनर्गठन र अवैध प्रतिस्पर्धा नियन्त्रण मुख्य एजेन्डा

काठमाडौं । आर्थिक मन्दी, मूल्यबृद्धि र अवैध प्रतिष्पर्धाको चपेटामा परेका ग्रील तथा स्टील व्यवसायीहरुले व्यवसाय वर्गीकरण, अवैध मिस्त्री नियन्त्रण, दक्ष जनशक्ति उत्पादन र संगठन पुर्नगठनलाई प्राथमिक एजेण्डा बनाउँदै आगामी वर्षका ठोस कार्ययोजना सार्वजनिक गरेका छन् ।

देशभरका करिब ११ हजार व्यवसायी र डेढ लाखभन्दा बढी कर्मचारी–मजदुरको प्रतिनिधित्व गर्ने ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको राजधानीमा सम्पन्न ३०औँ वार्षिक साधारणसभामा व्यवसायीलाई सुरक्षित, व्यवस्थित र प्रतिस्पर्धी बनाउने उद्देश्यले संरचनागत तथा कानुनी सुधारका एजेन्डा अघि सारिएको हो ।

नीति निर्माणदेखि अवैध व्यवसाय नियन्त्रणसम्मका महत्वपूर्ण निर्णयहरू घोषणा गर्दै “व्यवसायीलाई स्पातजस्तै सुदृढ बनाउने” प्रतिवद्धता व्यवसायीहरुले व्यक्त गरेका छन् ।

साधारणसभाको अध्यक्षता गर्दै महासंघका अध्यक्ष ठूलोबाबु श्रेष्ठले २०५० साल तिरबाट संगठित भएर ग्रील तथा स्टील व्यवसायीहरुलाई संगठित गर्दै ३० औं वर्षको यात्रा तय गर्दासम्म धेरै उपलब्धिहरु हासिल गरेको बताउनुभयो ।

ग्रील तथा स्टील व्यवसायीहरुको त्याग र समर्पणबाट हिजो एक अर्कामा बोल्न समेत नचाहने व्यवसायीहरु आज एउटै टेबलमा बसेर वैचारिक विमर्श तथा कार्य सम्पादनमा समेत सहकार्य गर्न तयार भएको अवस्थाले व्यवसायीहरुमा ल्याएको परिवर्तनको चित्रण गरिरहेको उहाँले बताउनुभयो ।

महासंघ बलियो हुनको लागि संगठनमा आबद्ध भएका व्यवसायी बलियो हुन जरुरी रहेको भन्दै अध्यक्ष श्रेष्ठले अहिले संगठनलाई मजबुत बनाएर अगाडी बढाउँदै लैजाने तथा ग्रील व्यवसायलाई उद्योगको रुपमा विकास गर्ने योजना बनाउनु आजको आवश्यकता रहेको बताउनुभयो । त्यसका लागि अनाधिकृत रुपमा बजार विगार्न आएका अवैधानिक मिस्त्री तथा व्यवसायीको मेसिन नै कब्जा गरेर कारबाहीको दायरामा जान बाध्य भएको उहाँले बताउनुभयो ।

राज्यको करको दायरामा पनि आउन नचाहने हाम्रो संगठनमा पनि जोडिन नचाहाने अवैध व्यवसायीहरुको हकमा भने निर्मम बन्नुपर्ने अवस्था रहेको बताउँदै उहाँले भन्नुभयो – “यिनको कारण भएको उपभोक्ता ठगी तथा बजारको अस्थिरताको विषयमा ठोस नीति बनाएर स्थानीय सरकार र स्थानीय प्रशासनसँगको सहकार्यमा कारबाही प्रकृया अगाडि बढाउन सबै क्रियाशील बन्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

हार्डवेयर व्यवसाय र ग्रील तथा स्टील व्यवसायको बीचमा नङ र मासुको सम्बन्ध हुनुपर्नेमा पछिल्लो समय केहि दरार पैदा भएको महशुस भएको अनुभुति भएकोले यी दुई व्यवसाय बीचको सम्बन्ध सुमधुर बनाउन महासंघले छलफल र अन्तरक्रिया गर्दै अगाडी बढाउने उहाँले बताउनुभयो ।

महासंघका संस्थापक अध्यक्ष मधुबहादुर कार्कीले संगठन निर्माणका प्रारम्भिक कठिनाइ, संस्थाको इतिहास, विस्तार र संस्थागत विकासका महत्वपूर्ण अध्यायहरू स्मरण गर्दै वर्तमान नेतृत्वलाई अझ योजनाबद्ध रुपमा अघि बढ्न शुभकामना दिनुभयो ।

महासंघका महासचिव विवेकदास श्रेष्ठले देशको आर्थिक अवस्था चुनौतीपूर्ण रहेको भन्दै  कच्चा पदार्थदेखि श्रम लागतसम्म बढिरहेको दबाब, अवैध तथा अनियन्त्रित व्यवसाय, कर असमानता तथा गुणस्तरहीन उत्पादनका कारण व्यवसाय निरन्तर जोखिममा परिरहेको बताउनुभयो । यस्तो अवस्थामा महासंघले व्यवस्थित, जिम्मेवार र पारदर्शी व्यवसाय निर्माणलाई आफ्नो मुख्य एजेण्डा बनाएको उहाँले बताउनुभयो ।

महासंघका निवर्तमान अध्यक्ष मोहन कटुवालले महासंघले विगतमा गरेका उपलब्धिहरू र आगामी योजनाबारे चर्चा गर्दै संस्थागत एकता र बलियो संरचना निर्माणमा सबै व्यवसायी एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

महासंघका वरिष्ठ सल्लाकार निरञ्जन कुमार श्रेष्ठले व्यवसायमा देखिने अनियमितता हटाई व्यवस्थित कारोबार प्रणाली कायम गर्न महासंघले नेतृत्व लिनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा आफ्नो शुभकामना मनतव्य राख्दै चितवन जिल्लाका तारा बहादुर कार्कीले काठमाडौं उपत्यकालाई मात्र महासंघ भन्ने भाष्यलाई विस्थापन गराएर देश भरका व्यवसायीहरुको साझा संगठनको रुपमा बिकास गर्नु आजको आवश्यकता रहेको बताउनुभयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष अमृत बहादुर श्रेष्ठले देशभरका व्यवसायीहरूलाई एकीकृत ढंगले अगाडि बढाउने महासंघको भूमिकालाई थप विस्तार गर्नुपर्ने सुझाव राख्नुभयो ।

वैज्ञानिक एवं वातावरणविद राम चरित्र शाह, महासंघका उपाध्यक्ष तथा लुम्बिनी प्रदेश अध्यक्ष अशोक बर्मा, बागमती प्रदेशका संयोजक प्रकाश पौडेल, गण्डकी प्रदेशका संयोजक रण बहादुर विश्वकर्मालगायतले मन्तव्य राख्नु भएको थियो ।

साधारण सभामा आर्थिक प्रतिवेदन, वार्षिक प्रगतिबारे समीक्षा, अद्यावधिक कार्ययोजना तथा आगामी वर्षको रणनीतिबारे विस्तृत छलफल भएको थियो ।

बैंक ब्याजदरको चाप, निर्माण सामग्री बजारको अस्थिरता, कुशल जनशक्तिको अभाव, आपूर्ति व्यवस्थाको चुनौति जस्ता मुद्दाहरूलाई महासंघले प्राथमिक रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ ।

साधारणसभामा देशभरका ग्रील तथा स्टील व्यवसायीहरूलाई एउटै मञ्चमा ल्याई उनीहरूका समस्या समाधान तथा अधिकार संरक्षणमा महासंघको भूमिका झनै प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ ।

घरेलु तथा साना उद्योग प्रवर्द्धनमा सरकारको दृढ प्रतिबद्धता : मन्त्री सिन्हा

घरेलु तथा साना उद्योग प्रवर्द्धनमा सरकारको दृढ प्रतिबद्धता : मन्त्री सिन्हा


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले देशकै आर्थिक पाटो मजबुत बनाउन लघु, घरेलु तथा साना उद्योगको भूमिका उच्च भएको भन्दै यस्ता उद्योगहरुको प्रवद्र्धन र विकासका लागि सरकार प्रतिवद्ध भएर लाग्ने बताउनुभएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका प्रतिनिधिमण्डलसँग सिँहदरबारस्थित मन्त्रालयमा भएको भेटघाट र छलफलका क्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका मन्त्री सिन्हाले भन्नुभयो – “अर्थतन्त्रको महत्वपूर्ण पाटोका रुपमा रहेका घरेलु तथा साना उद्योगहरु मेरो र सरकारकै पनि प्राथमिकता प्राप्त क्षेत्र हो । छोटो समयको लागि यो जिम्मेवारीमा आएको छु के कति हदसम्म गर्न सकिन्छ म पहल गर्छु ।”
मन्त्री सिन्हाले स्वदेशी वस्तुहरूको प्रयोगलाई प्राथमिकता दिने नीति अंगिकार गरेको जानकारी दिँदै यस्तो प्रयोगले रोजगारी सिर्जना गर्ने, स्थानीय उद्योगलाई मजबुत बनाउने र आयातलाई घटाउने अपेक्षा गरिएको बताउनुभयो ।
मुलुकको पुननिर्माण तथा मर्मत कामहरुमा स्थानीय स्रोत साधन र स्वदेशी सामग्रीको प्रयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले आगामी निर्वाचनका लागि जेजति वस्तु आवश्यक पर्छ स्थानीय तहमा पाइने वस्तुलाई प्राथमिकतामा राख्न विशेष अनुरोध गरेको बताउनुभयो ।
सार्वजनिक निकायहरूको खरिद प्रक्रियामा स्वदेशी उत्पादनलाई प्राथमिकता रहेको भन्दै उहाँले विशेष गरी फर्निचर र निर्माण सामग्रीहरूमा पुनर्निर्माणमा स्वदेशी उत्पादन प्रयोग गर्ने नीति लागू गरिने बताउनुभयो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिँहले बैंकको उच्च ब्याजदरका कारण लघु, घरेलु तथा साना उद्यमीहरु ऋण तिर्न असमर्थ रहेकाले ब्याजदर घटाउनुपर्नेतर्फ मन्त्री सिन्हाको ध्यानकर्षण गराउनुभयो ।
उद्यमीले लिएको ऋणको पुनर्तालिकीकरण तथा ऋण पुनर्संरचनाको आवश्यकता औंल्याउँदै उहाँले यस्ता उद्योगको हकमा सहुलियतपूर्ण कर्जाको दायरा तीन करोड पु-याउनुपर्ने र २–३ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा सुविधा उपलब्ध गराउनुपर्नेतर्फ मन्त्री सिन्हाको ध्यानाकर्षण गराउनुभयो ।
स्वदेशी उत्पादनहरुलाई आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न कठिनाई भएकाले आन्तरिक उत्पादनलाई प्राथमिकता दिने सरकारी नीतिको खाँचो औंल्याउँदै सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगलाई बढावा दिनुपर्ने बताउनुभयो । निर्यात प्रवद्र्धनका लागि प्रोत्साहन तथा प्रक्रिया सरलीकरण आवश्यक आवश्यक भएको भन्दै उहाँले ठुला र साना उद्योगलाई एउटै बास्केटमा नराखी साना उद्योगलाई छुट्टै सेवा सुविधाको व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो  ।
महासंघ अन्तरगत केन्द्रिय महिला उद्यमी समितिका वरिष्ठ उपाध्यक्ष रिता अवालले महिलाहरुले सञ्चालन गरिरहेका साना तथा घरेलु उद्योग अफ्ठ्यारोमा रहेको भन्दै यस्ता अफ्ठ्यारोलाई फुकाउन सहुलियत दरको कर्जामार्फत सहजीकरण गरिदिन आग्रह गर्नुभयो ।

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवद्धय डा. रामप्रसाद घिमिरे र कृष्ण बहादुर राउत, महासंघका उपाध्यक्ष सत्यनारायण प्रजापतिलगायतको उपस्थिति रहेको थियो ।
प्रधानमन्त्री सुशीला कार्कीलाई नेपाल घरेलु तथा साना उद्योग महासंघले दियो बधाई

प्रधानमन्त्री सुशीला कार्कीलाई नेपाल घरेलु तथा साना उद्योग महासंघले दियो बधाई

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले नेपाल सरकारको प्रधानमन्त्री पदमा सुशीला कार्की नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

महासंघले प्रधानमन्त्री कार्कीको नेतृत्वमा देशमा लोकतान्त्रिक प्रणालीको सुदृढीकरण, आर्थिक स्थायीत्व, तथा औद्योगिक विकासमा उल्लेखनीय प्रगति हुने विश्वास व्यक्त गरेको छ । विशेषतः घरेलु तथा साना उद्योगहरूलाई प्राथमिकता दिई स्वदेशी उत्पादनको प्रवद्र्धन, उद्यमशीलता अभिबृद्धि र रोजगारी सिर्जना जस्ता विषयहरूमा सकारात्मक कदम चालिने अपेक्षा महासंघले व्यक्त गरेको छ ।

महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा अध्यक्ष उमेश प्रसाद सिँहले भन्नुभएको छ, “नेपालको आर्थिक मेरुदण्डका रूपमा रहेका घरेलु तथा साना उद्योगहरूलाई प्रवद्र्धन गर्ने नीतिगत तथा संरचनात्मक सुधारमा वर्तमान सरकारको साथ र समर्थन रहनेछ भन्ने हामीलाई विश्वास छ । सुशीला कार्कीको नेतृत्वले देशमा अमनचयन कायम गर्दै समावेशी आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्नेछ ।”

महासंघले वर्तमान सरकारलाई आवश्यक परेमा नीति निर्माणदेखि कार्यान्वयनसम्मको प्रक्रियामा सुझाव, समन्वय र सहकार्य गर्न तत्पर रहेको समेत उल्लेख गरेको छ ।

यस्तै कोभिडदेखि थलिएका साना तथा घरेलु उद्योगहरुका लागि प्रधानमन्त्री कार्कीको कार्यकालमा विशेष प्याकेज ल्याउने अपेक्षा पनि महासंघले लिएको छ ।

 बजेट कार्यान्वयनका लागि नेपाल सरकार, मन्त्रालयहरु कठोर बन्नै पर्नेछ

बजेट कार्यान्वयनका लागि नेपाल सरकार, मन्त्रालयहरु कठोर बन्नै पर्नेछ

वीरेन्द्रराज पाण्डे

नेपाल सरकारका योजना तथा कार्यक्रमहरूको सफल कार्यान्वयनका लागि उत्पादन एवं सेवा मुलक उद्योगहरुको नेतृत्वदायी संस्था नेपाल उद्योग परिसंघले सरकार तथा सरोकार निकायहरुसँग निरन्तर सहकार्य, समन्वय गर्दै आइरहेको छ । परिसंघले समग्र अर्थतन्त्रलाई केन्द्रमा राखेर सोही अनुरुप सरकार एवं नियामक निकायहरुलाई नीतिगत सुझाव दिदै आएको छ भने आफ्ना गतिविधिहरु पनि सोही दिशामा केन्द्रित गर्दै आएको छ ।

यसै क्रममा परिसंघले वार्षिक बजेट निर्माणका क्रममा नेपाल सरकारलाई वस्तुनिष्ठ सुझावहरु प्रदान गर्दै आएको छ । सरकारले परिसंघका सुझावहरुलाई गम्भीर रुपमा मनन् गर्दै बजेट वक्तव्यमा समेट्दै पनि आएको छ । परिसंघका नीतिगत सुझावहरु बजेटमा समेट्नुभएकोमा नेपाल सरकार, सम्पूर्ण तालुक मन्त्रालयप्रति हामी आभारी छौं ।

समग्र अर्थतन्त्रको विकासका लागि सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयन अपरिहार्य छ । सोही अनुरुप बजेट कार्यान्वयनलाई प्रभावकारी बनाई देशको आर्थिक विकासमा रचनात्मक भूमिका निर्वाह गर्ने उद्देश्यका साथ परिसंघले ‘सीएनआई बजेट वाच’ पहल सञ्चालनमा ल्याएको हो । विगत चार आर्थिक वर्षदेखि यस पहललाई हामीले निरन्तरता दिदै आईरहेका छौं ।

बजेटमा निजी क्षेत्रका सुझावहरु समेटिने, बजेट राम्रा आउने तर कार्यान्वयन कमजोर रहने गरेको अनुभव हामी सबैले गर्दै आएका छौं । सोही अनुभवले नै बजेटको सफल कार्यान्वयनका लागि निजी क्षेत्रकोतर्फबाट समेत रचनात्मक भूमिका खेल्नुपर्ने आवश्यकतासहित नेपाल उद्योग परिसंघले बजेटमा गरिएको व्यवस्था कार्यान्वयनका लागि स्पष्ट खाका सहित बजेट वाच पहल सुरु गरेको अवगत गराउन चाहन्छु ।

बजेटको सफल कार्यान्वयनबाट नै पूँजीगत खर्च बढ्ने, बजेटले निर्दिष्ट गरेको लक्ष्य हासिल हुने, नीतिगत सुधार हुँदै समग्र अर्थतन्त्रको विस्तार हुने हुँदा बजेटको सफल कार्यान्वयन अति आवश्यक छ । बजेटको सफल कार्यान्वयनबाट नै अर्थतन्त्र विस्तार हुने हुँदा यो पहल आवश्यक थियो र छ भन्नेमा हामी स्पष्ट पनि छौं ।

बजेट वाचको मुख्य उद्देश्य भनेको नै सरकार, निजी क्षेत्र, विज्ञलगायत सम्पूर्ण सरोकारवालाहरुबीच सघन अन्तरक्रियामार्फत सरकारको वार्षिक बजेट कार्यान्वयनमा देखिएका अवरोधहरुको पहिचान र तिनको समाधानका लागि रचनात्मक योगदान पु¥याउनु हो । विगत वर्षहरुका अनुभवले यो पहल सार्थक बन्दै गईरहेको अनुभव हामीले गरेका छौं ।

गत आर्थिक वर्षको बजेटमा निजी क्षेत्रसँग सम्बन्धित ६३ वटा बुँदा पहिचान गरी कार्यान्वयन गर्ने निकाय एवं सफल कार्यान्वयनका लागि गर्नुपर्ने विषय समेत राखेर सुझाव तयार पारेका थियौं । ६३ वटा बुँदामध्ये १६ वटा बुँदा अर्थात २५.४ प्रतिशत पूर्ण कार्यान्वयनमा आएको पाइएको छ । ३० वटा अर्थात ४७. ६ प्रतिशत बुँदा आंशिक कार्यान्वयन भएको र १७ वटा अर्थात २७ प्रतिशत बुँदामा कुनै प्रगती नभएको तथ्यांक छ । यसले के स्पष्ट देखाएको छ भने बजेट कार्यान्वयनका लागि नेपाल सरकार, मन्त्रालयहरु कठोर बन्नै पर्नेछ ।

गत आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्थाका विषयमा केही बेरमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) बाट प्रस्तुतीकरण हुनेछ ।

परिसंघले अघिल्ला वर्षझैं यसपटक पनि बजेटमा भएका निजी क्षेत्र र आर्थिक समृद्धिसँग सम्बन्धित विभिन्न ७४ वटा बुँदाहरुको प्रभावकारी कार्यान्वयनका लागि चालिनुपर्ने कदमहरुको अध्ययन गर्दै सम्बन्धित निकायहरुको भूमिका, आवश्यक कानूनी सुधार, कुन निकायले के गर्नुपर्छ भन्ने विषय समेत स्पष्ट रुपमा खुलाई बजेट वाचको दस्तावेज तयार गरेका छौं ।

७४ वटा बुँदालाई विभिन्न ७ वटा क्षेत्रमा वर्गिकरण गरी क्षेत्रगत विषयमा छुट्टा छुट्टै संवाद आयोजना गर्नेछौं । यसले चालु आर्थिक वर्ष २०८२÷८३ को बजेटले निर्दिष्ट गरेका लक्ष्यहरू हासिल गर्न सघाउ पुग्ने विश्वास लिएको छु ।

आर्थिक विकासको नेतृत्व निजीक्षेत्रमार्फत हुने गरी सरकारले व्यवसायिक अनुकूलताका नीतिहरु अग्रगामी सोचका साथ अबलम्बन गर्नुपर्ने हाम्रो विश्वास हो । यसका लागि कानुनी तथा नीतिगत सुधारहरु अनिवार्य शर्त हुन् । यसलाई उच्च प्राथमिकतामा राखेर गर्नुपर्ने आवश्यक कानुनी तथा नीतिगत सुधारहरुका सवालमा सरकारलाई सहयोग पुर्याउने उद्देश्यले परिसंघले अध्ययन–अनुसन्धानमा पर्याप्त समय दिएर विभिन्न कानुनी सुधारका दस्तावेजहरु तयार पारि प्रकाशन समेत गरेको विदितै छ । ती सुझावहरुलाई सरकारले अध्यादेशमार्फत गरेका कानुनी सुधारहरुमा समेत समेट्नुले नीतिगत सुधारमा सरकार दृढ छ भन्ने सन्देश दिएको हामीले महसुस गरेका छौं ।

सरकारले समृद्ध नेपाल सुखी नेपालीको अवधारणालाई अगाडि बढाउदै आएको छ । मुलुक हाम्रै पालमा समृद्ध होस् भन्ने आम नेपालीको चाहना रहेको छ । यसका लागि हामीले हाम्रो स्रोत साधनको उच्चतम उपयोग, स्वदेशी एवं विदेशी लगानी आकर्षित गर्दै दीगो आर्थिक विकासमा केन्द्रित हुनुपर्ने आवश्यकता छ । सोही सोचका साथ परिसंघले आगामी एक दशकमा देशको हालको ४४ अर्ब अमेरिकी डलरको अर्थतन्त्रलाई कम्तिमा एक सय अर्ब डलरको पुर्याउन आफूलाई समर्पित गर्ने लक्ष्य राखेको छ । यसका लागि दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्यका साथ कानुनी एवं नीतिगत चुस्तता अनिवार्य छ ।

‘सय अर्ब डलरको अर्थतन्त्र र दोहोरो अंकको आर्थिक वृद्धि’ हाम्रा लागि नयाँ सोच नहुन सक्छ । यो महत्वाकांक्षा परिसंघ स्वयंले आफ्नो स्थापनाकालदेखि नै सरकारलाई प्रदान गर्दै आइरहेको छ । तर यसलाई अब केवल चर्चाको विषयमा सीमित नगरेर परिणाममुखी बनाउन ठोस कार्ययोजनाका अगाडि बढ्न आवश्यक छ । यसका लागि उद्योगीहरुको संस्था नेपाल उद्योग परिसंघ जुनसुकै हिसाबले अगाडि बढ्न प्रतिबद्ध छ ।

सरकारले बजेटको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयगत नियमित रिपोर्टिङ प्रणालीलाई कार्यान्वयनमा ल्याएर त्यसलाई चुस्त बनाउँदै लगेको छ । यी सकारात्मक नतिजाहरुलाई हामीले बजेट वाच पहल र यसअन्तर्गत परिसंघले नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको सहकार्यमा त्रैमासिक रुपमा तयार पार्ने बजेट कार्यान्वयन प्रतिवेदनले सरकारलाई प्रदान गरेका रचनात्मक पृष्ठपोषणको समेत उपलब्धीका रुपमा लिएका छौं । चालु वर्षको बजेट कार्यान्वयनमा अझ उल्लेख्य सुधार भइ सुस्त अर्थतन्त्रमा इन्धन भर्ने र ‘सय अर्ब डलरको अर्थतन्त्र’ को लक्ष्य प्राप्तिका लागि बलियो प्रस्थान विन्दु बन्ने विश्वास लिएको छु ।

बजेट कार्यान्वयनका लागि निजी क्षेत्रकोतर्फबाट जे जस्तो सहकार्य, समन्वय गर्नुपर्छ नेपाल उद्योग परिसंघसँग पूर्ण रुपमा तयार रहेको समेत अवगत गराउन चाहन्छु । बजेटको सफल कार्यान्वयनको सबैभन्दा ठूलो हात विषयगत मन्त्रालयहरुको हो । त्यसैले पनि विषयगत मन्त्रालयका श्रीमान् सचिवज्यूहरुसँग चालु आर्थिक वर्षको बजेटको प्रभावकारी कार्यान्वयनका लागि परिसंघ नजिकबाट समन्वय, सहकार्य गर्न चाहेको पनि अवगत गराउन चाहन्छु ।

हामीले आज चालु आर्थिक वर्षको बजेट वाचको पहिलो र विशेष कार्यक्रम संचालन गरेका छौं । आगामी केही महिना निरन्तर यस्तो कार्यक्रम सञ्चालन गर्नेछौं र सम्बन्धित विषयमा सम्बन्धित मन्त्रालयका श्रीमान् सचिवज्यू, सहसचिवज्यूहरु, विभागिय प्रमुखज्यूहरुसहित विषयविज्ञहरुलाई आमन्त्रण गरी बजेट कार्यान्वयनका विषयमा गहन रुपमा छलफल गर्नेछौं । आगामी दिनमा गरिने कार्यक्रममा श्रीमान् सचिवज्यूहरु, सहसचिवज्यूहरुको सहभागिता एवं मार्गदर्शन हुने विश्वास लिएको छु । बजेट वाच पहलमा परिसंघसँग सहकार्य गर्ने नेपाल आर्थिक पत्रकार समाज (सेजन) लाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

अन्त्यमा, पुनः एक पटक श्रीमान् मुख्यसचिवज्यूसहित श्रीमान् सचिवज्युहरुसहित सबै उच्च सरकारी अधिकारी, उद्योगी व्यवसायी, पत्रकार सबै अतिथिज्यूहरुलाई यो महत्वपूर्ण कार्यक्रममा हार्दिक स्वागत गर्दछु । धन्यवाद ।

(नेपाल उद्योग परिसंघका अध्यक्ष पाण्डेले सीएनआई बजेट वाचमा व्यक्त गर्नुभएको स्वागत मन्तव्यमा आधारित)


समृद्ध नेपाल निर्माणमा युवा उद्यमीको योगदान अपरिहार्यः प्रधानमन्त्री ओली

समृद्ध नेपाल निर्माणमा युवा उद्यमीको योगदान अपरिहार्यः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिम्मत नहार्ने र भविष्यप्रति आशावान युवा उद्यमीहरुले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न योगदान दिने बताउनुुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानद्वारा आयोजित ‘प्रधानमन्त्रीसँग स्टार्टअप उद्यमी’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भविष्यलाई परित्याग गरिएमा कही पनि बाँकी नरहने भएकाले विकसित मुलुकको सुन्दर भविष्यप्रति आशावादी भएर हामी सक्छौँ भन्ने भावका साथ लाग्नुुपर्नेमा जोड दिनुुभयो ।

“हामी सन् २०२६ मा विकसित मुलुुकमा स्तरोन्नती हुँदैछौँ । त्यसपछि विकासित मुलुकमा पुुग्नेछौँ । हाम्रो देश अरुले आएर बनाइदिँदैन । हामीले नै बनाउने हो । प्रविधिको प्रयोग, विकास र अभ्यासका आधारमा हामी आधुनिकीकरण र उत्पादन बृद्धिमा लाग्न सक्नेछौँ ।’’ प्रधानमन्त्री ओलीले भन्नुुभयो, “हामी सबै लागेमा वि क्यान डुु... नेपाल बन्छ ।’’ कार्यक्रममा नेपाली उद्यमीका विविध उत्पादन स्टलको प्रधानमन्त्रीले अवलोकन गर्नुभएको थियो ।