काठमाडौं । नेपालमा एक वर्षमै शङ्कास्पद कारोबार २४ प्रतिशत बृद्धि भएको देखिएको छ । नेपाल राष्ट्र बैङ्कको वित्तीय जानकारी इकाईले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा शङ्कास्पद कारोबार तथा गतिविधि संख्या २४ प्रतिशतले बृद्धि भई सात हजार ३३८ पुगेको छ । अघिल्लो आवमा यस्तो कारोबार संख्या पाँच हजार ९३५ रहेको थियो ।
प्रतिवेदनले नेपालमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी वित्त लगानी निवारण प्रणालीमा थप सुधार तथा निगरानीमा कडाइ गर्नुपर्ने सुझाव पनि दिएको छ ।
शङ्कास्पद कारोबारमा कर छली, मौद्रिक र बैङ्किङ, विदेशी विनिमय, बीमा, सहकारी, ठगी, चिठ्ठा, जुवा तथा सट्टेबाजीसम्बन्धी गतिविधिहरू प्रमुख रूपमा संलग्न देखिएका छन् । प्राप्त शङ्कास्पद कारोबार प्रतिवेदनमध्ये ३५ प्रतिशतले बृद्धि भई विश्लेषणको संख्या एक हजार ६३२ पुगेको छ ।
सोमध्ये ८८९ प्रतिवेदन कानून कार्यान्वयन निकाय तथा नियामक निकायहरूमा अनुसन्धानका लागि पठाइएका छन् । साथै, सम्पत्ति शुद्धीकरण र वित्तीय अपराधका प्रवृत्तिहरूमा हुण्डी, साइबर ठगी, अनलाइन अवैध खेल, अभौतिक सम्पत्ति, कर छली, भ्रष्टाचार, आयात र निर्यातको माध्यमबाट सम्पत्ति शुद्धीकरणका गतिविधिहरू उल्लेखनीय रूपमा देखिएका छन् ।
यस्तै, सीमा कारोबार रिपोर्टिङको संख्या आर्थिक वर्ष २०७९/८० मा १६ लाख ९८ हजार ३९८ रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा १६ लाख ९७ हजार ७१२ कायम भएको छ । प्रतिवेदनअनुसार नेपालमा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ अनुसार रिपोर्टिङ्ग संस्थाहरूको संख्या बृद्धि भई एक हजार ६३९ पुगेको छ ।
हाल नेपाललाई वित्तीय कारबाही कार्यदल एफटिएफले थप अनुगमनको सूचीमा राखेको छ । नेपालले एफटिएफको सूचीबाट बाहिरिनका लागि समयबद्ध सुधारात्मक कार्ययोजना कार्यान्वयन गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।