लघुवित्तले १५ प्रतिशतभन्दा धेरै ब्याज लिए उजुरी गर्नु : राष्ट्र बैंक

काठमाडौँ । अब लघुवित्त वित्तीय संस्थाले दिने कर्जामा १५ प्रतिशतभन्दा धेरै ब्याज लिएमा नियामक निकाय नेपाल राष्ट्र बैंकले कारबाही गर्ने भएको छ ।

राष्ट्र बैंकले मङ्गलबार एक सूचना जारी गर्दै लघुवित्त वित्तीय संस्थाले कर्जामा १५ प्रतिशतभन्दा धेरै ब्याज लिएमा राष्ट्र बैंकमा उजुरी गर्न आग्रह गरेको छ ।

राष्ट्र बैंक वित्तीय समावेशीता तथा ग्राहक संरक्षण महाशाखाले जारी गरिएको सूचनामा भनिएको छ – ‘‘सहकारी संस्था, लघुवित्त वित्तीय संस्था र फाइनान्स कम्पनी फरक फरक संस्था हुन । यी संस्थाले दिने सेवा र ब्याजदर फरक हुन्छन् ।’’

लघुवित्त वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर १५ प्रतिशतभन्दा बढी नहुने व्यवस्था गरिएको भन्दै राष्ट्र बैंकले हाल कुनै पनि लघुवित्त वित्तीय संस्थाको ब्याजदर १५ प्रतिशतभन्दा बढी नभएको स्पष्ट पारेको छ ।

लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशतभन्दा बढी ब्याज लिएको भए राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न सूचनामार्फत आग्रह गरिएको छ ।


SHARE THIS