लघुबीमा निर्देशन जारी, भुक्तानी २१ दिनभित्रै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले विभिन्न प्रकारको लघु जीवन र निर्जीवन बीमा गर्न चाहनेलाई सीमा छुट्याएको छ ।

प्राधिकरणले सोमबार जारी गरेको ‘लघुबीमा निर्देशन, २०७९’ अनुसार लघुनिर्जीवन बीमा तर्फ ५० लाख रुपियाँसम्म र लघुजीवन बीमा तर्फ पाँच लाख रुपियाँ भन्दा कम बीमांक रकमको मात्रै बीमालेख जारी गर्न पाउने व्यवस्था गरिएको हो ।

जारी निर्देशिकाअनुसार लघु जीवन र निर्जीवनले विभिन्न प्रकारका बीमा व्यवसाय गर्न पाउने भएका छन् । जसमध्ये लघु जीवन बीमा व्यवसाय अन्तरगत कम्पनीले चार प्रकारको अर्थात आजीवन लघु जीवन बीमा, सावधिक लघु जीवन बीमा, म्यादी लघु जीवन बीमा र अन्य लघु जीवन बीमा व्यवसाय गर्न पाउने छन् ।

लघु निर्जीवन बीमा गर्ने कम्पनीले पनि विभिन्न पाँच प्रकारका बीमा व्यवसाय गराउन पाउने व्यवस्था गरिएको छ । जसमा घर, सम्पत्ति तथा व्यवसाय लघु बीमा, मोटर लघुबीमा, इन्जिनियरिङ्ग लघु बीमा, दायित्व तथा मौद्रिक क्षति लघु बीमा र अन्य लघु निर्जीवन बीमा रहेका छन् ।

बीमित र कम्पनीबीच द्धिपक्षीय करार भएपछि मात्रै बीमा गरेको मानिने व्यवस्था गरिएको निर्देशिका अनुसार जीवन र निर्जीवन लघु बीमालेखको अवधि छुट्टाछुट्टै छ । जीवन बीमालेखको हकमा एक वर्ष वा सोभन्दा बढी अवधिको र निर्जीवन लघु बीमालेखको हकमा एक वर्ष सा सोभन्दा कम अवधिको लागि मात्र जारी गर्न सकिने छ । साथै, उक्त बीमालेख जारी गर्दा जारी भएको समय र जोखिम शुरु भएको मिति र समय समेत कम्पनीहरुले खुलाउनुपर्ने व्यवस्था निर्देशिकामा छ ।

कम्पनीले बीमितले दिएको दाबीको तत्काल छानबिन गरी तत्काल भुक्तानीको प्रकृया अघि बढाउनुपर्ने व्यवस्था निर्देशिकामा रहेको छ । बीमितले आवश्यक कागजात बुझाएको २१ दिनभित्र कम्पनीले दायित्व एकिन गरी भुक्तानी गर्नुपर्ने व्यवस्था छ । यदि दावी भुक्तानी गर्न नपरेमा स्पष्ट आधार र कारण भने खुलाउनुपर्ने प्राधिकरणले जनाएको छ ।

दाबी भुक्तानी प्रकृयाको लागि बीमितिले विभिन्न प्रकारका आवश्यक कागजातहरु बुझाउनुपर्ने छ । जसमा पूर्ण रुपले भरिएको बीमा दावी फारम, पूर्ण दावीको हकमा बीमालेखको सक्कल प्रति तथा अंशिक दावीको हकमा बीमालेखको छायाँ प्रति, बीमा गरिएको सम्पत्ति क्षति भएको प्रमाण, अपराधिक घटना घटेको भए प्रहरी प्रतिवेदन, सर्भे प्रतिवेदन, सामूहिक जमानी गरिएको कागजात र जीवन बीमाको हकमा नाता प्रमाणित पत्र तथा मृत्यु प्रमाणपत्र रहेका छन् ।


SHARE THIS