कर्मचारी सञ्चय कोष ६३ औँ वर्षमा, अधिकतम प्रतिफल हुने गरी लगानी गर्न आग्रह

काठमाडौँ । राष्ट्र सेवक कर्मचारीहरुको अवकाशपछिको जीवनलाई सुरक्षित बनाउने र उनीहरुको सेवाकालिन आवश्यकता परिपूर्तिमा समेत सहजीकरण गर्दै आएको कर्मचारी सञ्चय कोष आजदेखि ६२ वर्ष पुरा गरी ६३ वर्षमा प्रवेश गरेको छ ।

कोष ६३ औँ वार्षिकोत्सव समारोहमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अधिकतम प्रतिफल हुने गरी लगानी गर्न कर्मचारी सञ्चय कोषलाई आग्रह गर्नुभयो । उहाँले सञ्चयकर्ताको हितका लागि काम गर्न निर्देशन दिनुभयो । औसत रूपमा मात्र कार्य गरेर हँुदैन, उहाँले भन्नुभयो, “हामीले दिएको लगानी कति सदुपयोग भएको छ त्यो हेर्नु पर्छ । अधिकतम प्रतिफल हुने गरे लगानी गर्नु पर्छ ।”

कोषको दायरा अझै विस्तार गर्न उहाँले सुझाव दिनुभयो । सरकार अहिले जीवनचव्रmमा आधारित सामाजिक सुरक्षाको मान्यतामा विश्वास गर्ने भन्दै उहाँले सामाजिक सुरक्षाको प्रबन्धलाई आफ्नो अभिभारा ठानेको बताउनुुभयो ।

कार्यक्रममा कोषका प्रशासक जितेन्द्र धितालले कोषको समग्र अवस्थाको जानकारी गराउँदै कोषलाई सरकारी तथा सार्वजनिक क्षेत्रको सामाजिक सुरक्षा प्रदायक संस्थाको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले सञ्चयकर्ता तथा योगदानकर्ताको योगदान रकमको कुशल व्यवस्थापन तथा परिचालन, प्राप्त प्रतिफलको न्यायोचित वितरण र सेवा प्रवाहमा गुणात्मक सुधार गर्दै सेवाग्राहीकोे हित र सन्तुष्टिप्रति कोष परिवार सदैव क्रियाशील रहि रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कोषले निजामती, जङ्गी र प्रहरी सेवातर्फका कर्मचारीका साथै शिक्षक, सार्वजनिक संस्थान तथा निजी प्रतिष्ठानका कर्मचारीसमेत गरी पाँच लाख ७५ हजारभन्दा बढी नियमित सञ्चयकर्ताको करिब छ खर्ब बराबरको सञ्चय कोष रकम व्यवस्थापन गर्ने जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिरहेको कोषका प्रशासक धितालले बताउनुुभयो ।

निवृत्तभरण कोष ऐन, २०७५ बमोजिम २०७६ साल साउन महिनादेखि नयाँ नियुक्त भएका कर्मचारीको योगदानमा आधारित निवृत्तभरण कोष अन्तर्गत आव २०८०/८१ सम्ममा करिब ८० हजार चार सय योगदानकर्ताको ११ अर्ब २१ करोड रुपियाँभन्दा बढी रकम सञ्चित भएको प्रशासक धितालले जानकारी दिनुुभयो ।

योगदानमा आधारित निवृत्तभरण तथा उपदान योजनामा २० भन्दा बढी सार्वजनिक निकाय आबद्ध भएको बताउँदै उहाँले दायरा विस्तारका लागि थप संस्थालाई यस योजनामा आबद्ध गर्दै लगिने उहाँले जानकारी दिनुभयो ।

आव २०७९/८० को लेखा परीक्षणपश्चात् कायम भएको खुद मुनाफा छ अर्ब पाँच करोडमध्ये चार अर्ब ५० करोड सञ्चयकर्तालाई बाँडफाँट गरी सञ्चयकर्ताको व्यक्तिगत खातामा सुरु मौज्दातको १.१० प्रतिशतका दरले मुनाफा वितरण गरिएको उहाँले जानकारी दिनुुभयो । साथै ७२ करोड २० लाख सामाजिक सुरक्षा सुविधा प्रदान गर्ने प्रयोजनका लागि सञ्चयकर्ता कल्याणकारी कोषमा जम्मा गरिएको प्रशासक धितालले जानकारी दिनुुभयो ।

सञ्चयकर्ताको सेवाकालीन आवश्यकतालाई सम्बोधन गर्न विभिन्न प्रकारका धितोमा आधारित सापटी प्रदान गरिँदै आएकोमा २०८१ असार मसान्तसम्ममा घर सापटी ४१ हजार ६७०, घर मर्मत सापटी दुई हजार ८३१, शैक्षिक सापटी दुई हजार ५७०, सरल सापटी छ हजार १२१ र जग्गा खरिद सापटी ६७३ गरी जम्मा ५३ हजार ८६५ को सङ्ख्यामा सापटी प्रवाह गरिएको उहाँले बताउनुुभयो ।

विशेष सापटीमध्ये करिब ८० प्रतिशत अनलाइन पद्धतिबाट प्रवाह भएको र आगामी वर्ष विशेष सापटी शतप्र्रतिशत अनलाइन पद्धतिबाट गर्ने गरी व्यवस्था मिलाइएको पनि उहाँले बताउनुुभयो ।

अर्थ मन्त्रालयका राजश्व सचिव तथा कोष सञ्चालक समिति अध्यक्ष दिनेश कुमार घिमिरेले कोषको वित्तीय स्रोत परिचालन गर्ने क्षमताको सह्राहना गर्दै कोषको वित्तीय सक्षमताको आधारमा सञ्चयकर्ताहरुलाई अधिकतम लाभ दिन किसिमले काम गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रमका कोषका पूर्व प्रशासकहरु रमेश कुमार भट्टराई र शंशारभक्त श्रेष्ठले कर्मचारी सञ्चय कोषले लगानी विविधिकरणको माध्यमबाट जलविद्युत र सञ्चयकर्ता आवसको क्षेत्रमा गरेको लगानीको प्रशंशा गर्दै थप नयाँ लगानीका क्षेत्र खोज्नुपर्ने आवश्कता औल्याउनुभयो ।

कोषको ६३ औ वार्षिकोत्सवको अवसरमा अन्तर्राष्ट्रिय सामाजिक सुरक्षण संस्था (आइएसएसए) का अध्यक्ष डा. मोहम्मद अजमानले भिडियो सन्देश पठाउँदै सामाजिक सुुरक्षाको क्षेत्रमा कोषले छ दशक देखि पु¥याउँदै आएको योगदानको कदर गर्दै सामाजिक संरक्षणको क्षेत्रमा कोषसँग मिलेर काम गर्न आइएसएसए सदैव तयार रहेको बताउनुभयो ।

कार्यक्रममा कोषको सेवामा १५ वर्ष अवधि पुरा गर्ने १४ जना कर्मचारीहरुलाई दीर्घ सेवापदक वितरण गरिएको थियो । साथै  विभिन्न अतिरिक्त क्रियाकलापका विजेता कर्मचारीहरुलाई पदक तथा पुरष्कार वितरण गरियो । उक्त कार्यक्रममा २०८० सालको एसईई परिक्षामा सफल भएका कोषका कर्मचारीका छोरा÷छोरीलाई पुरष्कृत गरिएको थियो ।

कोषले निजामती, जंगी र प्रहरी सेवातर्फका कर्मचारीहरुका साथै शिक्षक, सार्वजनिक संस्थान तथा निजी प्रतिष्ठानका कर्मचारीहरु समेत गरी पाँच लाख ७५ हजार भन्दा बढी सञ्चयकर्ताको करिब छ खर्ब बराबरको रकम व्यवस्थापन गर्ने जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिरहेको छ । स्थापना कालदेखि सञ्चय कोषको मात्र व्यवस्थापन गर्दै आएको कर्मचारी सञ्चय कोषले २०७६ साल यता निवृत्तभरण कोष ऐन, २०७५ बमोजिम योगदानमा आधारित निवृत्तभरण कोषको समेत व्यवस्थापन गर्दै आइरहेको छ ।

कोषले योगदानकर्ताहरुको सेवाकालिन आवश्यकता पुरा गर्न विशेष सापटी, घर सापटी, शैक्षिक सापटी जस्ता ६ किसिमका सापटी सुविधाहरुलाई सहुलियत दरमा प्रदान गर्दै आएको छ । सामाजिक सुरक्षा सुविधा तर्फ प्रसुती तथा शिशु स्याहार, काजक्रिया अनुदान, दुर्घटना क्षतिपूर्ति योजना तथा सञ्चयकर्ता तथा निजको श्रीमान वा श्रीमतीको लागि औषधोपचार सुविधा लगायत ४ किसिमका सुविधाहरु सञ्चयकर्ताहरुलाई निःशुल्क रुपमा प्रवाह गर्दै आइरहेको छ ।

कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताहरुबाट संकलन गरिएको दीर्घकालीन रकमलाई सुरक्षित, प्रतिफलयुक्त एवम् दिगो लगानी गरी प्राप्त प्रतिफलको न्यायोचित वितरणबाट सञ्चयकर्तालाई सन्तुष्टि दिने मूल उद्देश्य राखी लगानी व्यवस्थापन गर्दै आइरहेको छ । कोषको संकलित स्रोत मध्ये करिब ९७ प्रतिशत अर्थात पाँच खर्ब ५१ अर्ब रकम विभिन्न क्षेत्रमा लगानी गरिएको छ । कोषले विभिन्न क्षेत्रको लगानीवाट प्राप्त प्रतिफललाई सञ्चयकर्ताको हितमा लगाउदै आएकोमा आर्थिक वर्ष २०७९÷८० मा प्राप्त प्रतिफलवाट सञ्चयकर्ताको जम्मा भएको कोष रकममा १.१० प्रतिशतका दरले मुनाफा वितरण गरिएको छ ।

कोषको दीर्घकालीन वित्तीय स्रोतलाई आवास, विद्युत विकास तथा पूर्वाधार क्षेत्रका ठूला एवम् वित्तीय रुपले सम्भाव्य परियोजनाहरुमा लगानी गर्ने नीतिलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।


SHARE THIS