काठमाडौं । लेखापरीक्षण गर्ने कम्पनीको प्रस्ताव अस्वीकृत भएपछि विदेशी अडिटरबाट नेपालका १० ठूला बैंकको लेखापरीक्षण गराउने कार्य रद्द गरिएको छ ।
नेपाल राष्ट्र बैंकले विदेशी अडिटरबाट १० ठूला बैंकको लेखापरीक्षण गराउने कार्य रद्द गरेको हो । राष्ट्र बैंकले शुक्रबार जारी गरेको सूचनामा लेखापरीक्षण गर्न छनोट भएको भारतीय कम्पनी केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेज प्रालिको प्रस्ताव अस्वीकृत भएसँगै लेखापरीक्षण कार्य रद्द भएको हो ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को शर्त बमोजिम विदेशी अडिटरबाट धेरै कर्जा प्रवाह गरेका नेपालका १० ठूला बैंकहरुको लेखापरीक्षण गर्न लागिएको थियो । आईएमएफले विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गत ३९५ मिलियन डलर प्रदान गर्नका लागि मार्च २०२३ मा उक्त शर्त राखेको थियो ।
गत चैतमा माग गरेको आसयपत्र अनुसार पाँच कम्पनी सर्टलिस्टमा परी प्राविधिक प्रस्ताव माग भएको थियो । ती मध्ये भारतको केपीएमजी योग्य देखिए पनि उसको आर्थिक प्रस्ताव अस्वीकृत भएको हो । केपीएमजीको प्रस्ताव अस्विकृत भएसँगै लेखापरीक्षण कार्य रद्द भएको राष्ट्र बैंकले जनाएको छ ।
आईएमएफले नेपालका बैंकहरुको खराब कर्जा वास्तविक नभएको, धितो मूल्याङ्कनसम्बन्धी विधि प्रभावकारी नभएको, वित्तीय अनुशासन नभएको लगायतका बिषयहरु उठाएर विदेशी अडिटरबाट लेखापरीक्षण गर्न आग्रह गरेको थियो ।
आईएमएफले नेपालका बैंकहरुको खराब कर्जा वास्तविक नभएको, धितो मूल्याङ्कनसम्बन्धी विधि प्रभावकारी भएको, वित्तीय अनुशासन नभएको लगायतका प्रश्न उठाएपछि अर्थमन्त्री र गभर्नरले विदेशी स्वतन्त्र लेखापरीक्षकबाट १० ठूला बैंकको लेखापरीक्षण सुरु गर्ने प्रतिबद्धता गरेका थिए ।
कर्जा र धितो मूल्याङ्कनलाई विशेष प्राथमिकता दिँदै इभरग्रिनिङ, सामूहिक ऋण र जोखिमको विषयमा लेखापरीक्षण गर्ने अर्थमन्त्री र गभर्नरको प्रतिबद्धता थियो ।