३६ औँ एसिक सम्मेलन काठमाडौँमा शुरु, नवप्रवर्तन र आर्थिक उत्थानमा भूमिका खेल्न अर्थमन्त्रीको आह्वान

काठमाडौं । एसियाली देशका सुरक्षण संस्थाहरु (एसिक)को ३६ औँ अन्तरराष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु भएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोषले आयोजना गरेको उक्त सम्मेलनको शुक्रबार साँझ उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्नुभएको हो ।

मन्त्री पौडेलले अर्थतन्त्रको विकास र विस्तारको लागि कर्जा प्रवाह हुन आवश्यक रहेकोे बताउनुभयो । उहाँले निक्षप तथा कर्जा सुरक्षण कोषको कारण नवप्रवर्तन र स्टार्टअप कर्जालाई सहज भएको बताउनुभयो । “नवप्रवर्तन र स्टार्टअप कर्जाको प्रवद्र्धनको लागि निक्षेप तथा कर्जा सुरक्षण कोषले महत्वपूर्ण भूमिका खेलेको छ” उहाँले भन्नुभयो । उहाँले सर्वसाधरणको निक्षेपको सुरक्षणको लागि कोषले प्रभावकारी भूमिका खेलेको समेत उल्लेख गर्नुभयो ।

उहाँले अन्वेषणमार्फत नवप्रवर्तनमा जोड दिने उद्देश्यका साथ सम्मेलनको आयोजना भएको भन्दै खुशी व्यक्त गर्नुभयो । मन्त्री पौडेलले अन्तरनिकाय सूचना आदान प्रदान गर्न एवम् साना व्यवसायीलाई वित्तीय पहूँच पु¥याउन कोषले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

‘बचतकर्ताको मनोबल बढाउन सुरक्षण बिना सम्भव हुँदैन’, उहाँले भन्नुभयो, ‘कर्जा सुरक्षण कोषले पर्याप्त धितो राख्न नसक्नेलाई पनि कर्जा लिन प्रोत्साहन गरिरहेको छ । यसले अर्थतन्त्रलाई सहज बनाउन भूमिका खेलेको छ ।’

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘कुनै बैंकमा समस्या आइहाल्यो भने पनि त्यसमाथि हस्तक्षेप गरेर परिस्थिति नियन्त्रणमा लिनसक्ने गरी निक्षेप बीमा योजनालाई परिस्कृत गर्न आवश्यक भएको’ औंल्याउनुभयो ।

उहाँले निक्षेपकर्ताको सुरक्षण गर्ने हैसियत कोषले राख्नुपर्ने बताउनुभयो । साथै, पछिल्लो समय कोषको क्षमता बढ्दै गएको बताउनुभयो । उहाँले एसियाली मुलुकका साना नवप्रवर्तनकारी सस्थाहरुका लागि इननोभेसनलाई आधार मानेर प्रवाह हुने कर्जाको महत्व निकै उच्च रहेको बताउनुभयो ।

निजी क्षेत्रको कर्जा प्रवाहमा सहजिकरण गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषले ठूलो सहयोग पुगेको उहाँले बताउनुभयो । पछिल्ला अन्तरराष्ट्रिय वित्तीय संकटहरुका बेलामा समेत नेपालको बैंकिङ प्रणाली सबल हुनुलाई यहाँको निक्षेप तथा कर्जा सुरक्षणको नीतिले ठूलो सहायता पु¥याएको थियो ।

गभर्नर अधिकारीले नेपालमा केन्द्रिय बैंकले लामो समयदेखि लघुवित्त कार्यक्रमलाई प्राथमिकतासाथ अघि बढाएको र यसले सामाजिक न्याय तथा वित्तीय पहूँच विस्तार गर्न उल्लेख्य सहयोग पुगेको स्मरण गर्नुभयो । उक्त कार्यक्रमको प्रभावकारीतामा निक्षेप तथा कर्जा सुरक्षण कोषको भूमिकाको उहाँले प्रशंसा गर्नुभयो । “पछिल्लो समय कोषको क्षमता बढ्दै गएको छ” उहाँले भने, “आगामी दिनमा कोषको क्षमता अझै बढ्दै जान्छ भन्ने मलाई विश्वास छ ।”

निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद घिमिरेले कोषले हालसम्म १४ खर्ब ३० अर्ब रुपियाँ बराबरको निक्षेप र दुई खर्ब ९६ अर्ब रुपियाँ बराबरको कर्जा सुरक्षण गरेको जानकारी दिनुभयो । उहाँले सम्मेलनले नवप्रवर्तनमा जोड दिएको बताउनुभयो । “आफ्नो नयाँ सोचलाई पनि धितोमा राखेर कर्जा प्रवाह गर्न सकिन्छ भन्ने सन्देश यो सम्मेलनमार्फत दिनेछौं” उहाँले भन्नुभयो ।

कोषको निक्षेप सुरक्षण विभाग प्रमुख विक्रान्त आचार्यले सम्मेलनमा आर्थिक बृद्धिलाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने बारेका छलफलफल गर्ने बताउनुभयो । उहाँले सम्मेलनमा २० वटा एसियाली मुलुक तथा संस्थाबाट करिब १४० जना सहभागी हुँदै छन् । सम्मेलनको औपचारिक शत्रहरु श्निबारबाट सुरु हुने छ । चार दिनसम्म चल्ने उक्त सम्मेलन आगामी सोमबार सकिने छ ।


SHARE THIS