काठमाडौँ । सेयर बजारले फेरी २६ सयको विन्दु पार गरेको छ । लगातार ओरालो लागेर चौबिस सयको विन्दुमा आएको सेयर बजार मङ्गलबार उच्च अंकले सुधारिएको हो । साताको तेस्रो दिन सेयर बजार मापक नेप्से परिसूचक ११४.७० अङ्कले उकालो लागेको छ भने कारोबार रकम पनि साढे सात अर्बमाथि लागेको छ ।
लगातार ओरालो लागिरहेको परिसूचक र खुम्चिँदै गएको कारोबार रकमले निराश बनेका लगानीकर्तामा मङ्गलबार उत्साह छाएको छ । कुनै बेला सेयर बजार उकालो लाग्ने क्रममा तीन हजारको विन्दुमा पुगेको बजार एकाएक २४ सयको विन्दुमा झरेको थियो ।
मङ्गलबार नेप्से ११४.७० अङ्कले उकालो लागेर २६२३.५६ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि १९.४६ अङ्कले उकालो लागेर ४७०.८१ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा साताको तेस्रो दिनको नेप्से ४.५७ प्रतिशतले उकालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स ४.३१ प्रतिशतले उकालो लागेको छ ।
मङ्गलबार ३०७ कम्पनीको एक करोड ७५ लाख सात हजार ५५५ कित्ता सेयर ९६ हजार ९०६ पटक खरिदबिव्रmी हुँदा सात अर्ब ६१ करोड ६५ लाख २२ हजार २५८ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा तीन अर्ब ९० करोड रुपियाँले बढी हो ।
मङ्गलबार २८ करोड ८२ लाख ८३ हजार ९५६ रुपियाँ बराबरको सेयर कारोबार भएर एनएलजी इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ ।
मङ्गलबार कारोबारमा आएका १३ उपसमूहकै परिसूचक उकालो लागेको छ । फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक ९.७४ प्रतिशतले उकालो लागेको छ । लगानी उपसमूहको परिसूचक ६.१० प्रतिशत, जलविद्युत ५.९८ प्रतिशत, होटल तथा पर्यटन ५.९७ प्रतिशत, विकास बैंक ५.४८ प्रतिशत, अन्य ४.६७ प्रतिशत, जीवन बीमा ४.१२ प्रतिशतले उकालो लागेको छ ।