“हिमालयन बैंक लिमिटेड” को नामबाट हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार शुरु

काठमाडौँ । मर्जरका लागि सम्पूर्ण प्रक्रिया पुरा गरेका हिमालयन बैंक लिमिटेडले सिभिल बैंकको शुक्रबारदेखि एकीकृत कारोबार शुरु भएको छ । सन् १९९३ मा स्थापना भएको हिमालयन बैंक नेपाली व्यवसायी प्रवद्र्धक भएर खुलेको पहिलो निजी क्षेत्रको बैंक हो ।

दुबै बैंकको मर्जरपश्चात् शुक्रबारदेखि एकीकृत कारोबार सुरु भएको हो । शुक्रबार बिहान हिमालयन बैंकका अध्यक्ष प्रचण्ड श्रेष्ठले केन्द्रीय कार्यालय कमलादीमा पूजा गरेर एकीकृत कारोबार सुरु गर्नुभएको हो ।

दुबै बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपश्चात बन्ने संस्थामा सर्ने गरी दुबै संस्थाबाट सञ्चालनहुँदै आएको सम्पूर्ण वित्तीय कारोबार एकीकृत कारोबार शुक्रबारदेखि “हिमालयन बैंक लिमिटेड” को नामबाट भएको ।

हिमालयनले सिभिल बैंकलाई १००ः८०.२८ को स्वाप रेसियोमा प्राप्ति गरेको हो । सिभिल बैंकका सेयरधनीले एक सय कित्ता सेयर बराबर हिमालयन बैंकको ८० दशमलव २८ कित्ता सेयर प्राप्त गर्नेछन् । हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले हिमालयन बैंक अब देशकै उत्कृष्ट बैंक बन्ने बताउनुभयो । हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार सुरु भएको अवसरमा सो कुरा बताउनुभएको हो । छ करोड रुपियाँबाट सुरु भएको बैंक हाल १४ अर्ब रुपियाँ पुँजीको बैंक बनेको उहाँले बताउनुभयो । आफ्नै कसरतमा ठूलो बनेको बैंक अब सिभिल बैंकलाई प्राप्ति गरेपछि उत्कृृष्ट बैंक बन्ने उहाँले दाबी गर्नुभयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक राणाले नौ महिनाको प्रयासपछि सिभिल बैंकलाई प्राप्ति गर्न सफल बनेको बताउनुभयो । हिमालयन बैंक आफँैमा ठूलो भएको जनाउँदै उहाँले राष्ट्र बैंकको नीतिलाई साथ दिनमात्रै सिभिल बैंकलाई प्राप्ति गरिएको बताउनुभयो ।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि बैंकको चुक्तापुँजी ३४ अर्ब रुपियाँ पुगेकोे छ । पुँजीका आधारमा हिमालय बैंक छैटाँै ठूलो बैंक हो । यस्तै बैंकको दुई खर्ब ७४ अर्ब रुपियाँ निक्षेप, दुई खर्ब ५० अर्ब रुपियाँ कर्जा रहेको बैंकले जनाएको छ । सिभिल प्राप्तिसँगै हिमालयन बैंकको कूल शाखा एक सय ८९ पुगेको छ ।

हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्षमा श्रेष्ठ, फैशल एन लाल्टिन, सुनिलबहादुर थापा, जीतेन्द्र धिताल, आशिष शर्मा, विजयबहादुर श्रेष्ठ र राधाकृष्ण पोटे सञ्चालक रहनुभएको छ । यस्तै बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा हिमालयन बैंकका राणा रहनुभएको छ ।


SHARE THIS