नेप्से परिसूचकमा ५६ अंकको सुधार, कारोबार रकम पनि दुई अर्बमाथि

काठमाडौँ / उकालो बाटोमा लागेको सेयर बजार चौंथो कारोबार दिनमा पनि उछालिएको छ । नेप्से परिसूचक निरन्तर चौंथो कारोबार दिन उकालो लागेर बन्द भएको छ । साताको पहिलो कारोबार दिनदेखि उकालो लागेको नेप्से चौंथो दिनसम्म पनि सोही गतिलाई निरन्तरता दिँदा चार दिनमा १३१ अंकले बढेको हो ।

उकालो लागिरहेको सेयर बजारले २४ सय अंक पछ्याएको छ । लगातार ओरालो लाग्ने क्रममा २२ सयको विन्दुमा पुगेको बजार चार दिनको सुधारले २४ सय विन्दु नजिक पुगेको हो ।

बुधबार सेयर बजारमापक नेप्से परिसूचक ५६.०६ अंकले उकालो लागेर २३६९.०६ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ९.५२ अंकले उकालो लागेर ४५६.६६ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा चौंथो दिनको नेप्से २.४२ प्रतिशत र सेन्सेटिभ इन्डेक्स २.१३ प्रतिशतले उकालो लागेको हो ।

मङ्गलबार सेयर बजारमापक नेप्से परिसूचक ४४.१६ अंकले उकालो लागेर २३१३ को विन्दुमा पुगेर रोकिएको थियो । सेन्सेटिभ इन्डेक्स पनि ७.६७ अंकले उकालो लागेको थियो । समग्रमा तेस्रो दिनको नेप्से १.९५ प्रतिशत र सेन्सेटिभ इन्डेक्स १.७५ प्रतिशतले उकालो लागेको थियो ।

बुधबार दिनभर २२९ कम्पनीहरुको ५३ लाख ३३ हजार १०९ कित्ता सेयर ३७ हजार ७७० पटक खरिदबिक्री हुँदा दुई अर्ब १६ करोड ३९ लाख ९० हजार ७४३ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार रकम पनि केही दिन यताकै बढी हो ।

मङ्गलबार दिनभर २२६ कम्पनीहरुको ३३ लाख ३० हजार १५० कित्ता सेयर २६ हजार ५६५ पटक खरिदबिक्री हुँदा एक अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४६९ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।

बुधबार १० करोड ५९ लाख रुपियाँ बराबरको सेयर खरिदबिक्री भएर कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा पुगेको छ । त्यसैगरी, ङादी ग्रुप पावरको आठ करोड ७३ लाख रुपियाँ बराबरको सेयर कारोबार भएको छ भने राधी विद्युत कम्पनीको सात करोड ६२ लाख रुपियाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

चौंथो दिन नौ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनी, नेपाल फाइनान्स, सिनर्जी पावर, राधी विद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी, जाल्पा लघुवित्त, गणपति लघुवित्त र बरुण हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । बुधबार सात कम्पनीको मूल्य मात्रै ओरालो लागेको छ । जसमा अधिकांश ऋणपत्र र म्युचुअल फण्ड रहेका छन् ।

बुधबार कारोबारमा आएका कुल १३ उपसमूहमध्ये सबैको सूचक उकालो लागेको छ । हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै ४.९७ प्रतिशतले बढेको छ भने फाइनान्स उपसमूहको ४.३५ प्रतिशत, विकास बैंकको ३.७५ प्रतिशत र माइक्रोफाइनान्स ३.२६ प्रतिशतले उकालो लागेको छ । अन्य उपसमूहका सूचकहरु पनि उकालो लागेका छन् ।


SHARE THIS