आर्थिक विकासमा महिलाको सहभागिताले असमानताको अवशेषलाई हटाउनुपर्ने

काठमाडौँ । नबिल बैङ्कले काठमाडौँमा ‘वुमन इन मोसन–एक्सिलेरेट एक्सन’ कार्यक्रम सम्पन्न गरेको छ । महिला सशक्तीकरण, क्षमता अभिबृद्धि, समावेशिता, लैङ्गिक समानता तथा सचेतना अभिबृद्धि गर्ने उद्देश्यका साथ नबिल बैङ्कले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमको उद्घाटन बैङ्कको स्वतन्त्र निर्देशक सरिता भट्ट अधिकारीले गर्नुभएको थियो ।

बैङ्कका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले महिलाहरुको सशक्तीकरण, क्षमता अभिबृद्धि र अवसर प्रदानका लागि बैङ्क प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले बैङ्किङ क्षेत्रमा महिलाहरुका लागि केही अप्ठ्याराहरु भए पनि त्यसलाई समाधान गर्दै अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।

“हामी लैंगिक समानता कायम गर्न प्रतिबद्ध छौँ, लैंगिक समावेशिता कायम भयो भने सबै क्षेत्रमा सकारात्मक प्रभाव पर्छ”, अध्यक्ष पौडेलले भन्नुभयो । पौडेलले विश्वको इतिहास हेर्दा पनि महिलालाई पुरुषको तुलनामा कम पारिश्रमिक दिने गरेको उल्लेख गर्दै पछिल्लो समय भने यो परिवर्तन भइरहेको बताउनुभयो । “अहिले पनि कार्यस्थलहरुमा महिलाविरुद्ध हिंसाका घटना भइरहेका छन्, केही चुनौती पनि छन्, यी समस्याहरु नेपालले पहिचान गरी समाधानको बाटोमा अघि बढिसकेको छ”, उहाँले भन्नुभयो, “नबिल बैंक पनि महिलाहरुलाई उच्च नेतृत्वमा ल्याउन र निर्णायक भूमिका दिन र अवसर सृजना गर्ने विषयमा सकारात्मक छ ।” उहाँले आर्थिक विकासमा महिलाको सहभागिताको महत्वलाई बुझ्दै समाजमा लामो समयदेखि रहेको असमानताको अवशेषलाई हटाउनुपर्नेमा जोड दिनुभयो ।

त्यस अवसरमा नबिल बैङ्कका कायममुकायम प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बैङ्किङ क्षेत्रमा महिलाहरुको नेतृत्व बढाउन जरुरी रहेकामा जोड दिनुभयो । उहाँले बैङ्किङ क्षेत्रको नेतृत्वमा अझै पनि महिलाहरुको प्रतिनिधित्व कम भएको उल्लेख गर्दै यसप्रकारका कार्यक्रमले महिला सहभागिता बढाउन र उत्प्रेणाका लागि महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गनुभयो ।

ज्ञवालीले भन्नुभयो, “बैङ्किङ क्षेत्रको व्यवस्थापकीय नेतृत्वमा महिलाहरुको सहभागिता बढाउन जरुरी छ, महिलाहरुको सोच्ने तरिका पुरुषको तुलनामा फरक हुन्छ, उहाँहरु काममा बढी केन्द्रित हुनुका साथै तथ्यपरक समेत गरेको मैले पाएको छु ।” सुशासनको क्षेत्रमा पनि पुरुषको तुलनामा महिलाहरु बढी सक्षम भएको उल्लेख गर्दै ज्ञवालीले बैंकबाट खराब काम गरी निष्कासित हुनेमा महिलाको संख्या नगन्य भएको बताए । कर्मचारीमा महिलाको संख्या उल्लेख्य रुपमा कायम गर्न नबिल बैंक सक्षम भएको उहाँको भनाइ थियो ।

“महिलालाई पुरुषसँगै हिँड््‌न सजिलो छैन, उहाँहरु घरदेखि कार्यालयको काममा व्यस्त हुनुपर्ने र विभिन्न जिम्मेवारीका कारण बीचबाटोमै अल्झनुपर्ने समस्या पनि छ”, उहाँले भन्नुभयोे, “त्यसैले पनि हरेक जसो क्षेत्रमा महिलाहरुको अपेक्षाकृत प्रतिनिधित्व हुन सकेको छैन, त्यसैले समावेशी कार्यस्थल निर्माणका लागि महिलाको सहभागिता बढाउन जरुरी छ ।” आफूहरुले महिलाको कुरा गर्ने भन्दा पनि लैंगिक समानतामा जोड दिएको आएको उहाँको भनाई थियो ।

कार्यक्रमकी प्रमुख अतिथि तथा नेपाल सुपर लिगकी अध्यक्ष आश्रयता कार्की चौधरीले नबिल बैङ्कले आयोजना गरेको कार्यक्रम लैंगिक समानता कायमको लक्ष्यप्राप्तिमा महत्वपूर्ण पहल भएको बताउनुभयो । “नबिल बैङ्कले महिलाको सशक्तीकरणमा लगानी गरी कार्यस्थल समावेशी बनाउनेदेखि मुलुकको बृहत आर्थिक विकासमा समेत ठूलो सहयोग गरेको छ”, उहाँले भन्नुभयो, “नबिललाई आजका दिनसम्म ल्याउनमा महिलाहरुको ठूलो भूमिका भएको मैले पाएकी छु ।”

महिलाहरुको सशक्तीकरणमा पुरुषहरुको भूमिका महत्वपूर्ण हुने बताउँदै उहाँले आफ्नो घर, कार्यस्थल तथा समाजमा महिलाहरुको साथ दिन सबैलाई आग्रह गर्नुभयो । “महिलाहरूका लागि खेलकुद, बैङ्किङ वा कुनै पनि क्षेत्रमा दिगो भविष्य निर्माण गर्न केबल अवसर मात्र पर्याप्त हुँदैन, यसका लागि संस्कृतिमा पनि परिवर्तन आवश्यक छ, हामीले साना उमेरदेखि नै किशोरीहरूमा लगानी गर्नुपर्छ, तिनीहरूलाई बिना डर संकोच आफ्नो रहरहरु पछ्याउन प्रोत्साहित गर्नुपर्छ”, उहाँले भन्नुभयो  । महिलाहरुको सहभागिताले सीप र विज्ञताका साथै नयाँ दृष्टिकोण, सोच र सहकार्य पनि ठूलो प्रभाव पार्ने उहाँको भनाई थियो । उहाँले पुरुषहरुको बाहुल्य रहेको समाजमा एक्लै हिँड्न नसकिने भन्दै लक्ष्य प्राप्तिका लागि सञ्जाल निर्माण र सहकार्य जरुरी भएको बताउनुभयो ।

कार्यक्रममा ‘द सि–सिफ्‌टः नेभिगेटिङ ब्यारियर्स एण्ड क्याटलाइजिङ लिडरसीप’ शीर्षकको समूहगत छलफलका क्रममा वक्ताहरुले महिलाहरुले पनि विभिन्न क्षेत्रको नेतृत्व लिन सक्ने र त्यसका लागि योग्य भएकामा जोड दिएका थिए । छलफलका क्रममा  पर्यावरण अभियन्ता सिलसिला आचार्य, रोजी कट्टेल र डा. रामजी रामले महिलाको सहभागिता, सशक्तीकरण र अवसर सृजनालगायतका क्षेत्रमा धारणा राखेका थिए भने कान्तिपुरका वरिष्ठ उप–सम्पादक यज्ञ बन्जाडे मध्यस्थकर्ताको भूमिकामा थिए । कार्यक्रममा नबिलका उच्च पदाधिकारीहरुका साथ दुई सयभन्दा बढी महिला तथा पुरुष कर्मचारीहरुको सहभागिता थियो ।

नबिल बैङ्कले यसबाहेक पनि महिलाका विषयलाई केन्द्रित गरी मार्च महिनाभर विभिन्न  कार्यक्रम आयोजना गरिसकेको छ । बैङ्कले लैंगिक समानता प्रवद्र्धन, महिला सशक्तीकरण, जनचेनता अभिबृद्धि, व्यक्तिगत क्षमता अभिबृद्धि र सहयोगी समुदाय निर्माणको उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरेको जनाएको छ ।

बैङ्कले आयोजना गरेको मार्च इन टु वेलनेस कार्यक्रमबाट काठमाडौँ उपत्यका र बाहिरका गरी ३५ महिला कर्मचारी लाभान्वित भएका थिए भने वेलविइङ अफ वुमन सेसनमार्फत उपत्यकामा कार्यरत १०० महिला कर्मचारीले लाभ लिएका थिए । बैङ्कले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा देशव्यापी बृहत्त र्‍याली आयोजना गरेको थियो । जसमा नबिल बैङ्कका मुलुकभर रहेको विभिन्न शाखामा कार्यरत एक हजार २०० सयभन्दा बढी कर्मचारीको सहभागिता थियो ।

बैङ्कले कार्यस्थलमा हुने हिंसाजन्य गतिविधि र रोकथामका उपायका सम्बन्धमा कोशी प्रदेशमा ६८ जना महिला कर्मचारी सम्मिलित कार्यक्रम आयोजना गरेको थियो । साथै मधेस प्रदेशमा सुरक्षित र मर्यादित कार्यस्थल शीर्षकको कार्यक्रम आयोजना गरी ५० जना कर्मचारीलाई अभिबृद्धि गरेको थियो । साथै नबिलले बैङ्कमा कार्यरत सबै कर्मचारीलाई लक्षित गरी रजस्वलाको विषय र चुनौतीका सम्बन्धमा कार्यक्रम आयोजना गरेको थियो ।


SHARE THIS