काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चुडामणि चापागाईं नियुक्त हुनुभएको छ । सोमबारको मन्त्रिपरिषद बैठकले चापागाईंलाई नेप्से सीईओमा नियुक्त गरेको हो ।
नेप्सेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईँले मङ्गलबार नियुक्ति पत्र बुझ्नु भएको छ । राजस्व सचिव दिनेशकुमार घिमिरेले उहाँलाई नियुक्ति पत्र प्रदान गर्नु भएको हो ।
लामो समय सानिमा बैंकमा आबद्ध रहेर काम गरे चापागाईं हाल सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका डेपुटी जनरल म्यानेजर रहनुभएको थियो । त्यसअघि उहाँ पाथिभरा विकास बैंक, सनराईज बैंक, युनियन लाइफ र सानिमा लाइफ हुँदै सानिमा रिलायन्स लाइफमा आवद्ध हुनुभएको थियोए ।
यसअघि नियुक्त नेप्से सीईओ नारदकुमार लुइँटेल विवादमा तानिएपछि सरकारले नयाँ प्रमुख कार्यकारी नियुक्त गरेको हो ।
यसअघिको मन्त्रिपरिषदको बैठकमा अर्का प्रतिस्पर्धी नारदकुमार लुइँटेललाई बनाउने निर्णय भएपनि ‘माइन्युट’ हुनुअघि प्राप्त सुचनाको आधारमा सरकारले निर्णय उल्ट्याएको हो छ ।
सीईओ छनोटका लागि अन्तिम पाँच जना उम्मेदवारको सूचिमा चुडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल र हेमन्त बस्यालको नाम परेको थियो ।
तत्कालीन सीईओ कृष्णबहादुर कार्कीको पदावधि सकिएपछि गत माघ २५ देखि नेप्से सीईओ बिहीन रहेको थियो ।