सेयर बजारमा भारी अंकको गिरावट, कारोबार २४ अर्ब नजिक

काठमाडौँ । फेरी सक्रिय भएको मनसुनले बाढी पहिरोका घटना बढिरहेका बेला सेयर बजारमा पनि एकाएक पहिरो गएको छ । पछिल्लो समय निरन्तर उकालो लागिरहेको सेयर बजारमा मङ्गलबार भारी गिरावट आएको छ ।

निरन्तर उकालो लाग्ने क्रममा २८ सयको विन्दु नजिक पुगेको बजार एकाएक १४५ अंकले ओरालो लागेर साढे २६ सयमा झरेको छ ।

बजारमा अल्पकालिन लगानीकता हावी हुँदा मङ्गलबार उच्च अंकको गिरावट आएको हो । परिसूचकमा भारी गिरावट आएपनि कारोबार रकम उच्च विन्दुमा पुगेको हो ।

छोटो समयमा मज्जाले बढेको बजारबाट लगानीकर्ताले प्रोफिट बुक गर्दा मंगलबार नेप्से सूचक प्रभावित भएको छ । सूचकमा भारी गिरावट आउँदा कारोबार रकमले भने नयाँ कीर्तिमान कायम गरेको छ ।

पाँच प्रतिशतको गिरावट

मङ्गलबार सेयर बजार मापक नेप्से परिसूचक १४५.०५ अङ्कले ओरालो लागेर २६५१.३२ को विन्दुमा झरेको छ । सेन्सेटिभ इन्डेक्स पनि २७.२२ अङ्कले ओरालो लागेर ४६४.५६ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा साताको तेस्रो दिनको नेप्से ५.१८ प्रतिशतले ओरालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स ५.५३ प्रतिशतले ओरालो लागेको छ ।

अघिल्लो दिन सेयर बजार २८ सयको विन्दु नजिक पुगेको थियो । नेप्से परिसूचक ४० अंकले  उकालो लागेको थियो भने कारोबार रकम पनि २२ अर्ब नजिक पुगेको थियो । सोमबार नेप्से ४०.७६ अङ्कले उकालो लागेर २७९६.३८ को विन्दुमा पुगेर रोकिएको थियो ।

चौबिस अर्ब पछ्याउँदै कारोबार

परिसूचकमा भारी गिरावट आइरहँदा कारोबार रकमले भने चौविस अर्ब पछ्याएको छ । मङ्गलबार ३२२ कम्पनीको पाँच करोड ३८ लाख ४४ हजार २३७ कित्ता सेयर दुई लाख ७१ हजार ५८७ पटक खरिद बिव्रmी हुँदा २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८७४ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब ८५ करोड रुपियाँले बढी हो ।

हिमालयन रिको अग्रता

मङ्गलबार पनि हिमालयन रिइन्स्योरेन्स लिमिटेडको अग्रता कायम रहेको छ । तेस्रो दिन एक अर्ब ३९ करोड ७८ लाख ८० हजार ३८३ रुपियाँ बराबरको सेयर कारोबार भएर हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सर्वाधिक कारोबार भएको छ । पछिल्ला केही दिनयता हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भइरहेको छ ।

सबै परिसूचक ओरालो

मङ्गलबार कारोबारमा आएका १३ वटै परिसूचक ओरालो लागेका छन् । साताको तेस्रो दिन फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक ८.२७ प्रतिशतले ओरालो लागेको छ । होटल तथा पर्यटन उपसमूह ८.०३ प्रतिशतले ओरालो लागेको छ ।

मङ्गलबार लगानी र जीवन बीमा उपसमूहको परिसूचक छ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ भने बैंकिङ, विकास बैंक र निर्जीवन बीमा उपसमूहको परिसूचक पाँच प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।

अभिव्यक्ति कारक

‘‘बजार लगातार उकालो लागिरहेको थियो । करेक्शन हुनैपर्ने थियो । मङ्गलबार करेक्शन भएको हो । यो अन्यथा होइन ।’’ ब्रोकर रामचन्द्र भट्टराई भन्नुहुन्छ । बैंकहरुले धमाधम रिपोर्ट सार्वजनिक गरिरहँदा सेयर बजारमा सकारात्मक माहौल रहेको छ । देशको समग्र आर्थिक अवस्था खुम्चेको बेलामा पनि बैंकहरुले नाफा बढाउँदा लगानीकर्तामा उत्साह बढेका कारण सेयर बजार ओरालो लाग्नुपर्ने कारण नभएको लगानीकर्ता बताउँछन् ।

प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंहले सहकारीबाट ठगिएका सोझा जनतालाई फेरि सेयर बजारमा फसाइएको टिप्पणी गर्नुभएको थियो । उहाँले सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै चार वटा कम्पनीका सेयरमा विशेष चलखेल भइरहेको बताउनुभएको थियो । नामै तोकेर नेपाल फाइनन्स लिमिटेड, एनआरएन इन्फाष्ट्रक्चर डेभलपमेन्ट लिमिटेड, हाथवे इन्भेस्टमेन्ट र सीडीएन हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमा ब्रोकर, इन्भेष्टरको कार्टेलिङबाट मूल्य बढाइएको उहाँले  बताउनुएको थियो ।


SHARE THIS