काठमाडौँ । सेयर बजार २८ सयको विन्दु नजिक पुगेको छ । सेयर बजार मापक नेप्से परिसूचक ४० अंकले उकालो लागेको छ भने कारोबार रकम पनि २२ अर्ब नजिक पुगेको छ ।
सोमबार नेप्से ४०.७६ अङ्कले उकालो लागेर २७९६.३८ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स भने ०.९७ अङ्कले ओरालो लागेर ४९१.७८ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा साताको दोस्रो दिनको नेप्से १.४७ प्रतिशतले उकालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स ०.१९ प्रतिशतले ओरालो लागेको छ ।
सोमबार ३२६ कम्पनीको चार करोड ९७ लाख ७३ हजार ७३० कित्ता सेयर दुई लाख ३८ हजार ७८ पटक खरिद बिव्रmी हुँदा २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार २७७ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा १५ करोड रुपियाँले बढी हो ।
सोमबार पनि हिमालयन रिइन्स्योरेन्स लिमिटेडको अग्रता कायम रहेको छ । दोस्रो दिन एक अर्ब २६ करोड चार लाख ८८ हजार ७६२ रुपियाँ बराबरको सेयर कारोबार भएर हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सर्वाधिक कारोबार भएको छ ।
साताको दोस्रो दिन होटल तथा पर्यटन, अन्य र व्यापारमा लगानीकर्ताको आकर्षण देखिएको छ । सोमबार होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ६.६९ प्रतिशतले उकालो लागेको छ भने व्यापार ५.७० प्रतिशतले उकालो लागेको छ भने अन्य ५.७३ प्रतिशतले उकालो लागेको छ । लगानी ३.५२ प्रतिशत, जीवन बीमा ३.२३ प्रतिशत जलविद्युत ३.०९ प्रतिशत र निर्जीवन बीमा १.२५ प्रतिशतले उकालो लागेको छ । यता फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक ४.६१ प्रतिशतले ओरालो लागेको छ ।
बैंकहरुले धमाधम रिपोर्ट सार्वजनिक गरिरहँदा सेयर बजारमा सकारात्मक माहौल देखिएको छ । देशको समग्र आर्थिक अवस्था खुम्चेको बेलामा पनि बैंकहरुले नाफा बढाउँदा लगानीकर्तामा उत्साह बढेको हो ।