कारोबार र पूँजीकरण अहिलेसम्मकै उच्च, परिसूचक साढे २८ सयको विन्दुमाथि

काठमाडौँ । कारोबार रकम र कुल बजार पुँजीकरणले अहिलेसम्मकै रेकर्डलाई ब्रेक गर्दै सेयर बजार ऐतिहासिक उच्च विन्दुमा पुगेको छ ।

आइतबार खुलेको बजारमा सेयर बजारमापक नेप्से परिसूचक मात्रै बढेन । कारोबार रकम र बजार पूँजीकरणले अहिलेसम्मकै रेकर्डलाई ब्रेक गर्दै ऐतिहासिक उच्च विन्दुमा पुगेको छ ।

आइतबार ९४ अंकले उकालो लागेको बजारमा कारोबार रकमले २६ अर्ब रुपियाँ पछ्याएको छ भने कुल बजार पूँजीकरण ४५ खर्ब ४१ अर्ब नाघेको छ ।

उकालो क्रममा लागेको सेयर बजारले साढे २८ सयको विन्दु पार गरेको छ । साताको पहिलो दिन सेयर बजार मापक नेप्से परिसूचकलाई साथ दिंदै कारोबार रकम पनि साढे २५ अर्ब माथि लागेको छ ।

आइतबार नेप्से ९४.४६ अङ्कले उकालो लागेर २८६०.८४ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि १८.२३ अङ्कले उकालो लागेर ५०१.९१ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा साताको पहिलो दिनको नेप्से ३.४१ प्रतिशतले उकालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स ३.७६ प्रतिशतले उकालो लागेको छ ।

नेप्से सूचक ३० महिना यताकै उच्च विन्दुमा पुगेर कारोबार भएको छ । यसअघि मार्केट २०७८ माघ ३ गते २८७६.७४ विन्दुमा बन्द भएको थियो ।

उकालो लाग्ने क्रममा रहेको सेयर बजार अघिल्लो साताको अन्तिम दिन भने सामान्य अंकले उकालो  लागेर बन्द भएको थियो । साताको अन्तिम दिन सेयर बजारमापक नेप्से परिसूचक छ अंकले उकालो लागेको छ भने कारोबार रकम २० अर्बमाथि लागेको थियो ।

बिहीबार नेप्से ६.७० अङ्कले उकालो लागेर २७६६.३८ को विन्दुमा पुगेर रोकिएको थियो । सेन्सेटिभ इन्डेक्स पनि ०.२१ अङ्कले उकालो लागेर ४८३.६८ को विन्दुमा पुगेर रोकिएको थियो ।

कारोबार रकम अहिलेसम्मकै उच्च

सेयर बजारमा आइतबार अहिलेसम्मको उच्च भएको कारोबार भएको छ । आइतबार ३३० कम्पनीको छ करोड तीन लाख २१ हजार ३२३ कित्ता सेयर दुई लाख ७५ हजार २०७ पटक खरिद बिव्रmी हुँदा २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५०९ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा पाँच अर्ब ७० करोड रुपियाँले बढी हो ।

बिहीबार ३२२ कम्पनीको पाँच करोड नौ लाख ४६ हजार ८३२ कित्ता सेयर दुई लाख नौ हजार ९६५ पटक खरिद बिव्रmी हुँदा २० अर्ब सात करोड चार लाख ३४ हजार १०३ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।

बजार पुँजीकरण उच्च

नेप्सेको बजार पुँजीकरण ४५ खर्ब ४१ अर्ब तीन करोड ३२ लाख ७३ हजार तीन सय रुपियाँ पुगेको छ । जुन अहिलेसम्मकै उच्च हो । यसअघि २०७८ भदौमा बजार पुँजीकरण ४४ खर्ब ६८ अर्ब बराबर रहेको थियो ।

हिमालयन रिको अग्रता

अघिल्ला दिनहरुमा अग्रता कायम गरिरहेको हिमालयन रिइन्स्योरेन्स लिमिटेड आइतबार फेरी अगाडि लागेको छ । पहिलो दिन एक अर्ब ५२ करोड दुई लाख ४७ हजार ३७० रुपियाँ बराबरको सेयर कारोबार भएर हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यस्तै शिवम् सिमेण्ट्सको एक अर्ब १६ करोड ६४ लाख ९५ हजार १९८ रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।

जीवन बीमा, लघुवित्त र लगानीमा आकर्षण

आइतबारको सेयर बजारमा जीवन बीमा, लघुवित्त, लगानी र जलविद्युत उपसमूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । आइतबार कारोबारमा आएका सबै उपसमूहको परिसूचक उकालो लागेको छ । साताको पहिलो दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४.५३ प्रतिशतले उकालो लागेको छ । यस्तै लघुवित्त ४.३९ प्रतिशत, लगानी ४.१२ प्रतिशत, जलविद्युत ३.९३ प्रतिशत, फाइनान्स ३.४९ प्रतिशत, निर्जीवन बीमा ३.४५ प्रतिशत, बैंकिङ ३.३५ प्रतिशत, व्यापार २.९१ प्रतिशत, विकास बैंक २.५८ प्रतिशत, अन्य २.५१ प्रतिशतले उकालो लागेको छ ।

मौद्रिक नीतिपछि उत्साह

राष्ट्र बैंकले दुई साता अगाडि सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीति लचिलो र सेयर बजारमैत्री आएपछि लगानीकर्ताको मनोबल बढिरहेको छ । संस्थागत लगानीकर्ताका कर्जामा २० करोड क्याप हटाइएपछि सेयर बजार उत्साह छाएको ब्रोकर विष्णु गिरी बताउनुहुन्छ ।

सेयर बजारमा बैंक तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई क्रमशः कम गर्दै मार्जिन ट्रेडिङको अवधारणालाई प्रोत्साहन गर्ने अभिप्रायसहित नेपाल राष्ट्र बैंकले हालसम्म ३४ धितोपत्र दलाल कम्पनीहरूलाई सहमति प्रदान गरिसकेको छ । मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पूँजी बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरूका लागि बैंक तथा वित्तीय संस्थाहरूले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोड रुपियाँको सीमा खारेज गरिएको छ ।

पछिल्लो बढेको कारोबारमा नयाँ लगानीकर्ताको प्रवेश पनि बढिरहेको छ । नेप्सेमा सुचीकृत विभिन्न कम्पनीहरुले आफ्ना वित्तिय विवरण सार्वजिनक गरिररहेका छन् ।

अहिले सेयर बजार माथि जान कुनै पनि अवरोध नभएको भन्दै लगानीकर्ताहरु बेलाबेलामा केही करेक्सन हुँदै माथि जाने बताउँछन् । बैंकिङ प्रणालीमा पर्याप्त रहेको तरलता र घट्दो ब्याजदरले पनि बजार उकालो लाग्न सघाएको उहाँ बताउनुहुन्छ ।


SHARE THIS