सेयर बजारको आगामी बाटो फराकिलो बनाउँदै मौद्रिक नीति

काठमाडौँ । अर्थतन्त्र दबाबमा रहेका कारण यस पटकको मौद्रिक नीति कस्तो आउला भनेर सबैतिरबाट हेरिएको थियो । सेयर बजारका लगानीकर्ता मौद्रिक नीति कुरेर बसेका थिए भने निजी क्षेत्रदेखि सबै सरोकारवालाहरुले मौद्रिक नीतिलाई चासोका साथ हेरिरहेका थिए ।

समग्रमा विगतका तुलनामा यस पटकको मौद्रिक नीति सेयर बजारमैत्री आएको छ । विगत दुई वर्षयता शिथिल रहेको अर्थतन्त्रलाई चलायमान बनाउने गरी नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति अरु क्षेत्रमात्रै नभई सेयर बजारका लागि पनि अनुकुल आएको छ ।

विगतमा मौद्रिक नीतिमा गरिएको कडाईका कारण अर्थतन्त्र सहज नभएको लगानीकर्ता, उद्योगी व्यसायी तथा सरोकारवालाहरुको गुनासोलाई चिर्दै राष्ट्र बैङ्कले मौद्रिक नीतिमार्फत उल्लेख्य सहजीकरणको प्रयास गरेको छ । जसलाई सरोकारवाला अधिकांशले सकारात्मक प्रतिव्रिmया पनि दिएका छन् । मौद्रिक नीतिमार्फत यसपटक राष्ट्र बैङ्कले निर्माण व्यवसायीलाई ठूलो राहत दिएको छ । यद्यपी सेयर बजारका लगानीकर्ताले पर्याप्त नभएको पनि बताएका छन् ।

तर पनि सेयर बजारको बढोत्तरीलाई ध्यानमा राखेर ल्याइएको मौद्रिक नीतिले बजारको उत्साहलाई कायम गर्ने लगानीकर्ताको भनाई छ । महिनौंदेखि सेयर बजारका लगानीकर्ताले मौद्रिक नीतिमार्फत धेरै कुरा समेटिने अपेक्षा लिएर बसे पनि मौद्रिक नीतिमा समेट्न कन्जुस्याई गरिएको पनि कसैको टिप्पणी छ ।

सेयर लगानीकर्ता इश्वरी पौडेल मौद्रिक नीतिले ब्याजदर घटाउने नीति अबलम्बन गर्नु राम्रो पक्ष भएको बताउँदै लगानीकर्ताका अपेक्षा पुरै सम्बोधन हुन नसकेपनि समग्रमा राम्रो रहेको बताउनुभयो ।

विगतमा भन्दा सकारात्मक मौद्रिक नीति आएको भन्दै उहाँले सेयर बजारमा धेरै व्यक्तिगत लगानीकर्ता रहेका कारण उनीहरुको लागि पनि सीमा हटाइदिएको भए राम्रो हुने उहाँको भनाई छ ।

ब्रोकर विष्णु गिरी मौद्रिक नीतिले सेयर बजारको आगामी बाटो फराकिलो नै हुने बताउनुहुन्छ । मौद्रिक नीतिमा लगानीकर्ताका अपेक्षा धेरै भएपनि अहिले भएका धेरै व्यवस्था सेयर बजारमैत्री भएको उहाँको भनाई छ ।

के छ मौद्रिक नीतिमा ?

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा अधिकतम सीमा खारेज गरेको छ । मौद्रिक नीतिमा संस्थागत सेयर धितो कर्जामा हाल कायम २० करोडको सीमा खारेज गरिएको छ ।

अहिले सेयर कर्जामा व्यक्तिलाई १५ करोडको सीमा तोकिएको छ । व्यक्तिगत लगानीकर्ताको लागि लगाइएको क्यापलाई भने परिवर्तन गरिएको छैन ।

सेयर बजारमा बैंक तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई क्रमशः कम गर्दै मार्जिन ट्रेडिङको अवधारणालाई प्रोत्साहन गर्ने अभिप्रायसहित नेपाल राष्ट्र बैंकले हालसम्म ३४ धितोपत्र दलाल कम्पनीहरूलाई सहमति प्रदान गरिसकेको छ । मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पूँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरूका लागि बैंक तथा वित्तीय संस्थाहरूले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोड रुपियाँको सीमा खारेज गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

कर्जा प्रवाह विस्तार गर्ने रणनीति

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउन थप प्रोत्साहन गरेको छ । मौद्रिक नीतिमा ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई सात प्रतिशतबाट ६.५ प्रतिशत कायम गरेको छ । यस्तै नीतिगत दर ५.५ प्रतिशतबाट ५.० प्रतिशत कायम गरेको छ ।

ब्याजदर कोरिडरको तल्लो सीमाको रुपमा रहेको तीन प्रतिशतको निक्षेप संकलन दरलाई भने यथावत राखिएको छ ।

राष्ट्र बैंकले नीतिगत दरहरु घटाउँदा यसले बैंकहरुलाई पनि ब्याजदर घटाउन थप प्रोत्साहन गर्ने छ । पछिल्लो समय बैंकहरुको ब्याजदर निरन्तर घट्दो क्रममा छ ।

राष्ट्र बैंकले कर्जा विस्तारको लक्ष्यलाई बढाउँदै बैंकहरुको कर्जा लगानीमा थप लचकता अपनाएको छ । राष्ट्र बैंकले कर्जा विस्तारको लक्ष्यलाई बढाएर १२.५ प्रतिशत पु¥याएको छ । गत वर्ष यस्तो लक्ष्य ११.५ प्रतिशत थियो ।

राष्ट्र बैंकले कर्जा विस्तारको लागि बैंकहरुको कर्जा लगानी गर्नसक्ने क्षमता बढाउनेगरी नीति ल्याएको छ । बैंकहरुको पूँजीकोष बढाउने र बैंकहरुलाई कर्जा लगानी गर्न सहज हुने नीति ल्याएको छ ।


SHARE THIS