सेयर बजारमा मौद्रिक नीति प्रभाव : परिसूचक २७ सय र कारोबारले १६ अर्बको विन्दु पछ्याउँदै

काठमाडौँ । मौद्रिक नीतिपछि खुलेको सेयर बजारले २७ सयको विन्दु पछ्याएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति ल्याएपछि खुलेको बजारमा उत्साह छाएको हो । सेयर बजारमापक नेप्से परिसूचक ११३ अंकले उकालो लागेको छ भने कारोबार रकम पनि १६ अर्ब नजिक पुगेको छ ।

आइतबार दिनभर कारोबार अवधिमा दुई पटक सर्किट ब्रेक लागे पनि दोस्रो सर्किट ब्रेकपछि बजार सम्हालिएर फेरी उकालो लागेको थियो । पहिलो दिन बजार खुलेको एक मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले उकालो लागेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । फेरी २० मिनेटपछि खुलेको बजारमा एक मिनेटमै थप एक प्रतिशत विन्दु अर्थात् पाँच प्रतिशतले उकालो लागेपछि दोस्रो सर्किट ब्रेक लागेको थियो ।

दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १२९ अंक बढेर २६९७ मा पुगेको थियो । ४० मिनेटपछि खुलेको बजारमा भने एकाएक बिक्री चाप बढेको थियो । बिक्रीको चापले गर्दा परिसूचकमा भने तेस्रो सर्किट ब्रेक लागेन । आइतबार बढेको बजारमा सेयर बिक्री गर्नेहरु पनि उत्तिकै हावी भएका थिए ।

आइतबार नेप्से परिसूचक ११३.४२ अङ्कले उकालो लागेर २६८१.५६ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि २६.७८ अङ्कले उकालो लागेर ४८६.८४ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा पहिलो दिनको नेप्से ४.४१ प्रतिशत र सेन्सेटिभ इन्डेक्स ५.८२ प्रतिशतले उकालो लागेको छ ।

कारोबार १६ अर्ब पछ्याउँदै

आइतबार ३१८ कम्पनीको चार करोड तीन लाख १४ हजार ५१७ कित्ता सेयर एक लाख ६३ हजार ८१० पटक खरिद बिव्रmी हुँदा १५ अर्ब ८१ करोड पाँच लाख ९६ हजार २३५ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब ६८ करोड रुपियाँले बढी हो ।

बैंकको सेयरमा उछाल

आइतबार ३६ करोड १० लाख ८९८ रुपियाँ बराबरको सेयर कारोबार भएर कुमारी बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कुमारी बैंकलाई पछ्याउँदै एनआइसी एसिया बैंक लिमिटेडको ३४ करोड ८१ लाख ६९ हजार ८८५ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै हिमालयन बैंक लिमिटेडको ३२ करोड २५ लाख ९१ हजार ८१४ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । तेस्रो स्थानसम्म बैंकले ओगटेको आइतबार चौंथोमा हिमालयन रि इन्स्योरेन्स र पाँचौं नम्बरमा शिवम् सिमेन्ट्सको कारोबार रकम ३२ करोड माथि लागेको छ ।

बैंकिङ समूहमा आकर्षण

साताको पहिलो दिन बैंकिङ उपसमूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । आइतबार बैंकिङ उपसमूहको परिसूचक सर्वाधिक ९.८९ प्रतिशतले उकालो लागेको छ । मौद्रिक नीतिमा बैंकको नाफा बृद्धिमा सहयोग पुग्ने गरी सम्बोधन गरिएपछि बैंकिङ उपसमूहमा लगानीकर्ताको आकर्षण देखिएको हो । पछिल्लो समय सुस्त रहेको बैंकहरुको सेयरमा लगानीकर्ताहरु खरिदका लागि उत्साहित भएका छन् ।

मौद्रिक नीतिमा वाणिज्य बैंकहरुको खराब कर्जा घटाउने उद्देश्यले असल कर्जामा १.१ प्रतिशत मात्रै प्रोभिजन गरे पुग्ने व्यवस्था गरिएको छ भने क्यापिटल एडिक्वेसी फ्रेमवर्कमा संशोधनको घोषणा, रेगुलेटरी रिटेल पोर्टफोलियोको सीमा साढे दुई करोड बढाउनु, रेगुलेटरी रिजर्भको रकम टियर टु क्यापिटलमा गणना गर्न पाउनेलगायतका व्यवस्था गरिएको छ ।

आइतबार लगानी ५.७५ प्रतिशत, विकास बैंक ४.८७ प्रतिशत, जीवन बीमा ४.२४ प्रतिशत, अन्य ३.१९ प्रतिशत, निर्जीवन बीमा २.६८ प्रतिशत, व्यापार २.६२ प्रतिशतले उकालो लागेको छ । यता लघुवित्त भने ०.१८ प्रतिशतले ओरालो लागेको छ ।

राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीति लचिलो र सेयर बजारमैत्री आएपछि लगानीकर्ताको मनोबल बढेको छ । संस्थागत लगानीकर्ताका कर्जामा २० करोड क्याप हटाइएपछि सेयर बजार उत्साह छाएको लगानीकर्ता बताउँछन् ।

यद्यपी मौद्रिक नीतिमा संस्थागत सेयर धितो कर्जामा हाल कायम २० करोडको सीमा खारेज गरिएपनि अहिले सेयर कर्जामा व्यक्तिलाई १५ करोडको सीमा तोकिएको छ । व्यक्तिगत लगानीकर्ताको लागि लगाइएको क्यापलाई भने परिवर्तन गरिएको छैन ।

सेयर बजारमा बैंक तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई क्रमशः कम गर्दै मार्जिन ट्रेडिङको अवधारणालाई प्रोत्साहन गर्ने अभिप्रायसहित नेपाल राष्ट्र बैंकले हालसम्म ३४ धितोपत्र दलाल कम्पनीहरूलाई सहमति प्रदान गरिसकेको छ । मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पूँजी बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरूका लागि बैंक तथा वित्तीय संस्थाहरूले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोड रुपियाँको सीमा खारेज गरिने मौद्रिक नीतिमा उल्लेख छ ।


SHARE THIS