बुधबारदेखि राजधानीमा सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी हुँदै

काठमाडौँ । “प्रविधियुक्त सेवा र सुशासनः दिगो साकोस र छवि निर्माणका लागि जिम्मेवार व्यवस्थापन” भन्ने सोच सहित सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी आगामी बुधबारदेखि राजधानीमा आयोजना हुने भएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड(नेफ्स्कून) को आयोजना र नेफ्स्कून साकोस म्यानेजर्स क्लबको व्यवस्थापनमा फाल्गुन २४ र २५ हुन गइरहेको गोष्ठीका लागि ३५० भन्दा बढी साकोसका व्यवस्थापकहरुले रजिष्ट्रेशन गरिसकेको आइतबार राजधानीमा पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

नेपालका वित्तीय सहकारीका व्यवस्थापकीय प्रमुखहरुलाई समेटी गोष्ठीको आयोजना गरी प्राप्त उपलब्धीका सन्देशहरुको प्रवाह गर्दै जानु नेफ्स्कूनको दायित्व भएकोले प्रथम र दोस्रो गोष्ठीको सिकाई र व्यवस्थापन प्रमुखहरुको माग एवम् आवश्यकताको आधारमा यो गोष्ठी आयोजना गर्न लागिएको गोष्ठी व्यवस्थापन कार्यदलका संयोजक दिपक पनेरुले बताउनुभयो ।

उपलब्ध स्रोत र साधनलाइ दृष्टिगत गरी वित्तीय सहकारी क्षेत्रका व्यवस्थापकीय तहमा कार्यरत कर्मचारी, नियमनकारी निकाय, सम्बन्धित सरोकारवाला एवम् विकास क्षेत्रका सहयात्रीहरु समेतको प्रतिनिधित्व रहने गरी करिब ४५० जना भन्दा बढी सहभागिता रहने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

वित्तीय सहकारीको दर्शन र मुल्यमा आधारित व्यवसायिक जनशक्ति विकास गर्नु गोष्ठीको उद्देश्य रहेको संयोजक पनेरुले बताउनुभयो ।

विश्वव्यापी नविनतम अभ्यास, अनुभव र सिकाईहरु मार्फत ज्ञान, सीप र प्रविधिको अवलम्बन एवम् हस्तान्तरण गर्नु तथा राष्ट्रियस्तरमा भएका नविनतम र सफल अभ्यासहरु आदानप्रदान गर्नु गोष्ठीको उद्देश्य रहेको उहाँले बताउनुभयो ।

यस्तै गोष्ठीले वित्तीय सहकारीका लागि विकास गरेका नविनतम औजार र समाधानहरुको आन्तरिकीकरणको लागि दिशानिर्देश गर्नुका साथै कार्यरत जनशक्तिको उत्प्रेरणामार्फत तनाव रहित वातावरणमा कार्यसम्पादनका लागि प्रेरित गर्ने नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले बताउनुभयो ।

वित्तीय सहकारीको विकासका सम्भावना पहिचान गरी कार्यान्वयन गर्न अभिप्रेरित गर्ने तथा वित्तीय सहकारीलाई उत्पादनमा आधारित लगानीमा प्रोत्साहित गर्ने गोष्ठीको उद्देश्य रहेको उहाँले बताउनुभयो ।

वित्तीय सहकारीलाई आकर्षक रोजगार प्रवद्र्धक क्षेत्रको रुपमा स्थापित गर्ने तथा वित्तीय सहकारीको योजना विकास र छवी निर्माणको लागि साझा घोषणा जारी गर्नु गोष्ठीको उद्देश्य रहेको उहाँले बताउनुभयो । गोष्ठीमा राष्ट्रियदेखि विश्व सञ्जालहरु विश्व ऋण परिषद् (अमेरिका), एसियाली ऋण महासंघ (थाइल्याण्ड), नेपाल राष्ट्र बैंक र नेपालको आर्थिक विकासमा सहकारी क्षेत्रलाई सफल माध्यम बनाउन अतुलनीय योगदान गर्नुहुने विद्वतहरुबाट विभिन्न सात विषयमा कार्यपत्रहरु प्रस्तुत हुने नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताउनुभयो ।गोष्ठीमा सात वटै विषयका सामुहिक सत्र सञ्चालन गरिने बताइएको छ । पहिलो दिन वर्तमान परिदृश्यमा दिगो साकोस अभियानको लागि जिम्मेवार व्यवस्थापन र संघको भूमिका, वित्तीय सहकारीको छवी निर्माणः समावेशी संरचना र प्रविधि हस्तान्तरण, विश्व अर्थतन्त्रः वित्तीय सहकारीमा प्रभाव, सम्भावना र चुनौती गरी तीन विषयहमा प्रस्तुति रहने छन् ।

दोस्रो दिन मानव संशाधन व्यवस्थापनका सामयिक÷समवर्ती सवालहरु र नेपालमा सफल साकोसका अनुभवहरु, वित्तीय प्रविधिमा साकोसका सम्भावना र चुनौतीहरु, वित्तीय सहकारी ऐनको अन्तर्राष्ट्रिय अभ्यास र नेपालको आवश्यकता, ईमोशनल एण्ड स्पिरिचुअल ईन्टेलिजेन्स ईन म्यानेजर्स सम्बन्धी चार विषयवस्तुमा सामुहिक सत्र सञ्चालन हुने नेफ्स्कूनले जनाएको छ ।

२०७३ सालबाट साकोसका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी सञ्चालन शुरुवात गरेको नेफ्स्कूनले प्रत्येक तीन वर्षको अन्तरालमा नियमित सञ्चालन गर्दै आइरहेको छ ।

राष्ट्रिय गोष्ठीको सफलताको लागि नेफ्स्कूनसँग साझेदारी वा सहयोग गर्न चाहने संघ÷संस्थाहरूको पनि आर्थिक सहयोग रहनेछ ।

विश्वव्यापी आर्थिक मन्दीको अवस्था, नेपालको समग्र वित्तीय अवस्था र विशेषतः नेपालको सहकारी अभियान तरलताको दबाबमा रहेको अवस्थामा राष्ट्रिय गोष्ठी आयोजना गर्दा विभिन्न क्षेत्रबाट सकारात्मक र नकारात्मक प्रतिक्रिया आइरहेको तर्फ पनि हामी सचेत एवम् सजग रहेको आयोजक पक्षले जनाएको छ ।

सहकारी अभियानमा तरलता व्यवस्थापनको केहि सन्तुलन बिग्रिएको बताउँदै गोष्ठी व्यवस्थापन कार्यदलका संयोजक पनेरुले भन्नुभयो – ‘‘तर अभियान समस्यामा नै प¥यो कि भन्ने सोच, सञ्चार माध्यमहरुको प्राथमिकता र सदस्यहरुले आफ्नो संस्थाको बारेमा यथार्थ नबुझी प्रतिक्रियात्मक बन्दाको परिणाम अहिलेको अवस्था हो । वित्तीय सहकारी क्षेत्रमा दबाब सुरु हुँदा सँगै यस्तो गोष्ठी आयोजना गर्न सकिएको भए हालको चुनौतीलाई सुरुवातीमा नै व्यवस्थापन गर्न सहज हुने थियो भन्ने हाम्रो विश्वास हो ।’’

अभियानका सञ्चालक र व्यवस्थापन पक्ष सदस्यहरुतर्फ फर्किने र वित्तीय स्रोतहरुको प्रभावकारी व्यवस्थापन सहित सेवा प्रवाह गर्न सकेमा यस्ता चुनौतीहरुको सहज समाधान गर्न सकिन्छ भन्ने मान्यता रहेको आयोजक पक्षको भनाई छ ।


SHARE THIS