बजार पूँजीकरण दुई खर्ब २८ अर्ब रुपियाँले बढ्यो

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्जको कुल बजार पूँजीकरण दुई खर्ब २८ अर्ब रुपियाँ बढेको छ । करिब पाँच प्रतिशतले बढेको कुल बजार पूँजीकरण ४० खर्ब ७४ अर्ब ८८ करोड ६६ लाख १२१ रुपियाँ पुगेको छ । जुन अघिल्लो साता ३८ खर्ब ४६ अर्ब ६९ करोड ९७ लाख रुपियाँ रहेको थियो ।

पछिल्ला दिनमा निरन्तर उचाई पछ्याइरहेको सेयर बजारमा कारोबार र परिसूचकमै उत्साहजनक बढोत्तरी आइरहेको छ । यो साता बजार २६ सयको विन्दु पछ्याउँदै बन्द भएको छ । अघिल्लो दिन दोहोरो अंकको करेक्शन आएको बजार बिहीबार ३२ अंकले उकालो लागेको छ भने कारोबार रकम झण्डै साढे १४ अर्ब पुगेको छ ।

लगातार उकालो लागिरहेको सेयर बजारमा बुधबार दोहोरो अंकको करेक्शन आएको थियो । साढे २५ सयको विन्दु नाघेपछि दोहोरो अंकले ओरालो लागेको थियो ।

बिहीबार नेप्से परिसूचक ३२.०२ अङ्कले उकालो लागेर २५६८.१३ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ७.११ अङ्कले उकालो लागेर ४६०.०५ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा अन्तिम दिनको नेप्से १.२६ प्रतिशत र सेन्सेटिभ इन्डेक्स १.५७ प्रतिशतले उकालो लागेको छ ।

यो साता औसत कारोबार रकम गत साताभन्दा चार अर्ब १० करोड रुपियाँभन्दा बढी हो । औसत कारोबार कित्ता एक करोड चार लाखभन्दा बढी भएको छ । गत साता औसतमा १० अर्ब ६१ करोड रुपियाँभन्दा बढीको दुई करोड ८९ लाख ९९ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता १४ अर्ब ७२ करोड ३३ लाख रुपियाँभन्दा बढीको तीन करोड ९४ लाख १६ हजारभन्दा बढी कित्ता धितोपत्र औसतमा कारोबार भएको हो ।

परिसूचकसँगै यो साता दैनिक औषत कारोबार रकम पनि बढेको छ । गत साता दैनिक औषतमा १० अर्ब ६२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता १४ अर्ब ७२ करोडको सेयर कारोबार भएको छ ।

व्यापारको सर्वाधिक कारोबार

यो साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक ११.६७ प्रतिशत बढेको छ । यो साता करिब ६ प्रतिशत बढेको बजारमा सबै समूहगत परिसूचक उकालो लागेका छन् । गत साता बैंकिङ समूहको परिसूचक सर्वाधिक पहिलो नम्बरमा बढ्दा व्यापारिक समूहको परिसूचक सर्वाधिक दोस्रोमा बढेको थियो ।

यो साता उत्पादन तथा प्रशोधन ८.७४ प्रतिशत, लघुवित्त ७.९७ प्रतिशत, निर्जीवन बीमा ७.९४ प्रतिशत, होटल तथा पर्यटन ७.८५ प्रतिशत, वित्त ७.३६ प्रतिशत, जीवन बीमा ६.५८ प्रतिशत, जलविद्युतको ५.४६ प्रतिशत, बैंकिङ ५.१७ प्रतिशत, लगानीको ४.४९ प्रतिशत, अन्य ४.३० प्रतिशत, म्युचुअल फण्ड ३.४१ प्रतिशत र विकास बैंक २.८२ प्रतिशतले उकालो लागेको छ ।


SHARE THIS