काठमाडौँ / आर्थिक वर्ष २०८०/८१ को एघार महिनामा मुलुकको शोधनान्तरस्थिति चार खर्ब २५ अर्ब ६७ करोड रुपियाँले बचतमा रहेको छ । गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब २४ अर्ब ९० करोड रुपियाँले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ७१ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा तीन अर्ब २० करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा चालु खाता दुई खर्ब ३९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ७९ अर्ब ५३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६१ करोड ३२ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब ५१ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २५.७ प्रतिशतले कमी आई पाँच अर्ब ४६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी आठ अर्ब १६ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर सात अर्ब ३५ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी चार अर्ब ६५ करोडले धनात्मक रहेको थियो ।
११ महिनामा १३ खर्ब बढी रेमिट्यान्स
चालु आर्थिक वर्षको ११ महिनामा १३ खर्ब २७ अर्ब ५१ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ । जुन १९.३ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २२.७० प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १७.३ प्रतिशतले बृद्धि भई नौ अर्ब ९८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३ प्रतिशतले बढेको थियो ।
विनिमय सञ्चिति २७.८ प्रतिशतले बृद्धि
अघिल्लो वर्ष असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २७.८ प्रतिशतले बृद्धि भई २०८१ जेठ मसान्तमा १९ खर्ब ६७ अर्ब १९ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति अघिल्लो वर्ष असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ जेठ मसान्तमा २५.७ प्रतिशतले बृद्धि भई १४ अर्ब ७२ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति अघिल्लो वर्ष असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८१ जेठ मसान्तमा ३०.२ प्रतिशतले बृद्धि भई १७ खर्ब ५२ अर्ब ७७ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति अघिल्लो वर्ष असार मसान्तमा एक खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा गत जेठ मसान्तमा १०.८ प्रतिशतले बृद्घि भई दुई खर्ब १४ अर्ब ४२ करोड कायम भएको छ । गत जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको छ ।
१५.१ महिनाको वस्तु आयात धान्ने विनिमय सञ्चिति
आर्थिक वर्ष २०८०/८१ को एघार महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
गत जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३४.५ प्रतिशत, १०५.२ प्रतिशत र २९.२ प्रतिशत रहेका छन् । अघिल्लो वर्षको असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.८ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेका थिए ।
वस्तु निर्यात तीन प्रतिशतले कमी
आर्थिक वर्ष २०८०/८१ को एघार महिनामा कुल वस्तु निर्यात तीन प्रतिशतले कमी आई एक खर्ब १३९ अर्ब २६ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २२.७ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फको निर्यातमा ४.५ प्रतिशतले कमी आएको छ भने चीनतर्फको निर्यात ५७.७ प्रतिशतले बृद्धि भएको छ । त्यसैगरी, अन्य मुलुकतर्फको निर्यातमा १.७ प्रतिशतले कमी आएको छ ।