अलोकतान्त्रिक क्रियाकलापलाई सही ट्रयाकमा ल्याउन नागरिक समाजको भूमिका खेल्न सक्नुपर्ने

काठमाडौं । जनताले पाँच वर्षका लागि स्थायी सरकारको लागि दिएको जनमतको उपहास गरेको भन्दै नागरिक समाजका अगुवाहरुले प्रतिनिधिसभाको विघटन विरुद्घ असन्तुष्टि जनाएका छन् ।

साप नेपालले राजधानीमा आयोजना गरेको ‘नागरिक समाज संस्थाको आयोजनामा संवैधानिक संकट र लोकतन्त्रको सुदृढिकरण’ विषयक अन्तरकृया कार्यक्रममा उनीहरुले अलोकतान्त्रिक क्रियाकलापहरुलाई सही ट्रयाकमा ल्याउनका लागि सक्दो भूमिका नागरिक समाजले खेल्न सक्नुपर्नेमा पनि जोड दिएका छन् ।

वर्तमान समयमा भएको संसद विघटन र सो सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थामा राजनीतिक दलहरुको अलोकतान्त्रिक अभ्यासको कारण लोकतन्त्र संकटमा पर्नुको साथै संवैधानिक संकट आईपरेको उनीहरुको भनाई छ ।

पोल्सानका पुर्वअध्यक्ष प्राध्यापक डाक्टर गंगाबहादुर थापाले संविधानको जर्गेना र लोकतन्त्रको संस्थागत तथा सुदृढीकरण गर्दै राज्यको हरेक अंगले संविधानको पुर्ण पालना गर्न गराउन नागरिक समाज संस्थाहरुले सक्रिय भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै नागरिक अगुवा विष्णु भण्डारीले एउटा व्यक्तिले भत्काउन सक्ने कमजोर संविधान मान्य नहुने बताउनुभयो । नेपाल जस्तो गरिब मुलुकले संघियतालाई धान्न मुस्किल भएको बताउँदै  आगामी दिनमा नेतृत्वको जिम्मेवारी युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताउनुभयो ।

नागरिक अगुवा सन्तोस घिमीरेले मुलुकमा हाल भइरहेको क्रियाकलापले संविधानमाथि घात भएको बताउनुभयो । कार्यक्रममा बोल्ने क्रममा राजनीतिज्ञ लालबाबु यादवले संघियता खारेज गर्नुपर्ने बताउनुभयो ।

मन्तव्यको क्रममा पुर्व सिडियो अम्बिका केसीले नेपालमा स्थानीय र संघिय सरकार गरी दुई तहको मात्र सरकार भए पुग्ने बताउनुभयो ।

साप नेपालको आयोजनामा सञ्चालन भएको कार्यक्रमा कार्यकारी निर्देशक नरेन्द्रप्रसाद जोशीले दलगतभन्दा पनि दलभित्रका अलोकतान्त्रिक र अनैतिक अभ्यासमा सुधार नल्याइ संविधानमात्र राम्रो भएर केहि नहुने बताउनुभयो ।

अलोकतान्त्रिक क्रियाकलापहरुलाई सही ट्रयाकमा ल्याउनका लागि सक्दो भूमिका खेल्न सक्ने भनेको नागरिक समाज भएकाले नागरिक समाजले आफनो आवाज देशको यस्तो विषम परिस्थितिमा एक किसिमको एकता देखाउनुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।

प्रतिनिधिसभा विघटनको सन्दर्भमा दलगत कुरा भन्दा पनि दलभित्रको अलोकतान्त्रिक अभ्यासले अहिलेको स्थिति सिर्जना भएको भन्दै उहाँले जबसम्म दलभित्रको अलोकतान्त्रिक क्रियाकलापमा सुधार आउँदैन तबसम्म जतिसुकै राम्रो संविधान आएपनि देशको परिस्थिति बदलिन नसक्ने बताउनुभयो ।


SHARE THIS