राजधानीमा ‘पाकिस्तान एण्ड नेपाल फ्रेण्डसिप ट्रेड फेयर २०२२’ शुरु

काठमाडौंं । पाकिस्तानमा उत्पादित विविध वस्तु तथा सामग्रीको प्रदर्शनी शनिबारदेखि राजधानीमा शुरु  भएको छ ।

काठमाडौँको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरको चौंथो तल्ला डिइसीसीमा शनिबार ‘पाकिस्तान एण्ड नेपाल फ्रेण्डसिप ट्रेड फेयर २०२२’ प्रदर्शनीको उद्घाटन गर्दै नेपालका लागि पाकिस्तानका राजदुत सईद हैदर शाहले नेपाल र पाकिस्तानबीच रहेको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउन आपसी हितमा हुने आर्थिक तथा व्यापारीकलगायतका गतिविधिमा संलग्नता बढाउन प्रदर्शनीले सकारात्मक भूमिका खेल्ने बताउनुभयो ।

प्रदर्शनी पाकिस्तान र नेपालको व्यापारीक सम्बन्धको उत्कृट नमुना भएको पनि उहाँले बताउनुभयो । दुबै देशका आफ्नै मौलिक उत्पादन एकै थलोमा प्रदर्शन हुँदा दुबै देशका उपभोक्ता लाभान्वित हुने उहाँले बताउनुभयो ।

पाकिस्तान र नेपालको सम्बन्ध व्यवसायिकसँगै सांस्कृतिक र सामाजिक पनि भएको भन्दै राजदूत शाहले प्रदर्शनीले दुबै देशको रहनसहनदेखि सांस्कृतिक कुरामा समेत परिचित हुने अवसर प्रदान गर्ने बताउनुभयो ।

आर्थिक गतिविधिलाई बढवा दिएर दुबै मुलुकलाई समृद्धिको दिशामा अघि बढ्न पनि प्रदर्शनी फलदायी हुने अपेक्षा रहेको आयोजक इन्ट्रोडक्सन ट्रेड शोका मेनेजीङ डाइरेक्टर सुमन महर्जनले बताउनुभयो ।

पाकिस्तानमा निर्मित छालाका सामग्रीहरुले नेपाली बजार लिएको र नेपालका हस्तकलाका सामग्रीहरूले पाकिस्तानमा प्रभाव जमाएको भन्दै उहाँले प्रदर्शनीमार्फत दुबै देशहरुको उत्पादनको प्रबद्र्घनमा सघाउ पुग्ने अपेक्षा उहाँले व्यक्त गर्नुभयो ।

यस्तो प्रदर्शनीले दुबै मुलुकका व्यवसायीलाई नजिक्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै उहाँले विगत छ दशकयताको द्धिपक्षीय सम्बन्ध बलियो बनाउन प्रदर्शनी उपलब्धीमूलक हुने बताउनुभयो ।

आगामी असोज ६ गते विहीबारसम्म चल्ने पाकिस्तान र नेपाल मैत्री व्यापार प्रदर्शनीमा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता–चप्पल, नक्कली गरगहनालगायतका सामग्री प्रदर्शनीमा उपलब्ध हुने आयोजक पक्षले जनाएको छ ।

दुई देशबीचको कला, संस्कृति र रीतिरिवाज आदानप्रदान गर्न प्रदर्शनीले उत्कृष्ट भूमिका खेल्ने आयोजक तथा इभेन्ट म्यानेजर इन्ट्ररडक्सन ट्रेड शो नेपाल प्रालिले जनाएको छ ।

कार्यक्रमलाई भब्य बनाउन अर्गनाइजरका रूपमा इन्ट्ररडक्सन ट्रेड शो नेपाल प्रालि, इन्डोर्स वाई काठमाडौंस्थित पाकिस्तानी राजदूतावास, प्रोमोटेड वाई ललितपुर चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिज र भक्तपुर चेम्बर अफ कमर्श, सपोर्टेड वाई युनाइटेड वल्र्ड ट्रेड सेन्टर, भेन्यू प्रोभाइडरमा डिइसीसी, डिजीटल पार्टनरमा एडीएसलगायतले कार्यक्रमको शोभा बढाउने छन् ।

काठमाडौंस्थित पाकिस्तानी र पाकिस्तानस्थित नेपाली दूतावासको सहकार्यमा काठमाडौंमा विगत एक दशकयता हरेक वर्ष यस्तो प्रदर्शनी हुँदै आएको छ । आगामी बिहीबारसम्म चल्ने प्रदर्शनीमा पाकिस्तानका प्रतिष्ठित व्यापारीहरुको सहभागीता रहेको छ ।

व्यापार प्रबद्र्घनका लागि अतिथि राष्ट्रहरूमा भारत र बङ्गलादेशका स्टलहरू पनि रहेका छन् । यसपटक प्रदर्शनीको आकर्षणको रुपमा खानाको लागि विभिन्न देशका स्वादमा फुड स्टल, साना केटाकेटीहरुका लागि गेमिङजोन, फोटो सुट, विविध सांस्कृतिक कार्यक्रमलगायत पाकिस्तान, भारत, बङ्गलादेश र नेपालका उत्कृष्ट उत्पादनको स्टल रहेको आयोजक पक्षले जानकारी दिएको छ ।











SHARE THIS