मुलुकको आर्थिक समृद्धिका लागि महिलामा उद्यमशीलता विकास गर्नुपर्नेमा सरोकारवालाहरुले जोड

ललितपुर । मुलुकको आर्थिक समृद्धिका लागि महिलामा उद्यमशीलता विकास गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

११३ औं अन्तराष्ट्रिय नारी दिवस २०७९ को अवसरमा बुधबार यहाँ आयोजित “महिला विकासमा उद्यमको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले आर्थिक समृद्धिका लागि महिलालाई उद्यमी बनाउनुपर्ने भन्दै संविधानले सामाजिक, राजनीतिक हक सुरक्षित गरेकाले आर्थिक सशक्तीकरणका लागि राज्यले वातावरण बनाउनुपर्ने बताएका हुन् ।

दिगो आर्थिक विकासका लागि उद्यमशीलताको आवश्यक औंल्याउँदै उनीहरुले उद्यम क्षेत्रमा महिलाको बलियो उपस्थिति बढाउनुपर्नेमा पनि जोड दिएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ ललितपुर जिल्ला महिला उद्यमी समितिको आयोजना तथा नेपाल परिवार नियोजन संघ उपत्याका शाखा र सेवा नेपालको सहकार्यमा यहाँ आयोजित कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्यले उद्यमको भूमिका महिलाको विकासको लागि मात्रै होइन उद्यमको भूमिका राष्ट्रकै लागि पनि “समृद नेपाल र सुखी नेपाली” अभियान रहेको भन्दै यसको आधारविन्दु महिला उद्यमशीलताको विकास रहेको बताउनुभयो ।

सिंगो समाज र राष्ट्रलाई समृद्धिको बाटोमा लैजानको लागि उद्यमशीलता र उद्यमीको महत्व रहने भन्दै उहाँले राजनीतिक, सामाजिक तथा आर्थिक रुपान्तरणका लागि महिलाले गरेको प्रेरणादायी योगदानका कारण समाज र देशमा परिवर्तन सम्भव भएको बताउनुभयो ।

मुलुकमा अहिले देखिएको आर्थिक संकटबाट पार पाउनका लागि उद्यामशीलता र औद्योगिकरणमा जोड दिनुपर्ने उहाँको भनाई थियो ।

महासंघका सल्लाहकार सुरेश प्रधानले महिलाको सहभागिता आर्थिक विकास र आर्थिक उपार्जनका लागि भएन भने हाम्रो विकास गति नै सुस्त हुने बताउनुभयो । हाम्रो घर, टोल, जिल्लाबाट स्वरोजगार र उद्यमशीलता विकासका लागि महिला दिदी बहिनीहरुलाई केन्द्रमा राख्नुपर्नेमा उहाँको जोड थियो ।

महिलाको आर्थिक शसक्तीकरण गर्नुपर्ने भन्दै उहाँले हरेक क्षेत्रमा महिलाको सहभागिता बढेको सन्दर्भमा उनीहरुलाई व्यवसाय र उद्यममा लगाएर आर्थिक सशक्तीकरण गर्नुपर्ने बताउनुभयो ।

महासंघका उपाध्यक्ष शोभा गुरुङले हिजोका दिनमा घरभित्र सीमित भएका महिलाहरु आज केही गर्छौं भनेर बाहिर निस्ककोमा खुशी व्यक्त गर्दै समय अनुसार कसरी अगाडि बढ्ने भन्ने तर्फ पनि ख्याल गर्नुपर्ने बताउनुभयो ।

महासंघ महिला उद्यमी समितिका अध्यक्ष रोशनी उपाध्यायले दिवसको सार्थकता भनेकै महिलाहरुका अधिकारको सुनिश्चित, लैंगिक समानता र सशक्तिकरण भएको भन्दै महिलाहरुको सशक्तिकरणलाई महासंघले पनि विशेष जोड दिंदै आएको बताउनुभयो ।

महासंघ महिला उद्यमी समितिका वरिष्ठ उपाध्यक्ष रीता अवालले महिला उद्यमशीलताको कुरा गरिरहँदा महिला सिर्जनशील र आर्थिक रुपमा सशक्तिकरण हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । महिलामा पारिवारीक, सामाजिक, संघसंस्थादेखि व्यवसायिक जिम्मेवारीमा पनि अब्बल रुपमा प्रस्तुत गरेको बताउनुभयो ।

महासंघ महिला उद्यमी समिति बागमतिका अध्यक्ष सुलोचना श्रेष्ठले उद्यमशीलताले महिलाको विकासमा ठूलो टेवा पु-याउने भन्दै उद्यमशीलतामा लाग्न महिला दिदीबहिनीहरुलाई आब्हान गर्नुभयो ।

उद्यमले स्वावलम्बी हुन सिकाउनुको साथै परिवारलाई पनि आर्थिक, सामाजिक रुपमा ठोस योगदान पु-याउन सक्ने भन्दै उहाँले भन्नुभयो “जसको हातमा सीप छ उसले कसैको मुख ताक्नु पर्दैन स्वम एक सक्षम नागरिकको रुपमा आफुलाई स्थापित गर्न सफल हुन्छ । तसर्थ जागिर खोज्ने होइन आफू श्रृजनशील भएर सीप सिकेर केही गर्न सक्ने हुनुपर्छ ।”

महासंघको ललितपुर महिला उद्यमी समितिका कोषाध्यक्ष गुणकेशरी ताम्राकारले महिलाको पूर्ण सहभागिता बिना देशको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक एवं वातावरणीय विकास सम्भव नभएको बताउनुभयो ।

देशको अर्थतन्त्रको मेरुदण्ड नै उद्योगको विकास भएको भन्दै उहाँले महिला उद्यमशीलताको विकास भएमा मात्र समग्र राष्ट्रको विकास हुन सक्ने बताउनुभयो ।

कार्यक्रममा महासंघ ललितपुर जिल्ला अध्यक्ष अष्टमान महर्जन, महासंघ महालक्ष्मी नगर कमिटीका अध्यक्ष बसन्त महर्जन, महासंघ ललितपुर जिल्ला महिला समिति अध्यक्ष गुण लक्ष्मी अवाल तथा कोषाध्यक्ष निर्मला शाक्य, नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति महालक्ष्मी नगर कमिटीका अध्यक्ष रचना श्रेष्ठ, नेपाल परिवार नियोजन संघ उपत्याका शाखाका प्रमुख शरद अर्याललगायतले बोल्नुभएको थियो ।


SHARE THIS