सेबोन अध्यक्षमा डा. गोपाल प्रसाद भट्टको पदबहाली, लगानीकर्ता हितमा काम गर्न निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्टले सोमबार बोर्डको कार्यालय ललितपुरमा पदभार ग्रहण गर्नुभएको छ ।

नेपाल सरकार (मन्त्रिपरिषद) को असार ५ गतेको निर्णयानुसार अध्यक्षमा नियुक्त हुनुभएका उहाँले सोमबारै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबाट पद तथा गोपनीयताको सपथ लिई बोर्डमा पदबहाली गर्नुभएको हो ।

नवनियुक्त अध्यक्ष डा.गोपालप्रसाद भट्टलाई सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री वाग्लेले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।

शपथपछि अर्थमन्त्री डा.वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न निर्देशन पनि दिनुभयो ।

कुनै पनि प्रकारका लोभ र प्रलोभनबाट टाढा रहेर काम गर्न पनि उहाँले अध्यक्ष भट्टलाई निर्देशन दिनुभयो ।

लगानीकर्ताको लगानीको सुरक्षा र बजारमा पूँजी परिचालनमार्फत आर्थिक बृद्धिको लय समाउन नवनियुक्त अध्यक्षले विशेष ध्यान दिनुपर्ने पनि उहाँको भनाइ छ ।

‘कुनै पनि लोभ र प्रभावमा नपरी पुँजीबजारका लगानीकर्ताको लगानीको सुरक्षा गर्नुहोस्,’ अर्थमन्त्री डा.वाग्लेले भन्नुभयो, ‘म साथमा छु । सरकारले सबैखाले सहयोग गर्छ । पूँजी परिचालनमार्फत आर्थिक बृद्धिको बाटो समात्ने वातावरण बनाउनुहोस् ।’

अर्थमन्त्री डा. वाग्लेले पुँजी बजार सुधारका कामहरू गर्न हरेक दिन, हप्ता, महिना, छ महिना र एक वर्षका योजना के हुन्, त्यो पेस गर्न पनि नवनियुक्त अध्यक्ष भट्टलाई निर्देशन दिनुभयो ।

बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाथि त्रास सिर्जना गरिएको भन्दै अर्थमन्त्री वाग्लेले त्यसलाई चिर्न पनि अध्यक्ष भट्टलाई निर्देशन दिनुभयो ।

‘धेरै बोलेर नभई कामले प्रमाणित गर्नुस । पूँजी बजार सुधारका योजनाहरू समयसीमा बनाएर कार्यान्वयन गर्नुहोस् । बजारमा कन्फिडेन्स बढाउँदै लगेर नियमनको भूमिका कुशलतापूर्वक निभाउनुहोस्,’ अर्थमन्त्रीले भन्नुभयो, ‘मन्त्रालयबाट कुनै प्रकारको हस्तक्षेप हुँदैन । धेरै बोलेर होइन, नतिजामा काम गर्नुहोस् । मलाई हरेक हप्ता बजारको ब्रिफिङ चाहिन्छ ।’

कार्यक्रममा बोल्दै नवनियुक्त बोर्ड अध्यक्ष भट्टले सरकार र अर्थमन्त्रीको योजनाअनुसार पुँजी बजारको विकासमा इमानदारीपूर्वक काम गर्ने बताउनुभयो ।

आफ्नो ज्ञान, अनुभव र सीपलाई पूर्ण रूपमा बजारका लगानीकर्ताको हित र सरकारको आर्थिक वृद्धिको लक्ष्यलाई सघाउने गरी प्रयोग गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

पुँजीबजार सुधारका लागि विभिन्न समयमा भएका अध्ययन र सिफारिसहरू कार्यान्वयन गर्दै बजारको विकासमा निरन्तर काम गर्ने उहाँको भनाइ छ ।


SHARE THIS