पहिलो दिन सामान्य अंकले सुधारियो सेयर बजार,

काठमाडौँ । अघिल्लो साता भारी गिरावट आएर बन्द भएको सेयर बजार यो साताको पहिलो दिन भने सामान्य सुधारिएको छ ।

साताको पहिलो दिनको सेयर बजारमापक नेप्से परिसूचक चार दशमलव ५५ अंकले उकालो लागेर दुई हजार २७ दशमलव १९ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इण्डेक्स भने शून्य दशमलव ५१ अंकले ओरालो लागेर ३८३ दशमलव ८५ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा पहिलो  दिनको नेप्से शून्य दशमलव २२ प्रतिशतले उकालो लागेको छ भने सेन्सेटिभ इण्डेक्स भने शून्य  दशमलव १३ प्रतिशतले ओरालो लागेको छ ।

अघिल्लो साताको अन्तिम दिनको नेप्से ५७ दशमलव ७४ अंकले ओरालो लागेर दुई हजार २२ दशमलव ६४ को विन्दुमा पुगेर रोकिएको थियो । सेन्सेटिभ इण्डेक्स पनि ११ दशमलव ९८ अंकले ओरालो लागेर ३८४ दशमलव ३६ को विन्दुमा पुगेर रोकिएको थियो । समग्रमा अन्तिम दिनको नेप्से दुई दशमलव ७८ प्रतिशतले ओरालो लागेको थियो भने सेन्सेटिभ इण्डेक्स पनि तीन दशमलव शून्य दुई प्रतिशतले ओरालो लागेको थियो ।

आइतबार दिनभर २६२ कम्पनीहरुको ६५ लाख १५ हजार ८५२ कित्ता सेयर ५० हजार ५३२ पटक खरिदबिक्री हुँदा दुई अर्ब ५२ करोड ५० लाख ७१ हजार ८०६ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा धेरै फरक छैन । केबल २३ लाख रुपियाँले बढी हो ।

अघिल्लो दिन २६० कम्पनीहरुको ६३ लाख २६ हजार १०५ कित्ता सेयर ४८ हजार १०५ पटक खरिदबिक्री हुँदा दुई अर्ब ५२ करोड २७ लाख १३ हजार १५३ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।

आइतबार १० करोड ५८ लाख ७० हजार ९७ रुपियाँ बराबरको सेयर खरिदबिक्री भएर हिमालय डिष्टीलरी शीर्ष स्थानमा पुगेको छ । एनआइसी एसिया बैंकको सात करोड ८६ लाख ६७ हजार ९२२ रुपियाँ, छिमेक लघुवित्तको सात करोड १६ लाख ९९ हजार २२९ रुपियाँ, जीवन विकास लघुवित्तको छ करोड ९६ लाख २८ हजार ६७८ रुपियाँ र नेस्डो समृद्घ लघुवित्तको छ करोड ९५ लाख ७९ हजार ४८४ रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।

पहिलो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये बैंकिङ, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र व्यापार उपसमूह बाहेक बाँकी आठ उपसमूहको सूचक उकालो लागेको छ ।  लघुवित्त उपसमूहको सूचक सर्वाधिक दुई दशमलव ७८ प्रतिशतले उकालो लागेको आइतबार व्यापार समूहको  होटल तथा पर्यटन समूह तीन दशमलव आठ प्रतिशतले ओरालो लागेको छ ।


SHARE THIS