राष्ट्रिय सहकारी बैंकका सदस्यको खातामा १५ प्रतिशत लाभांश जम्मा

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को कारोबारबाट सेयर सदस्य सहकारी संघ संस्थाहरुलाई १५ प्रतिशत लाभांश वितरण गरेको छ ।

बैंकको १९औं वार्षिक साधारणसभा सकिएकै दिन सोमबार बैंकले गत आर्थिक वर्षको लाभांश १५,४७४ सदस्य सहकारी संघ–संस्थाको खातामा लाभांश रकम पठाएको बैंकले जनाएको छ ।

“साधारणसभाले १५ प्रतिशत लाभांश दिने निर्णय पारित गरेको लगत्तै बैंकले खातामा रकम पठाएका छौंै” बैंकका अध्यक्ष के.बी. उप्रेतीले भन्नुभयो । उहाँका अनुसार साधारणसभा सकिए लगतै सोमबारै सहकारीहरुको खातामा लाभांश पठाइएको हो । एकाइ प्रतिनिधिहरुको साधारणसभा सोमबार सम्पन्न भएसँगै देशभरका सहकारीहरुको खातामा लाभाशंको रकम पठाइएको हो ।

बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा ४३ करोड ४५ लाख ५७ हजार ७४८ रुपियाँ लाभांश वितरण गरेको छ, सहकारी बैंकले विगत पाँच वर्षदेखि लगातार १५ प्रतिशत लाभांश प्रदान गर्दै आएको छ । बैंकले वितरण गरेको यो लाभांशमा संरक्षित पूँजी फिर्ता कोषबाट प्राप्त गर्ने रकम समावेश नगरिएको बैंकले जनाएको छ । बैंकसँग कारोबार गर्ने सम्पूर्ण सदस्य संघ/संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा समेत राष्ट्रिय सहकारी बैंकसँग गरिने कारोबारमा बृद्धि गरी थप लाभान्वित हुन सम्पूर्ण सहकारी संघ–संस्थाहरुमा बैंकले अनुरोध गरेको छ ।

बैंकले छिट्टै नै सदस्यहरुलाई संरक्षित पूँजीफिर्ता कोषको रकम पनि सदस्यको खातामा पठाउने तयारी गरेको छ, बैंकले लाभांश बाहेक कारोबारका आधारमा संरक्षित पूंजीफिर्ता कोषबाट पनि सदस्य सहकारीहरुलाई रकम उपलब्ध गराउँदै आएको छ । संरक्षित पूँजीफिर्ता कोषको रकम कारोबारको आधारमा दिइने र उक्त रकम केही समय पछि प्रदान गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले बताउनुभयो ।


SHARE THIS