काठमाडौं । सरकार र सहकारी पीडित बचतकर्ता र सरकारबीच सात बुँदे सम्झौता भएको छ । दुई महिनादेखि आन्दोलनरत सहकारी पीडित बचतकर्ता संघर्ष समितिले उठाउँदै आएको माग सम्बोधन गर्ने विषयमा सरकारसँग सम्झौता भएको हो ।
सम्झौतासँगै विगत ६४ दिनदेखि सहकारी पीडित बचतकर्ता सदस्यहरुद्वारा माइतीघर मण्डलामा जारी अनसन र धर्ना कार्यक्रम स्थगित भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रञ्जिता श्रेष्ठले माइतीघरमा पुगेर बचतकर्ताका बीच सम्बोधन भएपछि धर्नाको कार्यक्रम स्थगित भएको हो । सम्झौताका बुँदाहरु :
१. सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिका नामबाट माइतिघर मण्डलामा अनसन र धर्ना बसिरहेका सहकारी संस्थाका बचतकर्ता सदस्यहरुको मागका सम्बन्धमा छलफल गरियो ।
२. सहकारी क्षेत्रको सुधारको लागि सुझाव दिन नेपाल सरकार मन्त्रीपरिषद्बारा गठित सहकारी क्षेत्र सुधार सुझाव कार्यदलमा बचतकर्ता सदस्यको अधिकतम हित संरक्षण गर्ने उद्देश्यले अनसन र धर्नामा रहेका सहकारी संस्थाका बचतकर्ताहरुको समेत प्रतिनिधित्व गराउन अधिकतम तीन जनासम्म प्रतिनिधि आमन्त्रित सदस्यको रुपमा समावेश गर्ने ।
३. सहकारी संस्थामा देखिएका विकृति, विसंगति हटाई सहकारीको मूल्य, मान्यता र सिद्धान्तअनुसार सहकारी क्षेत्रको सुधार गर्न विद्यमान कानूनी व्यवस्थाभित्र तत्काल सुधार गर्न सकिने र कानून संशोधन गर्नुपर्ने भए त्यस्तो विषयमा समेत तत्काल मन्त्रालय, सहकारी विभाग र समस्याग्रस्त व्यवस्थापन समितिबाट आवश्यक गृहकार्य अघि बढाउने ।
४. सहकारी संस्थाका बचतकर्ताहरुको बचत फिर्तालाई सुरक्षा प्रदान गर्न तत्काल बचत तथा कर्जा सुरक्षण कोष स्थापनाका लागि मन्त्रालयले तत्काल कार्य प्रक्रिया अगाडि बढाउने ।
५. सहकारी संस्थाबाट भएको कर्जा असुली प्रक्रियालाई छिटो छरितो र प्रभावकारी बनाउन कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायधिकरणको स्थापना गर्न मन्त्रालयले तत्काल कार्य प्रक्रिया अगाडि बढाउने ।
६. ओरियन्टल सहकारीलगायत समस्याग्रस्त घोषित सहकारी संस्थाको तर्फबाट बचतकर्तालाई रकम फिर्ता गर्दा स्पष्ट कार्ययोजना बनाई कार्यान्वयन गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिसँग मन्त्रालयले समन्वय गर्ने ।
७. सहकारी संस्थाका बचतकर्ता सदस्यहरुबाट माईतिघर मण्डलामा जारी अनसन र धर्ना आजैका मितिबाट स्थगन गर्ने ।