मुलुकमा देखिएको वित्तीय संकट समाधानका लागि सबै पक्ष जिम्मेवार बनौ : उप्रेती

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के.बी. उप्रेतीले मुलुकमा देखिएको वित्तीय संकट समाधानका लागि राज्य सहित सरोकारवाला सबै पक्ष जिम्मेवार भएर अगाडि बढ्नुपर्नेमा जोड दिनु भएको छ ।

नेपाल सहकारी पत्रकार समाजका पदाधिकारीहरुसँग बुधबार बैंकको कार्यालयमा भएको अन्तरक्रियामा बोल्दै उप्रेतीले यस्तो बताउनु भएको हो ।

सहकारीसँगै समग्र वित्तीय क्षेत्रमा देखिएको समस्याका बारेमा चर्चा गर्दै अध्यक्ष उप्रेतीले सहकारीसंगै मुलुकको वित्तीय संकट समाधान गर्न सबै पक्ष लाग्नुपर्ने बताउनु भएको हो ।

“सहकारी सदस्यको सहभागितामा सञ्चालन हुने व्यवसाय हो, यसलाई जोगाउनका लागि सदस्यहरुको भूमिका बढाउन आवश्यक छ” अध्यक्ष उप्रेतीले भन्नुभयो – “सहकारीका सदस्यलाई सचेत बनाउने विषयमा सहकारी अभियान, राज्य र सञ्चारक्षेत्रले प्राथमिकता दिनु पर्दछ ।”

सहकारीको समस्या समाधानका लागि सबै पक्षलाई सहयोग गर्न आव्हान गर्दै उप्रेतीले अभियानका तर्फबाट समन्वयकारी भूमिका निर्वाह भइरहेको बताउनुभयो ।

सामुहिक प्रयासबाट सहकारी संघ/संस्थाहरुको थप विकास र प्रवद्र्धन गर्न सकिने भन्दै सहकारीको क्षेत्रसँग जोडिएका विषयवस्तुलाई सत्य–तथ्यमा आधारित भएर समाचार सम्प्रेषण गर्न अध्यक्ष उप्रेतीले आग्रह गर्नु भयो ।

अध्यक्ष उप्रेतीले सहकारी क्षेत्रका कतिपय कमी कमजोरीहरूको खबरदारीसँगै गर्दै सकारात्मक कामहरूको सूचना तथा समाचार सम्प्रेषण हुनु पर्ने बताउनु भयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले सामुहिक प्रयासबाट सहकारी क्षेत्रलाई दरिलो र विश्वासयोग्य बनाउनु पर्नेमा जोड दिनुभयो । “सहकारी बैंक सहकारीहरुको प्रवद्र्धन र विकासका लागि सदैव क्रियाशील छ, हाम्रो तर्फबाट सक्दो प्रयास गरिरहेका छौं” गुरागाईले भन्नुभयो–“सहकारीको समस्या समाधानका लागि अभियान, राज्य र सञ्चारक्षेत्रको समेत सामुहिक भूमिका आवश्यक छ ।”

नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष काजी श्रेष्ठले सहकारी क्षेत्रलाई असहज परिस्थितिबाट बाहिर ल्याउनका लागि अभियानको भूमिका थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।


SHARE THIS