अर्थतन्त्र जोगाउन खर्च कटौती गर्दै सबै निकाय मितव्ययी हुनुपर्ने

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक संस्थाहरुले आर्थिक मितव्ययिता, फजुल खर्च कटौति र स्रोतको परिचालनमा ध्यान केन्द्रित गर्नुपर्ने अहिलेको अवस्थामा बैंकहरुले ध्यान दिनुपर्ने बताउनुभएको छ ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक स्थापनाको ५८ औं वर्षमा प्रवेश गरेको अवसरमा मङ्गलबार राजधानीमा आयोजित समारोहमा उहाँले सार्वजनिक संस्थाहरुले आर्थिक मितव्ययिता अपनाउँदै खर्च कटौती गर्न आवश्यक रहेको बताउनुभयो । अर्थतन्त्र जोगाउनका लागि खर्च कटौती गर्नुपर्ने उल्लेख गर्दै सबै निकाय मितव्ययी हुनुपर्नेमा उहाँको जोड थियो ।

अर्थतन्त्र चलायमान बनाउन आर्थिक बृद्धि आवश्यक रहेको भन्दै अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखिएको समस्या समाधानमा सबैको पहल आवश्यक रहेको बताउनुभयो ।

बैंकिङ सेवाप्रति ग्राहकको आकांक्षा तिब्र रुपमा परिवर्तन भएृको सन्दर्भमा रावा बैंकले आफ्ना सबै प्रकारका ग्राहकहरुको आकांक्षलाई सम्बोधन गर्ने गरी सेवा सुविधाहरुमा गुणस्तरीयता अभिबृद्घि गर्दै अझ भरपर्दोm विश्वसनीय, सुरक्षित तथा ग्राहकमैत्री बनाउनुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो ।

राष्ट्रिय वाणिज्य बैंकलाई नाफामा मात्रै ध्यान नदिन आग्रह गर्दै उहाँले सरकारको लगानी रहेको बैंकले नाफामा मात्रै ध्यान दिन नहुने बताउनुभयो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निजी क्षेत्रका बैंकको मर्जरमा राष्ट्र बैंकले बाध्यात्मक व्यवस्था नगरे पनि अहिलेको व्यवसायिक आवश्यकता बुझेर मर्जर गरिरहेकोतर्फ ध्यानाकर्षण गराउँदै तीनवटा सरकारी वाणिज्य बैंकहरु पनि मर्जरमा जान सक्ने बताउनुभयो ।

सरकारको लगानी रहेका तीनवटा वाणिज्य बैंकहरु पनि आपसी छलफल गरेर मर्जरमा जानसक्ने भन्दै उहाँले भन्नुभयो – ‘‘सरकारी बैंकहरु पनि व्यवसायिक आवश्यकता महशुस गरेर आफ्नो सञ्चालक समितिमा छलफल गरी मर्जरमा जानु अहिलेका लागि उपयुक्त समय हो । यो दबाब होइन, सुझाव हो ।’’

राष्ट्र बैंकले अहिले डिजिटल बैंकिङ कारोबारलाई बढाएको भन्दै कोभिडपछि डिजिटल कारोबार सन्तोषजनक रहेको बताउनुभयो । साथै राष्ट्र बैंक मुलुकभर बैंकिङ सेवा विस्तार गर्न लागिरहेको पनि उहाँले बताउनुभयो ।

सरकारी बैंक भएको हैसियतले नेपालको बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकको छुट्टै जिम्मेवारी, कर्तव्य तथा मार्गदर्शकीय भूमिका रहेको उहाँको भनाई थियो ।

बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले नेपाल सरकारले लिएका अर्थतन्त्र सबलीकरण सम्बन्धी नीतिहरुको सफलतापूर्वक कार्यान्वयन गर्न, नियमनकारी निकायहरुको निर्देशन पालना गर्न र सुशासनका माध्यमबाट संस्थागत कार्यदक्षतामा सुधार ल्याई बैंकिङसेवा प्रवाहलाई थप प्रतिस्पर्धात्मक एवं उत्तरदायीपूर्ण बनाउन भूमिका निर्वाह गर्ने ध्येयका साथ बैंकलाई आगामी दिनमा अगाडि बढाउने बताउनुभयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराउँदै बैंंकको ग्राहक सेवामा पनि अझ सूधार ल्याउने र सरकारी स्वामित्वका संस्थाहरु प्रतिको जनमानसमा रहेको नकारात्मक छवि र सरकारी पाराको आरोपलाई हदैसम्म हटाई बैंकलाई हरेक पक्षबाट सूदृढ, सबल र ग्राहकमैत्री बनाउने योजना रहेको बताउनुभयो ।

उहाँले २०७९ पुस मसान्तसम्म बैंकले दुई खर्ब ८२ अर्ब रुपियाँ निक्षेप संकलन गरी दुई खर्ब ४१ अर्ब रुपियाँ कर्जा लगानी गरेको बताउनुभयो ।

कार्यक्रममा बैंकका उत्कृष्ट शाखा तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

आज भन्दा ५८ वर्ष अघि २०२२ साल माघ १० गते मुलुकको आर्थिक क्षेत्रकोे विकासमा टेवा पु¥याउने उद्देश्यका साथ स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकसँग कारोबार गर्ने कूल ग्राहकको संख्या करिब ३८ लाख पूगेको छ भने भौगोलिक उपस्थितिको हिसाबले सात वटै प्रदेशका ७७ वटै जिल्ला र सबै जिल्ला सदरमूकाममा समेत गरी जम्मा २६५ शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् । डिजिटल बैंकिङ क्षेत्रमा समेत बैंकले उल्लेखनीय फड्को मारेको बैंकले हालसम्म करिब सात लाख एटीएम प्रयोगकर्ता, करिब १६ लाख मोबाइल बैंकिङ प्रयोगकर्ता, २० हजार इन्टरनेट बैंकिङ  प्रयोगकर्ता तथा १० हजार ब्राञ्चलेस बैंकिङ प्रयोगकर्ता रहेको बैंकले जनाएको छ ।


SHARE THIS