राजधानीमा माघ २४ देखि हुने क्यान इन्फोटेक २०२३ को तयारी अन्तिम चरणमा



काठमाडौं । आगामी मङ्गलबारदेखि राजधानीमा आयोजना हुने इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ इन एसोसिएसन विथ एससीटीको तयारी तीब्र पारिएको छ ।

माघ २४ देखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा आयोजना हुने क्यान इन्फोटेक २०२३ को तयारी तीब्र पारिएको आयोजक पक्षले जनाएको छ । आयोजक कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) का अनुसार छ दिनसम्म चल्ने मेलामा ९० प्रतिशत बढी स्टल बुकिङ भइसकेको छ ।

महासंघका अध्यक्ष रणजीत पोदारले क्यान इन्फोटेकमा सूचना सञ्चार प्रविधि क्षेत्रमा भित्रिएका नवीनतम प्रविधि तथा सेवाको विशेष प्रदर्शनी तथा सरोकारवालाहरुबीच गहन छलफल हुने बताउनुभयो ।

यस वर्ष २८औँ क्यान इन्फोटेकको टाइटल स्पोन्सरमा इन्फोडेभलपर्स प्रालि र एसोसिएट स्पोन्सरमा स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड (एससीटी) रहेका छन् । क्यान इन्फोटेकको इतिहासमै पहिलो पटक सफ्टवेयर कम्पनीले शीर्ष प्रायोजन गरेको हो ।

इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उमेश रघुवंशीले नेपालको सफ्टवेयर उद्योगलाई चिनाउन र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न क्यान इन्फोटेकमा शीर्ष प्रायोजन गरिएको बताउनुभयो । ‘क्यान हार्डवेयरको मात्रै संस्था हो भन्ने भाष्यबाट परिवर्तन गर्न जरुरी थियो । स्वदेशकै सफ्टवेयर र सोलुसन्सको बजार निर्माण गर्न यसपटकको क्यान इन्फोटेक मेलाबाट सहयोग पुग्ने विश्वास लिएका छौं ।’ – उहाँले भन्नुभयो ।

क्यान इन्फोटेक २०२३ को प्लाटिनम स्पोन्सरमा डिशहोम फाइबरनेट, डायमन्ड स्पोन्सरमा नेपाल टेलिकम तथा गोल्ड स्पोन्सरमा माया एनिमेसन एकेडेमी र ह्वावे रहेका छन् । त्यस्तै सिल्भर स्पोन्सरहरूमा एसपावर, डिजिकम र अर्न सिक्का (अनलिमिटेड टेक्नोलोजी) रहेका छन् ।

इन्फोटेकको टिकेटिङ पार्टनरमा पे वेल, इन्स्यारेन्स पार्टनरमा आइएमई जेनेरल इन्स्योरेन्स, नलेज पार्टनरमा लर्ड बुद्ध एजुकेसन फाउन्डेसन, ट्रेनिङ पार्टनरमा इन्टरनेसनल स्कुल फर स्किल्स, फुड एन्ड बेभरेज पार्टनरमा ¥याकेट बार एन्ड इभेन्टस, पावर्ड बाई आइएमई पे र एसएमएस पार्टनरमा स्प्यारो एसएमएस रहेका छन् ।

प्रदर्शनीलाई सफल रुपमा आयोजना हुन देशभित्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, सुबिसु लगायतका संस्थाले सहयोग गरेका छन् । त्यस्तै अन्तर्राष्ट्रिय रूपमा असोसियो र विट्साको पनि सहयोग रहेको छ ।

क्यान इन्फोटेकको अवलोकनका लागि सर्वासाधारणलाई एक सय रुपियाँ र विद्यार्थीलाई ५० रुपियाँ प्रवेश शुल्क निर्धारण गरिएको छ । इन्फोटेकको टिकेटिङ पार्टनर पेवेलको मोबाइल एप डाउनलोड गरी एपबाटै २५ रुपियाँमा अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्था ल्याइएको छ ।

इन्फोटेक सूचना प्रविधिसम्बन्धी चासो राख्नेहरुको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने विशेष थलो पनि हुने विश्वास आयोजकले लिएको छ ।

क्यान इन्फोटेकमा ब्राण्डिङ, आईसीटी एक्ससरिज, प्रडक्ट लञ्चिङसँगै आईटी करियर काउन्सिलिङ (स्टुडेन्ट पेभिलियन), कलेज पेभिलियन, स्टार्टअप पेभिलियन, सफ्टवेयर पेभिलियनको व्यवस्था गरिएको छ । यसपटक नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवद्र्धन गरिएको छ ।

साथै क्यान इन्फोटेककै दौरान हरेक दिन नेपाल पर्यटन बोर्डको सभाहलमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डेटा, मसिन लर्निङ, क्लाउड कम्प्युटिङ तथा अन्य पछिल्ला टेक्नोलोजी ट्रेन्डका विषयमा कन्फ्रेन्स पनि सञ्चालन हुने क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताउनुभयो ।

यस संस्करणको इन्फोटेक मेलालाई करिब साढे तीन लाखले अवलोकन गर्ने अपेक्षा लिइएको छ । राजधानीमा माघ २४ देखि ६ दिनसम्म देशकै ठूलो सूचना प्रविधि प्रदर्शनीको समापन भएपछि सातै प्रदेशमा क्यान इन्फोटेक मेला हुने महासंघले जनाएको छ ।


SHARE THIS