महालक्ष्मी विकास बैंकको नाफामा उछाल

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/७९ मा ९५ करोड १९ लाख आठ हजार रुपियाँ मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०७८/०७९ को अपरिस्कृत वित्तीय विवरण अनुसार नाफा अघिल्लो आ.व. २०७७/७८ को तुलनामा ४४.२१ प्रतिशतले बढाएको हो ।

बैंकले अघिल्लो आ.व.मा ६६ करोड मुनाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानी १८.०८ प्रतिशतले बढेर एक अर्ब ८९ करोड २० लाख पुगेको छ । बैंकले असार मसान्तसम्म ४५ अर्ब ८९ करोड ८३ लाख निक्षेप सङ्कलन गरेर ४० अर्ब ४२ करोड १९ लाख  कर्जा लगानी गरेको हो ।

बैंकको निक्षेप र कर्जा क्रमश ३९ अर्ब ८८ करोड १२ लाखबाट १५.०९ प्रतिशत र ३५ अर्ब ७९ करोड ४४ लाखबाट १२.९३. प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०७७/७८ मा निष्कृय कर्जा अनुपात २.८० प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा ०.३७ प्रतिशतले सुधार भई २.४३ प्रतिशत पुगेको बैंकले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षमा तीन अर्ब ३४ करोड २४ लाख रुपियाँ चुक्ता पूँजी रहेको बैंकले गत आवमा २० प्रतिशत बोनस सेयर दिएर चार अर्ब एक करोड आठ लाख पुर्‍याएको छ । बैंकको प्रतिसेयर आम्दानी १९.७५ रुपियाँ बढेर २३.७३ रुपियाँ पुगेको छ ।

यस्तै बैंकको पूँजी पर्याप्तता अनुपात ११.९४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा सेयरधनी पूँजी कोष पाँच अर्ब ५७ करोड ९३ लाख रहेकोमा आर्थिक वर्ष २०७८/०७९ मा सेयरधनी पूँजी कोष छ अर्ब ४२ करोड नौ लाख रहेको छ ।

प्रदेश नं १ मा पाँच, प्रदेश नं २ मा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा नौ, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा दुई र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब छ लाख ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।


SHARE THIS