पहिलो दिन सुधारियो सेयर बजार, नेप्से २१ सय माथि

काठमाडौँ । अघिल्लो साता लगातार ओरालो लागेर बन्द भएको सेयर बजारले यो साताको शुरुवात भने सुधारबाट गरेको छ ।

आइतबार सेयर बजारमापक नेप्से परिसूचक १०.२७ अंकले उकालो लागेर २१२३.८२ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ३.१० अंकले उकालो लागेर ४०९.५५ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा पहिलो दिनको नेप्से ०.४९ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि ०.७६ प्रतिशतले उकालो लागेको छ ।

केही दिनदेखि लगातार ओरालो लागेको सेयर बजार साताको अन्तिम दिन पनि ओरालै लागेर बन्द भएको थियो । शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक ३४.६१ अंकले ओरालो लागेको थियो । सेन्सेटिभ इन्डेक्स पनि ५.८० अंकले ओरालो लागेको थियो । समग्रमा अन्तिम दिनको नेप्से १.६१ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि १.४१ प्रतिशतले ओरालो लागेको थियो ।

आइतबार २१९ कम्पनीहरुको ६१ लाख छ हजार ५२१ कित्ता सेयर ४४ हजार २४० पटक खरिदबिक्री हुँदा दुई अर्ब ६७ करोड ३३ लाख ३८ हजार २३२ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा पाँच करोड रुपियाँले बढी हो ।

अन्तिम दिन २१३ कम्पनीहरुको ६४ लाख १६ हजार ६२९ कित्ता सेयर ४० हजार ४२४ पटक खरिदबिक्री हुँदा दुई अर्ब ६२ करोड ६१ लाख ५४ हजार ९४८ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।

आइतबार १३ करोड ८९ लाख रुपियाँको सेयर कारोबार भएर शिवम सिमेन्टले अग्रता कायम गरेको  छ । केही दिनयता शिवम् सिमेन्टले अग्रता कायम गरिरहेको छ । यस्तै नबिल बैंकको १२ करोड ७२ लाख, फरवार्ड लघुवित्तको नौ करोड ९२ लाख र एशियन लाइफ इन्स्योरेन्सको आठ करोड १० लाख रुपियाँको सेयर कारोबार भएको छ ।

आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये जीवन बीमा उपसमूहको सूचक बाहेक बाँकी १२ वटा उपसमूहको सूचक उकालो लागेको छ । होटल उपसमूहको सूचक सबैभन्दा धेरै २.१६ प्रतिशतले उकालो लागेको आइतबार होटल तथा पर्यटन २.१६ प्रतिशतले उकालो लागेको छ । विकास बैंक, हाइड्रोपावर, अन्य र वित्त उपसमूहको सूचक एक प्रतिशतभन्दा बढीले उकालो लागेको छ । यता जीवन बीमा उपसमूहको सूचक ०.०५ प्रतिशतले ओरालो लागेको छ ।


SHARE THIS