राष्ट्रिय वाणिज्य बैंकको खुद मुनाफा पाँच अर्ब २१ करोड रुपियाँ, गत वर्षभन्दा झण्डै डेढ अर्ब बढी

काठमाडौँ । नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आ.व.२०७८/७९ को चौथो त्रैमाससमा पाँच  अर्ब २१ करोड खुद मुनाफा आर्जन गरेको छ । गत आ.व. को सोही अवधिमा बैंकको खुद मुनाफा तीन अर्ब ७९ करोड रुपियाँ रहेको थियो । यस अवधिमा बैंकको कर्जा लगानी तथा गुणस्तरमा उल्लेखनीय सुधार भई ब्याज आम्दानी बढेकाले खुद मुनाफा बढेको बैंकले जनाएको छ ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी नौ अर्ब ६७ करोड (गत वर्ष आठ अर्ब २४ करोड), कुल सञ्चालन आम्दानी ११ अर्ब २७ करोड (गत वर्ष नौ अर्ब ७६ करोड), सञ्चालन नाफा सात अर्ब एक करोड (गत वर्ष पाँच अर्ब नौ करोड), कुल समग्र आम्दानी तीन अर्ब आठ करोड (गत वर्ष छ अर्ब ३७ करोड) तथा वितरण योग्य मुनाफा तीन अर्ब तीन करोड  रहेको बैंकले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ ।

२०७९ आषाढ मसान्तमा बैंकको ग्राहक निक्षेप दुई खर्ब ५९ अर्ब र  खुद कर्जा तथा सापट दुई खर्ब २९ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही मितिको तुलनामा बैंकको निक्षेपमा १.८९ प्रतिशतले कमी र कर्जा तथा सापटमा १८ प्रतिशतले बृद्धि भएको छ । आ.व. २०७८/७९ मा बैैंंकको सेयरधनी कोष चार अर्ब ८१ करोडले बृद्धि भई ३३ अर्ब ४८ करोड र कुल सम्पत्ति १९ अर्ब रुपियाँले बृद्धि भई तीन खर्ब २९ अर्ब पुगेको छ ।

२०७९ आसार मसान्तसम्ममा पुँजी कोष अनुपात १३.९७ प्रतिशत, कर्जा र निक्षेप अनुपात ८५.८९ प्रतिशत, आधार दर ७.६३ प्रतिशत, ब्याजदर अन्तर ४.२९ प्रतिशत, कोषको लागत दर ६.०१ प्रतिशत तथा प्रतिसेयर आम्दानी ३४.९० रहेको छ । यस अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपातमा उल्लेखनीय सुधार भई दुई प्रतिशतमा झरेको छ ।

आ.व.२०७८/७९ को चौथो त्रैमाससम्मको समिक्षा अवधिमा बैंकले खुद मुनाफा, कर्जा, सेयरधनी कोष, कर्जाको गुणस्तर लगायत समग्र व्यावसायिक नतिजाहरुमा उत्साहजनक प्रगति हासिल गर्न सफल भएको छ भने नेपाल राष्ट्र बैंकले निर्धारण गरेको सूचकाङ्कहरु परिपालना गर्न तथा प्रमुख परिसूचकहरुमा सुविधाजनक स्थिति कायम गरेको छ ।


SHARE THIS