राष्ट्रिय बीमा कम्पनी नवौं वर्षमा प्रवेश : बीमा बजारको नेतृत्वदायी भूमिका खेल्न सरोकारवालाको सुझाव

काठमाडौँ । समयसापेक्ष आधुनिक प्रविधिको प्रयोग र जनशक्ति विकासगरी बीमा बजारको नेतृत्वदायी भूमिका खेल्न सरोकारवालाहरुले राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई सुझाव दिएका छन् ।

कम्पनीको नवौं वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित समारोहमा बोल्दै विभिन्न सरोकारवालाहरुले समयसापेक्ष आधुनिक प्रविधिको प्रयोग र जनशक्ति विकासका लागि आवश्यक लगानी र चुस्त व्यवस्थापनबाट थप कुशल र प्रतिष्पर्धी तथा बजारको नेतृत्वदायी भूमिका खेल्न सुझाव दिएका हुन् ।
अर्थमन्त्रालयका राजस्व सचिव कृष्णहरी पुष्करले कम्पनीले पूर्ण प्रतिवद्घताका साथ प्रभावकारी सुशासन एवं चुस्त सेवामार्फत आफना ग्राहक तथा सरोकारवालाहरुको अपेक्षा पुरा गर्दै अगाडि बढ्न आग्रह गर्नुभयो ।
सरकारी स्वामित्वको एकमात्र निर्जीवन बीमा कम्पनीका रुपमा कम्पनीले आफनो विगतको कार्य प्रगतिको समिक्षा गर्दै थाती रहेका लेखापरीक्षण कार्य सम्पन्न गर्न उहाँले आग्रह गर्नुभयो ।
प्रचलित बीमा सम्बन्धि कानुनको ऐन एवं बीमा नियमाबलीको अधीनमा रही समयमै आफनो वित्तीय विवरणको प्रकाशन गर्नुका साथै वित्तीय पारदर्शिता, बीमाको व्यवसायिकता, संस्थाकाृ मर्यादा तथा गुणात्मक क्षमता बढाउन पनि उहाँले आग्रह गर्नुभयो ।
बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले कम्पनीले आफनो सेवालाई सर्वसाधारण र विपन्न वर्गसम्म पुर्‍याई बीमाको पहुँच र दायरा बृद्घि गर्न बीमा बजारका नवीनतम अवसरलाई आत्मसात गर्दै प्रतिष्पर्धात्मक एवं ग्राहकमुखी बीमा सेवा उपलब्ध गराउन आग्रह गर्नुभयो ।
समितिले तोकेको समयसीमाभित्र पूँजी बृद्घि नगर्ने कम्पनीको कारोबार रोक्का गर्ने पनि उहाँले बताउनुभयो  । तोकिएको समयसीमाभित्र तोकिएको पूँजी नपुर्‍याउने सरकारी र निजी क्षेत्रको जुन सुकै कम्पनीलाई पनि कानुनी दायरामा ल्याउने उहाँले भनाई थियो ।
नेपाल सर्भेयर एसोसिएसनका अध्यक्ष मोहनपुरुष ढकाल कम्पनीले दुई किसिमको काम गरेको भन्दै एउटा अभिकर्ताको कमिशन कम गरिदिएको र अर्को बीमक संघ र सर्भेयर एसोसिएसनको बीचमा बसेर निर्धारण गरिएको फि कम्पनीले कम गरिदिएको बताउनुभयो ।
कम्पनीसँग सर्भेयर एसोसिएसनले सहकार्य गरेर अगाडि बढ्न खोजेको भन्दै अहिले भएका अवरोध हटाइदिन उहाँले आग्रह गर्नुभयो ।
कम्पनीका अध्यक्ष राजेश्वर ज्ञवालीले अन्तराष्ट्रिय बजारमा प्रवद्र्घन भएका बीमा कार्यक्रमका साथै कर्पोरेट क्षेत्रका व्यवसायिक जोखिम तथा परम्परागत बीमा व्यवसायका सबैखाले आर्थिक गतिविधिसँग कम्पनीको बीमा व्यवसायलाई समेट्दै लैजाने कार्य तीब्र गतिमा हुन थालेको बताउनुभयो । नियामक निकायबाट हालसम्म (आ.व. २०६८/६९ देखि आ.व. २०७२/७३ सम्मको) स्वीकृत वित्तीय विवरणको वार्षिक साधारणसभा यथाशीघ्र गर्ने लक्ष्य लिइएको जानकारी दिंदै उहाँले पछिल्ला आर्थिक वर्षहरुका वित्तीय विवरण पनि यसै आर्थिक वर्षभित्र तयार गरी वार्षिक साधारणसभा गर्ने लक्ष्य लिइएको बताउनुभयो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रराज ओझाले सरकारले लिएको बीमा सम्बन्धी नीति तथा कार्यक्रमको कार्यान्वयनमा प्रमुख सारथी तथा सहयोगीको भूमिका निर्वाह गर्दै आफ्ना कार्यक्रममार्फत सार्वजनिक सेवा प्रदान गर्नु र बीमाको राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा प्रतिष्पर्धा गरी मुनाफा आर्जन गर्नु कम्पनीको दोहोरो दायित्व रहेको बताउनुभयो ।
कम्पनीको लगानीका हिसाबले ऋणपत्र, सेयर र डिबेञ्चरमा बढी रहेको देखिएको जनाउँदै उहाँले हालसम्म नेपाल सरकार, बीमा समिति तथा नेपाल राष्ट्र बैंकद्घारा निर्दिष्ट गरिएका क्षेत्रहरुमा विद्यमान ऐन, नियम नीति तथा निर्देशिकाको परिधीभित्र रही विभिन्न बैंक, वित्तीय संस्था, नेपाल सरकारको ऋणपत्र, सेयर र डिबेञ्चरमा अल्पकालिन तथा दीर्घकालिन लगानी गरी कम्पनीले उच्चतम प्रतिफल प्राप्त गर्दै आएको बताउनुभयो ।
प्रमुख कार्यकारी अधिकृत ओझाले दीर्घकालीन लगानीको रुपमा मुख्यतय कम्पनीको सेयर नबिल बैंकमा एक करोड ७४ लाख १५ हजार १७९ कित्ता, नेपाल इनभेष्टमेन्ट बैंकमा एक करोड ७३ लाख १६ हजार ७४४ कित्ता र नेपाल पुनर्बीमा कम्पनीमा २७ लाख ६९ हजार ५४९ कित्ता सेयर रहेको बताउनुभयो ।
नेपाल आयल निगम, नेपाल बैंक लिमिटेड, ग्लोबल आइएमई, प्रभु बैंक, सिभिल बैंक, नेपाल ल्यूब आयलमा पनि कम्पनीको लगानी रहेको छ । साथै, कम्पनीको २०७९ असार मसान्तसम्ममा नेपालमा रहेका केही क वर्गका वाणिज्य बैंक र ख वर्गका विकास बैंकलगायतको मुद्दती निक्षेपमा करिब पाँच सय करोड रुपियाँ लगानी रहेको उहाँले जानकारी दिनुभयो ।
कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कोइरालाले कम्पनीले राष्ट्रिय गौरवका परियोजनाहरुको पनि बीमा गरेको बताउनुभयो । हालसालै नेपाली सेनाबाट सञ्चालनमा रहेको राष्टिय गौरवको काठमाडौं तराई मधेश फाष्ट टयाक द्रूत्त मार्ग आयोजना, अपर तामाकोशी, अरुण तेस्रो, नेपाल एयरलाइन्स, भेरी बबई आयोजना, नेपाल राष्ट बैंकको नगद कोष, नेपाल आयल निगम, निजामती कर्मचारीहरुको दुर्घटना बीमा, राष्टिय जनगणनाको अवधिमा परिचालन गरिएका गणकहरुको पनि दुर्घटना बीमा गरेको उहाँले बताउनुभयो । यस्तै निर्वाचनका बेलामा खटिने सम्पूर्ण कर्मचारी र सुरक्षाकर्मीको पनि हामीले नै दुर्घटना बीमा गरेको पनि उहाँले बताउनुभयो ।
सरकारी स्वामित्वमा राष्ट्रिय बीमा संस्थानको ५५ वर्ष अगाडि स्थापना भएर जीवन र निर्जीवन बीमाको कारोबार गर्दै आएकोमा २०७१ साउन १८ गतेदेखि निर्जीवन बीमा व्यवसाय छुटै सञ्चालन गर्दै आएको छ ।
निर्जीवन बीमाको सन्दर्भमा सार्वजनिक संस्थानका रुपमा रहेर देशका २० वटा निर्जीवन बीमा कम्पनीमध्ये चौंथो स्थानमा रहेको कम्पनीले यो आर्थिक वर्ष निर्जीवन बीमामा प्रिमियम संकलनका हिसाबले झण्डै १५० प्रतिशतले बढोत्तरी गरेर अगाडि बढेको छ । विगतमा ५५ वर्ष अगाडि जुन रुपले नेपालमा बीमाको अग्रणी कम्पनीका रुपमा शुरु गरेको थियो अब पनि प्रिमियम संकलनका हिसाबले पनि अग्रणी हुने दिशामा कम्पनी अगाडि बढेको छ ।
कम्पनीमा अहिले नेपाल सरकारको ४७.५ प्रतिशत, कर्मचारी सञ्चय कोषको २२ प्रतिशत, नेपाल बैंक लिमिटेडको १०.९६ प्रतिशत र सर्वसाधारण सेयरतर्फ १९.५४ प्रतिशत रहेको भने आर्थिक वर्ष २०७८/७९ मा २६४.७१ करोेड रुपियाँ बीमा शुल्क आर्जन गरेको छ ।
सो अवसरमा कम्पनीमा उत्कृष्ट व्यापार गर्ने अभिकर्ता हरिशरण सिवाकोटी, कान्ता शाह, सदिक्षा न्यौपाने, उत्तर बहादुर ऐर, नारायण गिरी, केशवदत्त जोशीलगायतलाई सम्मान गरिएको थियो । साथै उत्कृष्ट शाखाहरु जनकपुर, भक्तपुर र पाल्पा शाखालाई सम्मान गरिएको थियो ।

SHARE THIS