राष्ट्रिय सहकारी बैंकले बनायो तीन अर्बको तरलता व्यवस्थापन कोष

ललितपुर । सहकारी क्षेत्रमा देखिएको तरलता व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यका साथ राष्ट्रिय सहकारी बैंक लिमिटेडले तीन अर्बको तरलता व्यवस्थापन कोष स्थापना गरेको छ ।

बैंकको सञ्चालक समितिको साउन १९ गते बिहान सम्पन्न सञ्चालक समितिको वैठकले सहकारी क्षेत्रमा देखिएको तरलता व्यवस्थापनमा बैंकका तर्फबाट सहयोग तथा समन्वय गर्नका लागि कोष स्थापना गर्ने निर्णय गरेको बैंकका अध्यक्ष के.बी.उप्रेतीले जानकारी दिनुभयो ।

बैंकमा आवद्ध भएर कारोबार गरिरहेका र तरलता व्यवस्थापनका कारण समस्यामा परेका सहकारीहरुलाई तत्काल समन्वय गरी संकटबाट जोगाउनका लागि बैंकका सञ्चालक रामहरि बजगाईको संयोजकत्वमा बैकका सात वटै प्रदेशका संयोजकहरु र बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाई सदस्य रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यदल समेत गठन गरेको छ ।

सहकारीमा देखिएका समस्याहरु समाधानका लागि जुन प्रदेशमा समस्या आउँछ, त्यो प्रदेशको संयोजक सदस्य रहने गरी गठित कार्यदलले सहकारीमा देखिने समस्याको समाधानका लागि तत्काल समन्वय गरिने अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो ।

सहकारी क्षेत्रमा देखिएका समस्याको पहिचान गरी सहकारी संघ संस्थाहरुले काम गर्दै गर्दा आइपर्ने समस्या समाधानका लागि बैंकका तर्फबाट समन्वय गर्ने र आवश्यकताका आधारमा तत्काल सहयोग समेत गर्ने गरी कोष स्थापना गरिएको बैंकका प्रमुख कार्यकारी अधिृकत बद्रीकुमार गरागाईले जानकारी दिनुभयो ।

अध्ययन अनुसन्धान र सुधारका लागि सुझाव दिने थिंक ट्याङ्क

राष्ट्रिय सहकारी बैंक लिमिटेडले बैंकको सेवा सुविधामा थप सुधार तथा सहकारी क्षेत्रको सम्भावना, समस्या र समाधानका लागि अध्ययन अनुसन्धान र सुधारका लागि सुझाव दिने गरी सहकारी विद्वत समुह (थिंक ट्याङ्क) गठन गरेको छ ।

बैंकको सञ्चालक समितिको साउन १९ गते सम्पन्न सञ्चालक समितिको बैठकले विद्वत समुह गठन गरेको हो ।

सहकारीलगायत वित्तीय क्षेत्रमा विभिन्न तहमा रहेर योगदान गरेका विशेषज्ञ तथा विषयसंग सम्बन्धित व्यक्तिहरुको सहभागितामा विद्वत समुह गठन गरिएको बैंकका अध्यक्ष के.बी.उप्रेतीले जानकारी दिनुभयो ।

विद्वत समुहका सदस्यहरुमा नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर दिपेन्द्र बहादुर क्षेत्री, एशियाली ऋण महासंघका पूर्व अध्यक्ष ऋषिराज घिमिरे, विषयविज्ञ डा.भिष्म अधिकारी, डा.गोविन्दराज जोशी, डा. रामजीप्रसाद न्यौपाने,, डा. दिप बहादुर रावल, सहकारी अभियानकर्मीहरु डि.बी.वस्नेत, सरिता तिम्सिना भट्टराई, रामशरण शर्मा घिमिरे, केशव प्रसाद पोखरेल, विष्णु पाठक रहनु भएको छ ।

बैंकले दिने सेवा सुविधा, कानुनी संरचनाहरु लगायत सहकारी क्षेत्रको सवलीकरणका लागि आवश्यक सुझाव तथा समन्वयका लागि विद्वत समुहसँग समन्वय गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिनुभयो ।

यसैबीच बैठकले बैंकको शिक्षा तालिम तथा सम्मान उपसमितिका संयोजकमा बैंकका सञ्चालक राम बहादुर जिसीलाई चयन गरेको छ । यस्तै सदस्यमा सञ्चालक ज्ञान बहादुर तामाङलाई चयन गरिएको छ ।

बैंकको कर्मचारी सेवा सुविधा उपसमितिको संयोजकमा अमृता सुब्बा तथा सदस्यहरुमा महेन्द्र कुमार गिरी, माधवलाल देवकोटा र सदस्य सचिवमा नायव महाप्रवन्धक राजेश श्रेष्ठ रहनु भएको छ ।

यस्तै जोखिम व्यवस्थापन उपसमितिको संयोजकमा बैंकका सञ्चालक माधवलाल देवकोटा तथा सदस्यहरुमा सञ्चालकहरु पार्वती थापा र महेन्द्र कुमार गिरी तथा सदस्य सचिवमा प्रमुख सञ्चालन अधिकृत मोहन कुमार कार्की रहनु भएको छ ।


SHARE THIS