नेपाल बैंक र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन केन्द्रीय विभागबीच सम्झौता, अनुसन्धानमा सहकार्य गरिने

काठमाडौं । नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय बिभागबीच अनुसन्धान सम्बन्धि कार्यमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौता अनुसार त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागमा अध्ययनरत बिद्यार्थीहरुले नेपाल बैंकमा इन्टनशिप गर्न पाउने भएका छन् भने सो विभागका बिद्यार्थीहरु र प्राध्यापकहरु मार्फत नेपाल बैंकले आर्थिक तथा बैंकिङ्ग क्षेत्रमा आफ्ना अनुसन्धानात्मक कार्यहरु सञ्चालन गर्नेछ ।

बैंकको अनुसन्धान सम्बन्धी कार्यको लागि व्यवस्थापन विभागले विषय विज्ञको रूपमा प्राध्यापकहरूको सूची बैंकलाई उपलब्ध गराउनेछ र सो सूची अन्तरगतका प्राध्यापकहरुलार्ई आवश्यकता अनुसार बैंकले अनुसन्धानको लागि विषय विज्ञका रूपमा नियुक्त गर्नेछ ।

त्यसैगरी बैंकले गरेका अनुसन्धान सम्बन्धी कार्यमा व्यवस्थापन विभागमा सञ्चालित शैक्षिक कार्यक्रमहरू एमबिए र एमबिएममा अध्ययनरत विद्यार्थीहरूलाई ग्राजुएसन रिसर्च प्रोजेक्ट(जिआरपी) अन्तरगत शोधपत्र लेखनका लागि छात्रवृत्तिस्वरूप न्यूनतम पाँच जना विद्यार्थीहरूलाई बैंकले प्रति बिद्यार्थी नगद तीस हजार प्रदान गर्ने भएको छ ।

बैंकले व्यवस्थापन विभागमा एमविए ईन कर्पोरेट लिडरसिपमा अध्ययन गरेका एक जना छात्र र एक जना छात्रा गरी दुई जना सर्वोत्कृष्ट विद्यार्थीहरूलाई प्रत्येक शैक्षिक सत्रमा नगद र मेडल सहित “नेपाल बैंक कर्पोरेट लिडरसिप अर्वाड” समेत प्रदान गर्नेछ ।

निेपाल बैंकको प्रधान कार्यालयमा सम्पन्न सम्झौतापत्रमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागका निमित्त बिभागीय प्रमुख सह–प्राध्यापक नवराज अधिकारी र नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत होम बहादुर खड्काले हस्ताक्षर गर्नुभयो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले त्रि.वि व्यवस्थापन केन्द्रीय विभाग संगको सहकार्यले नेपाल बैंकको अनुसन्धान सम्बन्धि कार्यमा ठूलो मद्दत पुग्ने बिश्वास व्यक्त गर्नुभयो । त्रिभुवन विश्वबिद्यालय व्यवस्थापन केन्द्रीय बिभागका निमित्त विभागीय प्रमुख सह प्राध्यापक नवराज अधिकारीले नेपालको पहिलो बैंकसंग आफ्ना बिद्यार्थी र प्राध्यापकहरुले अनुसन्धानात्मक कार्यमा सहकार्य गर्नु गर्वको विषय रहेको धारणा व्यक्त गर्नुभयो साथै उहांले सो अवसर प्रदान गरेकोमा बैंकलाई धन्यबाद समेत व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा त्रि.बि व्यवस्थापन विभागका एमविए प्रोगाम डाइरेक्टर सह–प्राध्यापक ज्ञानमणी अधिकारी, सह–प्राध्यापक डा. धुब्रलाल पाण्डेय, डा.बलराम दुवाल र डा.भरतसिंह थापाको समेत उपस्थिती रहेको थियो भने बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत समता पन्त, सहायक प्रमुख कार्यकारी अधिकृत विश्वराज बराललगायतको उपस्थिती रहेको थियो ।


SHARE THIS