छैटौं संस्करणको काठमाडौं युथ कन्क्लेभ २०२६ आगामी शनिबार हुँदै

छैटौं संस्करणको काठमाडौं युथ कन्क्लेभ २०२६ आगामी शनिबार हुँदै

काठमाडौं । युवाको नेतृत्व, प्रेरणा, उद्यमशीलता र नागरिक सहभागितालाई सशक्त बनाउने उद्देश्यसहित काठमाडौं युथ कन्क्लेभ (केवाइसी) २०२६ को छैटौं संस्करण आगामी शनिबार काठमाडौंमा आयोजना हुने भएको छ ।

''जेन–जेड हिरोजलाई सम्मान'' मूल नारासहित आगामी साउन १६ गते शनिबार राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना आयोजना गर्न लागिएको आयोजक पक्षले जनाएको छ ।

आयोजकका अनुसार गत भदौमा भएको जेन–जेड आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूप्रति सम्मान अर्पण गर्नुका साथै आन्दोलनमा घाइते भएकाहरूको साहस, योगदान र समर्पणको सम्मान गर्ने उद्देश्यले यस वर्षको कन्क्लेभ आयोजना गर्न लागिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल सहभागी हुनेछन् । साथै, विश्वका १४ वटै आठ हजार मिटरभन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गर्नुका साथै के–टु -केटु) हिमालको ऐतिहासिक शीतकालीन आरोहण गर्ने पर्वतारोही तथा प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु शेर्पालाई केवाइसी युवा प्रेरणा सम्मान प्रदान गरिने आयोजकले जनाएको छ ।

कन्क्लेभमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल, कथावाचक साइग्रेस पोखरेल, नृत्यांगना तथा मोडल कविता नेपाली, अभिनेता पारस बम, गायक तथा संगीतकार एसटी म्यान, गायक बृजेश श्रेष्ठ, उद्यमी खेम संग्रौला, सामग्री निर्माता कुसुम नेपाल, गायिका अस्मिता अधिकारी, गायक महेश काफ्ले तथा हास्यकलाकार मेक्सम गौडेल लगायतको सहभागिता रहनेछ । कार्यक्रमको सञ्चालन प्रिया सिग्देल र जय प्रधान ले गर्नेछन् ।

फिनिक्स कलेज अफ म्यानेजमेन्ट, युनिभर्सल कलेज र आर्यन स्कुल अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट को संयुक्त आयोजनामा हुने कन्क्लेभको मुख्य प्रायोजक एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज रहेको छ। एनसेल फाउन्डेसन ले कार्यक्रमलाई सहयोग गरेको छ भने ग्लोबल आइएमई बैंक, रेड बुल नेपाल, खल्ती, नेसनल प्याथल्याब र एसीसीए क्रमशः बैंकिङ, ऊर्जा पेय, डिजिटल भुक्तानी, स्वास्थ्य परीक्षण तथा शैक्षिक साझेदारका रूपमा रहेका छन् ।

कार्यक्रममा करिब पाँच हजारभन्दा बढी युवा तथा विद्यार्थी सहभागी हुने अपेक्षा गरिएको केवाइसीका संयोजक राजु टण्डनले बताउनुभयो ।

भदौ अन्तिम साता नायर अष्ट्रेलियन एजुकेशन एक्स्पो २०२५ आयोजना हुने

भदौ अन्तिम साता नायर अष्ट्रेलियन एजुकेशन एक्स्पो २०२५ आयोजना हुने

काठमाडौं । राजधानीमा अहिलेसम्मकै बृहत अष्ट्रेलियन शैक्षिक मेला २०८२ आयोजना हुने भएको छ । 'स्टडी इन अष्ट्रेलिया’ भन्ने मूल नाराका साथ राजधानीमा आगामी भदौ अन्तिम साता नायर अष्ट्रेलियन एजुकेशन एक्स्पो २०२५ आयोजना हुन लागेको हो ।

नेपाल एसोसिएशन अफ अष्ट्रेलियन एजुकेशन रिप्रेसेन्टेटिभ्स (नायर) को आयोजनामा हुने उक्त शैक्षिक मेला आगामी भदौ २९ गते काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने बताइएको छ ।

आयोजकका अनुसार मेलामा अष्ट्रेलियाका विश्वविद्यालय र कलेजका प्रतिनिधिहरूसहित उल्लेख्य संख्यामा शैक्षिक संस्थाहरूको सहभागिता रहनेछ । विद्यार्थीहरूले अष्ट्रेलियामा अध्ययन गर्न आवश्यक शैक्षिक ऋण, भिसा प्रक्रिया, छात्रवृत्ति विवरण, भर्ना प्रक्रिया तथा बीमा सेवाबारे प्रत्यक्ष जानकारी पाउने आयोजक पक्षले जानकारी गराएको छ । विशेषगरी यस वर्ष कक्षा १२ पुरा गरेका विद्यार्थी, स्नातक र स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरू साथै अभिभावकहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।

नायरका अध्यक्ष उद्धव खड्काका अनुसार शैक्षिक मेलाले विद्यार्थीहरूलाई अष्ट्रेलियामा उच्च शिक्षा सम्बन्धी सबै आवश्यक परामर्श निःशुल्क उपलब्ध गराउनेछ । सो अवसरमा विभिन्न छात्रबृत्तिको व्यवस्था गरिएको र विद्यार्थीहरूलाई सीधा अवसर लिन सकिने वातावरण मिलाइएको आयोजकको भनाई छ ।

मेलाको इभेण्ट म्यानेजमेन्ट इन्ट्रोडक्सन ट्रेड शो नेपाल प्रालिले गर्ने भएको छ भने नायरका अध्यक्ष उद्धव खड्का र महासचिव विराज पाण्डेले यसलाई सफल बनाउन तयारी तीब्र पारिएको जनाउनुभएको छ । आयोजकले यस मेलालाई नेपाली विद्यार्थीका लागि अष्ट्रेलियामा उच्च शिक्षा हासिल गर्न विश्वसनीय प्लेटफर्मको रूपमा प्रस्तुत गरेको छ ।

नेपाल एसोसिएशन अफ अष्ट्रेलियन एजुकेशन रिप्रेसेन्टेटिभ्स (नायर) अष्ट्रेलियामा अध्ययनका अवसरबारे नेपाली विद्यार्थीलाई सहज, पारदर्शी र विश्वासिलो शैक्षिक परामर्श दिने उद्देश्यले स्थापना गरिएका शैक्षिक संस्थाहरुको छाता संगठन हो । अष्ट्रेलियाका विश्वविद्यालय तथा कलेजहरूसँग प्रत्यक्ष समन्वय गर्दै नायरले शिक्षा मेला, सेमिनार र अन्तरक्रियामार्फत विद्यार्थी र अभिभावकलाई आवश्यक जानकारी, भिसा प्रक्रिया, छात्रबृत्ति तथा अन्य शैक्षिक सेवाबारे मार्गदर्शन गर्दै आएको छ ।

‘काठमाडौँ युथ कन्क्लेभ २०२५’ : पाँच हजारभन्दा बढी युवाको उत्साहजनक सहभागिता

‘काठमाडौँ युथ कन्क्लेभ २०२५’ : पाँच हजारभन्दा बढी युवाको उत्साहजनक सहभागिता

काठमाडौँ । राजधानीमा ‘काठमाडौँ युथ कन्क्लेभ २०२५’ भब्यताका साथ सम्पन्न भएको छ । युवामा उद्यमशीलता विकास, नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकासमा सहयोग पु-याउने उद्देश्यले शनिबार राजधानीमा ‘काठमाडौँ युथ कन्क्लेभ २०२५’ आयोजना गरिएको थियो ।

युवाहरूलाई जोड्न र आवश्यक नेतृत्व, उद्यमशीलता विकास, व्यवस्थापकीय र औद्योगिक सीपहरूद्वारा सशक्त बनाउनको लागि एक आदर्श प्लेटफर्मको रूपमा कन्क्लेभले कार्य गरेको आयोजक पक्षले जनाएको छ ।
राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा शनिबार बिहानदेखि शुरु भएको कन्क्लेभमा करिब पाँच हजारभन्दा बढी विद्यार्थीको उपस्थिति रहेको थियो । कार्यक्रममा उद्यमशीलता, नेतृत्व र व्यवस्थापन सीप विकासबारे विभिन्न सत्रहरू सञ्चालन भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार हरिवंश आचार्यले राजनीतिक निराशा रहेपनि देशमै गर्न सकिने थुप्रै अवसरहरुबारे उपस्थित युवाहरुको ध्यानाकर्षण गराउनुभएको थियो ।
बुबाको मुख हेर्ने दिनको शुभकामना दिँदै उहाँले हरेक दिन बुबा आमालाई पुज्नपर्ने बताउनुभयो । बुबाआमाको सबैभन्दा ठूलो सपना भनेको नै छोराछोरी भएको भन्दै उहाँले भन्नुभयो – “बुबाआमा भनेको संसारमा कोहीसँग पनि हार्न चाहँदैनन् । तर आफ्नो सन्तानले सधैँ जितोस् भन्ने चहान्छ । फार्दश डे, मदर्श डे एकदिन मनाएर मात्र पुग्दैन । हरेक जीवनभर फादर्श र मदर्श डे मनाइरहनुपर्छ ।”
कार्यक्रममा ‘केवाईसी युथ आइकन’ सम्मान भ्लगर तथा सञ्चारकर्मी सिसन बानियालाई प्रदान गरिएको थियो । बानियालाई अक्षरूपी एक लाख रुपियाँ सहित सम्मानित गरिएको थियो । डिजिटल मिडिया, चलचित्र निर्माण तथा फोटोग्राफीमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन योगदान पु-याएको भन्दै आयोजकले उहाँको लगनशीलता र प्रतिबद्धताको प्रशंसा गरेका थिए ।
त्यस्तै, ‘गेष्ट अफ अनर’ को रुपमा एम.एम.ए खेलाडी रबिन्द्र ढाँटलाई सम्मान गरिएको थियो । ढाँटले हालै भारतमा आयोजित म्याट्रिक्स फाइट नाइट १७ मा उपाधि जित्दै पहिलो नेपाली फाइटर बन्ने ऐतिहासिक उपलब्धि हासिल गर्नुभएको थियो । उहाँको यो विजयलाई राष्ट्रिय गौरवका रूपमा प्रस्तुत गर्दै आयोजकले अनुशासन र संघर्षद्वारा सफलता सम्भव हुने सन्देश युवामाझ पुगेको कन्क्लेभका संयोजक राजु टण्डनले बताउनुभयो ।
यसैगरी, नेपाली कला र मनोरञ्जन क्षेत्रमा सक्रिय गायक दुर्गेश थापालाई ‘पर्फर्मर अफ द इयर’ सम्मान प्रदान गरिएको छ । गीत–संगीतमार्फत दर्शकको मन जित्दै नेपाली कला क्षेत्रमा निरन्तर योगदान दिइरहेको भन्दै उहाँको योगदानको उच्च कदर गरिएको संयोजक टण्डनको भनाई छ ।
‘काठमाडौं युथ कन्क्लेभ’ युनिभर्सल कलेज, फिनिक्स कलेज अफ म्यानेजमेन्ट र आर्यन स्कूल अफ इन्जिनियरिङ तथा म्यानेजमेन्टको संयुक्त आयोजनामा नेपाल प्रज्ञा–प्रतिष्ठानमा सम्पन्न भएको हो । युथ कन्क्लेभमा ख्यातिप्राप्त कलाकार, खेलाडी, लेखक, उद्यमी तथा सरोकारवालाहरूले आफ्ना अनुभव र प्रेरणादायी विचार प्रस्तुत गरेका थिए । गीत–संगीत, हास्यव्यंग्य, नृत्य र विद्यार्थीका प्रस्तुतिले सभाहललाई उत्साहमय बनाएको थियो ।
वि.स. २०७६ सालदेखि शुरु गरिएको कार्यक्रमको यो छैठौं संस्करण हो । यसलाई प्रत्येक वर्ष निरन्तरता दिइने आयोजकको भनाई छ ।
"युवाको उडान: काठमाडौँ युथ कन्क्लेभ २०२५" शनिबार राजधानीमा आयोजना हुँदै

"युवाको उडान: काठमाडौँ युथ कन्क्लेभ २०२५" शनिबार राजधानीमा आयोजना हुँदै

काठमाडौँ । युवामा उद्यमशीलता विकास, युवाको नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकासमा सहयोग पु-याउने उद्देश्यले शनिबार राजधानीमा ‘काठमाडौँ युथ कन्क्लेभ २०२५’ आयोजना गरिने भएको छ ।
युवाहरूलाई जोड्न र आवश्यक नेतृत्व, उद्यमशीलता विकास, व्यवस्थापकीय र औद्योगिक सीपहरूद्वारा सशक्त बनाउनको लागि एक आदर्श प्लेटफर्मको रूपमा कन्क्लेभले कार्य गर्ने आयोजकको अपेक्षा रहको छ ।
युनिभर्सल कलेज, फिनिक्स कलज अफ म्यानेजमेन्ट र आर्यन स्कूल अफ इन्जिनियरिङ तथा म्यानेजमेन्टको संयुक्त आयोजनामा हुने कन्क्लेभले युवालाई उद्यमशीलता, नेतृत्व विकास, नेपालमा अवसर सिर्जना गर्ने, बौद्धिक पलायन रोक्ने र केही हदसम्म प्राज्ञिक विकासमा सहयोग पुग्ने कन्क्लेभका संयोजक राजु टण्डनले जानकारी दिनुभयो ।
विद्यार्थीहरूलाई सही करियरको बाटो खोज्न मद्दत गर्ने, आशाजनक स्टार्टअप उद्यमहरूलाई प्रवद्र्धन गर्ने, सामाजिक संलग्नता र पहुँचलाई प्रोत्साहन गर्ने, परम्परागत शैक्षिक प्रणालीमा आवश्यक परिवर्तनहरू ल्याउने, सेलिब्रेटीहरू र सरोकारवालाहरूलाई फराकिलो युवा स्रोताहरूसँग जोड्ने युथ कन्क्लेभको प्रमुख उद्देश्य रहेको छ ।
राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाहलमा शनिबार बिहान १० बजे सुरू हुने कार्यक्रममा कलाकार हरिवंश आचार्य प्रमुख अतिथिको रूपमा उपस्थित हुने आयोजक पक्षले जनाएको छ ।
एक्सपर्ट एजुकेशनको शीर्ष प्रायोजनमा करिब पाँच हजार विद्यार्थी सहभागी हुने उक्त कार्यक्रम कलेजद्वारा आयोजित सबैभन्दा ठूलो नेतृत्व मञ्च हुने आयोजकको अपेक्षा रहेको छ । विद्यार्थीलाई सही दिशानिर्देश गर्न, सामाजिक संलग्नतामा उत्प्रेरित गर्न र परम्परागत शिक्षण विधिमा आवश्यक परिवर्तन ल्याउन कन्क्लेभ सहयोगी बन्ने उहाँले बताउनुभयो ।
युवा विद्यार्थीहरूलाई उत्प्रेरित र प्रेरित गर्ने कार्यक्रम केवाइसी कन्क्लेभमा काठमाडौं उपत्यकासहित देशका मुख्य शहरवाट पनि विद्याथीले सहभागिता जनाउने भएका छन् । परम्परागत शिक्षण विधिमा आवश्यक परिवर्तन ल्याउँदै नयाँ विधिको प्रवद्र्धन गर्ने कार्यक्रमको उद्देश्य हो। यस्तै युवा विद्याथीहरुलाई पढाइका साथै उद्यमशीलता र व्यवसायिक विकासमा सघाउने तथा विभिन्न सेलिब्रेटी र अन्य विशिष्ट व्यक्तिको ज्ञान र अनुभवलाई युवावर्गसँग जोड्ने लक्ष्य कार्यक्रमको रहकेो छ ।
कार्यक्रममा गीत, संगीत, हास्यव्यङ्यसहित देशका ख्यातिप्राप्त व्यक्तित्वहरूले आफ्ना सफलताका कथा, ऊर्जा र उत्प्रेरणाका विचारहरू प्रस्तुत गर्ने छन् ।
कार्यक्रमबाट सरकारलाई युवा विद्यार्थीका माग र सरोकारका विषयमा गम्भीर बन्न आग्रह गरिने कार्यक्रम संयोजक टण्डनले बताउनुभयो । सम्मेलनबाट विद्यार्थीलाई देशप्रेमी बनाउन मद्दत गर्ने विश्वास लिइएको छ । युवामा विदेश मोह बढ्दै गइरहेका बेला स्वदेशमै प्रशस्तै सम्भावाना छन् भनेर उत्प्रेरणा थप्ने काम गरिने आयोजकको दाबी छ ।

कार्यक्रममा केवाइसी–२०२५ युथ आइकनवाट सिसन बानियालाई सम्मान गरिने भएको छ । यस्तै कार्यक्रममा एम.एम.ए खेलाडी रबिन्द्र ढाँट गेस्ट ओफ ओनरका रुपमा उपस्थित हुदै छन, चर्चित गायक दुर्गेश थापालाई पर्फमर अफ द इयर उपाधि प्रदान गरिदैछ । साथै एनसेलका प्रमुख कार्यकारी अधिकृत सईद मोहम्मद इनामुल कविर, नेपाल प्रहरीका ए.आ.जी. दान बहादुर कार्की, गायक भेक, खेम संग्रौला, हाँस्य कलाकार तथा टेलिभिजन प्रस्तोता सन्दीप क्षेत्री, क्यानका सचिव तथा नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का, निर्देशक तथा कोरियोग्राफर प्रदिप लामा, चर्चित -यापर ओ.एम.जी. स्पार्क, एल.जी वी.टी.क्यु. की अधिकारकर्मी तथा लेखक रुक्सना कपाली, नेपाली महिला क्रिकेट टिमकी इन्दु वर्मा, गायिका ओसीन कार्की, गायिका लक्ष्मी आचार्य लगायत अन्य नृत्य, मेरो देश मेरो उत्पादन अन्तरगत विभिन्न स्टलहरु, गेम जोन र विद्यार्थीका तर्फबाट विभिन्न प्रस्तुति रहने छन् । वि.स. २०७६ सालदेखि शुरु गरिएको कार्यक्रमको यो छैठौं संस्करण हो । प्रत्येक वर्ष निरन्तरता दिइने आयोजकको भनाइ छ ।
 नेपालको चार्टर्ड एकाउन्टेन्सी (सिए) शिक्षामा नयाँ पाठ्यक्रम लागु गरिँदै

नेपालको चार्टर्ड एकाउन्टेन्सी (सिए) शिक्षामा नयाँ पाठ्यक्रम लागु गरिँदै

काठमाडौँ । अबदेखि नेपालको चार्टर्ड एकाउन्टेन्सी शिक्षामा नयाँ पाठ्यक्रम लागु गरिने भएको छ । चार्टर्ड एकाउन्टेन्सी शिक्षालाई अझ सान्दर्भिक तथा अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक बनाउने उद्देश्यले नेपालमा नयाँ पाठ्यक्रम लागु गरिन लागेको हो ।

लेखा व्यवसायको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले लेखाव्यवसायको एक अग्रणी संस्था आइसीउइडब्लुसँगको प्राविधिक सहकार्यमा नयाँ पाठ्यक्रम विकास गरेको हो ।

यसरी विकास गरिएको नयाँ पाठ्यक्रम चार्टर्ड एकाउन्टेन्सी शिक्षाको पहिलो, दोस्रो र तेस्रो तहका लागि क्रमशः डिसेम्बर २०२५, डिसेम्बर २०२६ र जुन २०२८ बाट लागु गरिने भएको छ ।

चार्टर्ड एकाउन्टेन्सी शिक्षाको नयाँ पाठ्यक्रम लेखा व्यवसायको सर्वोच्च निकाय आइएफएसीबाट जारी भएको अन्तर्राष्ट्रिय शिक्षा मापदन्ड अनुरुप विकास गरिएको आइक्यानले जनाएको छ ।

लर्निङ अब्जेटिभ तथा टेक्निकल नलेज ग्रिडको अवधारणा अनुरुप विकास गरिएको यस पाठ्यक्रममा आइइएसको मापदण्ड अनुरुप लेखा क्षेत्रका महत्वपूर्ण पक्षहरु संहिता, दीगोपना, प्रविधि र सार्वजनिक वित्त व्यवस्थापन लगायतका विषयवस्तुहरु हरेक विषयको सान्दर्भिकता अनुसार समावेश गरिएको बताइएको छ ।

आइसीउइडब्लुसँगको प्राविधिक सहकार्यमा नयाँ पाठ्यक्रम बमोजिम विकास गरिएको उच्च गुणस्तरीय पाठ्यपुस्तकहरुले समग्र चार्टर्ड एकाउन्टेन्सी शिक्षाको गुणस्तर अभिबृद्धि हुने अपेक्षा रहेको आइक्यानका अध्यक्ष सीए प्रविण कुमार झाले बताउनुभयो ।

नयाँ पाठ्यक्रम लागु भए पश्चात् देशलाई आवश्यक दक्ष लेखाव्यवसायी उत्पादन भई देशको समग्र लेखाव्यवसाय क्षेत्रको विकासमा टेवा पुग्ने तथा संस्थाका सदस्यहरुको अन्तर्राष्ट्रिय पहिचान तथा प्रतिस्पर्धी क्षमतामा समेत उल्लेखनीय रुपमा बृद्धि हुने विश्वास लिइएको छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था नेपालमा लेखाव्यवसायको विकास, संरक्षण, संवद्र्धन तथा नियमन गर्नका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ अन्तरगत स्थापित नियमनकारी निकाय हो । यस संस्थाले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ को व्यवस्था बमोजिम सन् १९९९ देखि चार्टर्ड एकाउन्टेन्सी शिक्षा प्रदान गर्दै आएको छ ।