सेयर बजारमा सुधारको निरन्तरता, कारोबार रकम झण्डै पाँच अर्ब

काठमाडौँ । सुधारिएको सेयर बजारमा कारोबार रकम पनि झण्डै पाँच अर्ब रुपियाँ पुगेको छ । मौद्रिक नीतियता प्राय: सुधारकै बाटोमा लागेको सेयर बजारमा पाँचौं दिनको कारोबार रकम केही दिन यताकै उच्च हो ।

बिहीबार सेयर बजारमापक नेप्से परिसूचक १५.४७ अंकले उकालो लागेर २१२७.४७ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि २.७० अंकले उकालो लागेर ४०५.६२ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा पाँचौ दिनको नेप्से ०.७३ प्रतिशत र सेन्सेटिभ इन्डेक्स ०.६७ प्रतिशतले उकालो लागेको छ ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षका लागि धितोपत्र नीति सार्वजनिक गर्ने तयारी गर्दै गर्दा सेयर बजार उकालो लागेको हो । बुधबारको कारोबार सम्पन्न भएपछि बोर्डले धितोपत्र नीति सार्वजनिक गरेको थियो ।

बिहीबार नेप्से परिसूचकका साथै कारोबार रकम, कारोबार सेयर संख्या, कारोबार संख्यामा पनि बढोत्तरी आएको छ ।

बुधबार पनि नेप्से परिसूचक २४ अङ्कले उकालो लागेको थियो । नेप्से परिसूचक २३.८३ अङ्कले उकालो लागेर दुई हजार १११.९९ पुगेको थियो भने सेन्सेटिभ इन्डेक्स ४.५३ अङ्कले उकालो लागेर ४०२.९२ पुगेको थियो ।

बिहीबार २२१ कम्पनीहरुको एक करोड १९ लाख ५५ हजार ७६ कित्ता सेयर ७२ हजार ४५० पटक खरिदबिक्री हुँदा चार अर्ब ९७ करोड ६४ लाख ३३ हजार १०५ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब ८१ करोड रुपियाँले बढी हो ।

साताको चौँथो कारोबार दिन बुधबार कुल २२७ कम्पनीको ७५ लाख आठ हजार १८८ कित्ता सेयर तीन अर्ब १६ करोड १४ लाख ५५ हजार १४२ रुपियाँमा खरिद बिक्री भएको हो ।

बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये निजीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य बाहेक बाँकी १० वटा उपसमूहको उपसूचक उकालो लागेको छ । वित्त उपसमूह सर्वाधिक ३.१३ अंकले उकालो लागेको बिहीबार लगानी २.९५ प्रतिशत, होटल तथा पर्यटन २.३३ प्रतिशत, विकास बैंक २.२४ प्रतिशतले उकालो लागेको छ ।

बिहीबार झण्डै १८ करोड रुपियाँको सेयर खरिदबिक्री भएर अरुण काबेली सबैभन्दा धेरै सेयर कारोबार गर्ने मध्ये अग्रणी स्थानमा पुगेको छ भने करिब १८ करोडको सेयर किनबेच भयो । शिवम सिमेन्ट्सको १५ करोड ८६ लाख रुपियाँ, अपर तामाकोशी हाइड्रोपावरको १४ करोड १७ लाख रुपियाँभन्दा बढीको सेयर कारोबार भएको छ ।


SHARE THIS