धितोपत्र बोर्डको नीति तथा कार्यक्रम, मर्जरमा गएका कम्पनीहरूको कारोबार रोक्का हुने व्यवस्था हट्दै

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीहरूको कारोबार रोक्का हुने व्यवस्था पनि हटाउने भएको छ ।

बोर्डले चालु आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम मार्फत यस्तो व्यवस्थ ागर्न लागिेको हो । आगामी १० दिनभित्रै मर्जर तथा प्राप्ति सम्बन्धी निर्देशिका जारी गर्ने जानकारी दिंदै अध्यक्ष रमेश कुमार हमालले आगामी २० दिनभित्र उक्त व्यवस्था कार्यान्वयन आउने बताउनुभयो ।

नयाँ व्यवस्था आएपछि मर्जरमा जाने कम्पनीहरूले एकीकृत कारोबार नगरेसम्म दोस्रो बजारमा सेयर कारोबार रोकिने अवस्थाको अन्त्य हुनेछ । नेपाल राष्ट्र बैकले पनि चालु आर्थिक वर्षको मौद्रिक नीतिमा मर्जर तथा प्राप्तिको समयमा सेयर कारोबार रोक्का गर्ने काम धितोपत्र बोर्डको नियम अनुसार हुने बताएको थियो । सोही व्यवस्थालाई कार्यान्वयनमा लैजान बोर्डले सेयर कारोबार रोकिने अवस्थाको अन्त्य गर्न लागेको हो ।

बोर्डले साना तथा मझौला उद्यमहरुको धितोपत्र कारोबारका लागि एसएमइज प्लेटफर्मका लागि आवश्यक व्यवस्था मिलाई व्यवसायिक कृषिजन्य उद्यमलाई पनि पूँजी बजारमा आवद्घ गर्ने भएको छ ।

बोर्डले चालु आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम मार्फत साना तथा मझौला कम्पनीहरुको लागि छुट्टै कारोबार हुने गरी एसएमई प्लेटफर्मको व्यवस्था गर्न लागेको हो ।

साना कम्पनीको सेयर कारोबारमा हुने गरेको कर्नरिङ नियन्त्रण गर्नका लागि यस्तो व्यवस्था गर्न लागेको बोर्डले जनाएको छ ।

बोर्डका अध्यक्ष हमालले चालु आर्थिक वर्षको धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै वास्तविक क्षेत्र तथा अन्य क्षेत्रका कम्पनीहरुलाई धितोपत्र बजारमा सूचीकृत गर्नका लागि आवश्यक हुने नीति, कार्यविधि तथा प्रविधिको व्यवस्था मिलाइने जानकारी दिनुभयो ।

पर्याप्त पूँजी नभएका उद्यमी तथा नवप्रवर्तकका लागि प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटलको माध्यमबाट पूँजी तथा व्यवसायिक ज्ञान परिचालन गर्न सक्ने गरी अनुमतिपत्र प्रदान गरी समुन्नतिको दायरामा बढाइने बोर्डले जनाएको छ ।

वस्तु विनिमय बजार सञ्चालनका लागि आवश्यक वेयरहाउससम्बन्धी नियमाबली, वस्तु कारोबार दलाल व्यवसायी तथा बजार निर्माता नियमाबली र राफसाफ तथा फछ्र्यौट सम्बन्धी नियमाबली तथा विनियमाबलीहरु तयार गर्ने, दरखास्त आब्हान गर्ने र अनुमतिपत्र प्रदान गरी सञ्चालन व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

धितोपत्र बजारलाई देशव्यापी बनाउन वित्तीय रुपले सबल नयाँ धितोपत्र दलाल व्यवसायीहरुको संख्या थप गरिने तथा धितोेपत्रको दोस्रो बजार कारोबारमा तरलता र बजार गहिराई बढाउनका लागि नयाँ धितोपत्र व्यापारी (स्टक डिलर) लाई अनुमति प्रदान गरिने अध्यक्ष हमालले बताउनुभयो ।

बोर्डका अध्यक्ष हमालले आगामी एक महिनामा भेन्चर क्यापिटल र प्राइभेट इक्वीटि फण्डले समेत लाइसेन्स पाउने बताउनुभयो । गएको पाँच वर्ष देखि लाइसेन्स प्रक्रिया रोकिँदै आएको थियो । छ कम्पनीले एलओआइ पाइ सकेको अवस्थामा मर्चेन्ट बैंकलाई लाइसेन्स दिने कि नदिने अन्यौल सिर्जना भएको थियो । बोर्डले मर्चेन्ट बैंकलाइ छुट्टै नियमन गर्ने गरी लाइसेन्स दिने उहाँले बताउनुभयो ।

धितोपत्रको सार्वजनिक निष्काशनमा स्वतन्त्र मूल्य निर्धारण हुने व्यवस्था मिलाउर्न बुक बिल्डिङ प्रणालीलाई प्रभावकारी बनाउने बोर्डको भनाई छ । बुक बिल्डिङ प्रभावकारी बनाउन अन्तराष्ट्रिय रूपमा प्रयोगमा रहेको अटोमेटिक इलेक्ट्रोनिक सिस्टम प्रयोगमा ल्याउने बोर्डले जनाएको छ ।

सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा गरेको पब्लिक लिमिटेड कम्पनीहरुलाई धितोपत्र सार्वजनिक निष्काशन गरी सूचीकृत हुनुपर्ने व्यवस्थालाई कार्यान्वयन गर्ने बोर्डले जनाएको  छ ।

बजेट वक्तव्यमा एक अर्ब रुपियाँ वा सोन्दा बढीको पूँजी वा पाँच अर्ब रुपियाँभन्दा बढीको कारोबार गर्ने कम्पनी, प्राकृतिक स्रोतहरुको उपयोग गर्ने कम्पनी तथा राज्यबाट अनुदान, सहुलियत वा कर छुट प्राप्त गर्ने पब्लिक लिमिटेड कम्पनीहरुलाई धितोपत्र सार्वजनिक निष्काशन गरी सूचीकृत हुनुपर्ने व्यवस्था गरिएको छ ।

यसका लागि धितोपत्रको सार्वजनिक निष्काशनका लागि कम्पनी ऐन, २०६३ मा गर्नुपर्ने सुधारका सम्बन्धमा कम्पनी रजिष्ट्रारको कार्यालयसँग समन्वय गरिने बोर्डले जनाएको छ । साथै कम्पनी कानुनमा भएको सुधार अनुरुप हुने गरी धितोपत्र सम्बन्धी कानुनमा सुधार गरिने पनि बोर्डले जनाएको छ ।

धितोपत्र बजार तथा वस्तु विनिमय बजारको व्यवस्थित तथा योजनावद्घ रुपमा विकास तथा सुधार कार्य अगाडि बढाउन बोर्डले विगत वर्षदेखि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आएको छ ।


SHARE THIS