काठमाडौँ । नेपाली रुपियाँको अहिलेसम्मकै धेरै अबमूल्यन भएको छ । पछिल्लो समय निरन्तर बढिरहेको अमेरिकी डलरको मूल्य बिहीबार १२४.६८ रुपियाँ पुगेको छ । जसका कारण नेपाली मुद्रा अहिलेसम्मकै कमजोर बनेको छ ।
जुन नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको मूल्य अहिलेसम्मकै बलियो बनेको छ । बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १२४.६८ रुपैयाँ (बिक्री दर) तोकेको छ ।
यसअघि गत जेठ ६ गते डलरको मूल्य १२४.६७ रुपियाँ पुगेको थियो । करिब तीन सातामा डलरको मूल्यमा सामान्य कमी भएकोमा पछिल्ला दिनमा लगातार बढिरहेको छ । सोही क्रममा बिहीबार नयाँ उचाइमा पुगेको हो ।
पछिल्ला केही महिनायता डलरको मूल्य उकालो लाग्दा त्यसको असर भारतीय मुद्रा (भारु) हुँदै नेपाली मुद्रासम्म आइपुगेको हो । नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ ।
डलर बलियो बन्दा नेपाल आउने रेमिट्यान्समा सकारात्मक प्रभाव पर्ने, विदेशमा रहेका नेपालीले पठाउने रेमिट्यान्सको आकार बढ्ने गर्दछ । तर पर्यटक आउने र निर्यात बढ्ने सम्भावना नभएको अवस्थामा डलरको मूल्य बढ्दा नोक्सानी बढी हुने देखिन्छ ।