उच्चपदस्थ स्वदेशी तथा विदेशी व्यक्तिको बैंक खाता निगरानी गर्नुपर्ने

काठमाडौँ । अब बैंक तथा वित्तीय संस्थाहरुले उच्चपदस्थ स्वदेशी तथा विदेशी व्यक्तिको बैंक खाता निगरानी गर्नुपर्ने भएको छ । निगरानीका क्रममा शंकास्पद देखिए जानकारी गराउन बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।

राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७८ मा रहेको सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण गर्नेसम्बन्धी व्यवस्थामा संशोधन गर्दै यस्तो निर्देशन दिएको हो ।

संशोधित व्यवस्थामा ‘स्वदेशी उच्चपदस्थ व्यक्ति’ भन्नाले राष्ट्रपति, उपराष्ट्रपति, मन्त्री, व्यवस्थापकीय संसदका सदस्य, संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणी वा सोसरहको वा सोभन्दा माथिका पदाधिकारी, उच्च अदालतका न्यायाधीश वा  सोभन्दा माथिल्लो तहका न्यायाधीश, उच्च राजनीतिज्ञ, राष्ट्रियस्तरका राजनीतिक दलका केन्द्रीय  पदाधिकारी, नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका 

संस्थाको उच्च पदाधिकारी वा त्यस्ता जिम्मेवारी भएको वा पाएको व्यक्ति सम्झनुपर्ने राष्ट्र बैंकले  जनाएको छ ।

यस्ता उच्चपदस्थ व्यक्तिको खातामा निगरानी गर्न र शंकास्पद देखिएमा जानकारी गराउन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । यसैगरी कम्पनीको नाममा भइरहेका कारोबारमा वास्तविक खातावाल धनी तथा कम्पनीमा निर्देशन दिनसक्ने अधिकारीको खातासमेत निगरानीमा राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।


SHARE THIS