नेपाली रुपियाँको अहिलेसम्मकै धेरै अबमूल्यन, डलरको मूल्यमा रेकर्ड ब्रेक

काठमाडौँ । नेपाली रुपियाँको अहिलेसम्मकै धेरै अबमूल्यन भएको छ । पछिल्लो समय निरन्तर बढिरहेको अमेरिकी डलरको मूल्य मङ्गलबार १२५.१६ रुपियाँ पुगेको छ । जसका कारण नेपाली मुद्रा अहिलेसम्मकै कमजोर बनेको छ ।

जुन नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको मूल्य अहिलेसम्मकै बलियो बनेको छ । मङ्गलबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १२५.१६ रुपियाँ (बिक्री दर) तोकेको छ ।

डलरको मूल्य निरन्तर बढ्दो क्रममा देखिएको पछिल्लो समय एकपछि अर्को रेकर्ड बनाउदै आएको छ ।  डलरको मूल्य बढ्ने क्रम अझै रोकिएको छैन ।

सोमबार डलरको मूल्यमा नयाँ रेकर्ड कायम भएकोमा मङ्गलबार अमेरिकी डलरको मूल्य ३३ पैसाले बढेर हालसम्मकै उच्च दरमा पुगेको हो ।

पछिल्ला केही महिनायता डलरको मूल्य उकालो लाग्दा त्यसको असर भारतीय मुद्रा (भारु) हुँदै नेपाली मुद्रासम्म आइपुगेको हो । नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ ।

डलर बलियो बन्दा नेपाल आउने रेमिट्यान्समा सकारात्मक प्रभाव पर्ने, विदेशमा रहेका नेपालीले पठाउने रेमिट्यान्सको आकार बढ्ने गर्दछ । तर पर्यटक आउने र निर्यात बढ्ने सम्भावना नभएको अवस्थामा डलरको मूल्य बढ्दा नोक्सानी बढी हुने देखिन्छ ।


SHARE THIS