दुई हजारको विन्दुभन्दा पनि तल झर्‍यो नेप्से

काठमाडौँ । गिरावटको लयमा लागेको सेयर बजार अन्तत दुई हजारको विन्दुभन्दा पनि तल झरेको छ । साताको दोस्रो दिन सेयर बजारमापक नेप्से परिसूचक ३६.०८ अंकले ओरालो लागेर १९९६.२५ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ६.४८ अंकले ओरालो लागेर ३८३.५१ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा मङ्गलबारको नेप्से १.७८ प्रतिशत र सेन्सेटिभ इन्डेक्स १.६६ प्रतिशतले ओरालो लागेको छ ।

डेढ वर्षपछि नेप्से परिसूचक दुई हजारको विन्दुभन्दा तल झरेको हो । नेप्से परिसूचक २०७७ पुस १२ गतेपश्चात पहिलो पटक २००० विन्दुभन्दा तल झरेको हो । सो दिन नेप्से परिसूचक १९९८.६५ विन्दुमा बन्द भएको थियो । 

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेरै बन्द भएको थियो । सोमबार नेप्से परिसूचक १५.८२ अंक घटेर २०३२.३४ विन्दुमा झरेको थियो । सेन्सेटिभ इण्डेक्स २.३० अंक घटेको थियो भने फ्लोट इण्डेक्स १.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८६ अंक घटेको थियो ।

मङ्गलबार २३२ कम्पनीहरुको ४१ लाख ४७ हजार २५५ कित्ता सेयर ३१ हजार ८०६ पटक खरिदबिक्री हुँदा एक अर्ब १८ करोड ५५ लाख ४६ हजार १७९ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा १९ करोड रुपियाँले बढी हो । सोमबार २३० कम्पनीहरुको २० हजार ७७४ पटकको कारोबारमा ९९ करोड ८६ लाख ७४ हजार रुपियाँ बराबरको २९ लाख २० हजार कित्ता सेयर खरिदबिक्री भएको थियो ।

मङ्गलबार शिवम् सिमेन्टको सर्वाधिक चार करोड ६७ लाख बढीको सेयर कारोबार भएको छ भने  एनसीसी बैंक ३.७९ करोड, नेपाल लाइफ ३.३३ र नबिल बैंकको ३.२० करोडको सेयर खरीद बिक्री भएको छ । उपकार लघुवित्त, अरुण काबेली पावर, निफ्रा, अरुण भ्याली हाइड्रोपावर, शिखर इन्स्योरेन्स र एनआईसी एशिया बैंकको शीर्ष दश ठूलो कारोबार भएको छ ।

मङ्गलबारको बजारमा आधिँखोला लघुवित्तको सेयरमूल्य सर्वाधिक ८.१८ प्रतिशतले बढेर ४४८.४० रुपियाँ पुगेको छ । एनएमबि ५० को इकाईमूल्य ४.१० प्रतिशत र माउन्टेन हाइड्रोपावर नेपालको सेयरमूल्य ३.७२ प्रतिशतले बढेको छ ।

यता हिमालयन पावर पार्टनरको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले घटेर बलेफी हाइड्रोपावरको ८.१५, सगरमाथा इन्स्योरेन्स ६.५१ प्रतिशत, ग्रीन भेञ्चर लिमिटेड ६.४५ र गणपति माइक्रोफाइनान्सको सेयरमूल्य ६.२४ प्रतिशतले घटेको छ । यसैगरी शिखर, प्रोगेशिभ फाइनान्स, युनाइटेड इन्स्योरेन्स, दिब्यश्वरी हाइड्रोपावर र मल्टिपर्पस फाइनान्सको सेयरमूल्य पाँच प्रतिशतभन्दा तल झरेको छ ।

मङ्गलबार कारोबारमा आएका कुल १३ उपसमूहमध्ये सबै उपसमूह ओरालो लागेका छन् । अन्य समूह सर्वाधिक ३.४४ प्रतिशतले ओरालो लागेको मङ्गलबार व्यापार ३.१२ प्रतिशतले ओरालो लागेको छ ।


SHARE THIS