आन्दोलनरत लगानीकर्ताको माग पुरा गर्न बोर्ड सकारात्मक

ललितपुर । पछिल्लो समय सेयर बजारमा सुधारको माग राख्दै आन्दोलनरत लगानीकर्ताहरुलाई नियामक निकाय नेपाल धितोपत्र बोर्डले आन्दोलन रोक्न आब्हान गरेको छ ।

बोर्डका अध्यक्ष रमेश हमालले मङ्गलबार बोर्डमा आयोजित पत्रकार सम्मेलनमा आन्दोलनरत लगानीकर्ताको माग पुरा गर्न बोर्ड सकारात्मक रहेको भन्दै अनसनको कार्यक्रम रोक्न पनि आब्हान गर्नुभयो । बोर्डमात्रै नभएर अर्थ मन्त्रालय पनि अनसनसम्म बसिरहेका आन्दोलनरत लगानीकर्ताको पक्षमा रहेको उहाँको भनाई थियो ।

वार्ता टोली बनाएर प्रतिवद्धता गरिरहनु भन्दा कार्यान्वयन गर्न सक्ने मागहरुको कार्यान्वनय समय तालिका बनाइहाल्ने भन्दै अध्यक्ष हमालले कतिपय माग कार्यान्वनय गर्न सकिने भन्दै लगानीकर्ताको जायज माग ढिलामा तीन महिनाभित्र पुरा हुने बताउनुभयो ।

एसएमई प्लेटफर्म भदौदेखि लागू हुने, २४ स्थानमा ब्रोकरको शाखा स्थापना गरिने भन्दै उहाँले मर्ज प्राप्तिमा सेयर रोक्का नीति परिमार्जनको लागि राष्ट्र बैंकलाई विनियमावाली संशोधन गर्न लगाउने सम्मको काम हुने बताउनुभयो । दीर्घकालीन लगानीकर्ताले तिर्ने पुँजीगत लाभकर छुटको लागि अर्थ मन्त्रालयमा कुरा भइरहेको पनि अध्यक्ष हमालले जानकारी दिनुभयो ।

४/१२ परिमार्जन हुनुपर्ने

सेयर बजार घट्नुको प्रमुख कारण राष्ट्र बैंकको नीति भएको भन्दै अध्यक्ष हमालले ४/१२ को नीतिले बजार घटेको हँुदा संशोधनको लागि पहल भइरहेको बताउनुभयो ।

राष्ट्र बैंकले ल्याएको जोखिम भार सम्बन्धि नीतिका कारण पनि समस्या भएको भन्दै उहाँले यस विषयमा अर्थमन्त्रालय मार्फत राष्ट्र बैंकसँग कुरा गरेको बताउनुभयो ।

राष्ट्र बैंकले नीति बनाउँदा समन्वय नगरेको गुनासो गर्दै उहाँले भन्नुभयो – ‘राष्ट्र बैंक, बीमा समिति हामी जस्ता नियामक निकायहरु बीच नीति बनाउँदा एक अर्कामा समन्वय हुनुपर्ने हो । समन्वय पनि राष्ट्र बैंक मार्फत हुनुपर्छ, यस विषमा हामी राष्ट्र बैंक सँग कुरा गर्छौंं ।’

पुँजीबजार सुधार सुझाव समितिले मौद्रिक नीतिमा ४/१२ को व्यवस्था परिवर्तन गर्न अध्ययन सुरु गरेको जानकारी दिनुभयो ।


SHARE THIS