लामो समयपछि सेयर बजारमा हरियाली, कारोबार घट्यो

काठमाडौं । पछिल्लो समय निरन्तर ओरालो लागिरहेको सेयर बजार १९ औं कारोबार दिनमा सुधारिएको छ । लगातार १८ कारोबार दिनसम्म ओरालो लागिरहेको बजार साताको तेस्रो दिन ४० अंकले सुधारिएको हो । नेप्से सुधारिए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा खस्किएको छ । 

मङ्गलबार सेयर बजार मापक नेप्से परिसूचक ३९.९३ अंकले उकालो लागेर १९२४.७४ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ८.९० अंकले उकालो लागेर ३७५.०९ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा तेस्रो दिनको नेप्से २.१२ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि २.४३ प्रतिशतले उकालो लागेको छ ।

लगातार ओरालो बाटोमा लागेको सेयर बजार १८ सयको विन्दुमा पुगेको थियो । साताको दोस्रो दिन सेयर बजार मापक नेप्से परिसूचक ४९.३१ अंकले ओरालो लागेर १८८४.८१ को विन्दुमा पुगेर रोकिएको थियो । सेन्सेटिभ इन्डेक्स पनि ७.६६ अंकले ओरालो लागेर ३६६.१९ को विन्दुमा पुगेर रोकिएको थियो । समग्रमा सोमबारको नेप्से २.५५ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि २.०५ प्रतिशतले ओरालो लागेको थियो । नेप्से ओरालो लागेपनि सोमबारको कारोबारमा अघिल्लो दिनको तुलनामा बढोत्तरी आएको थियो ।

मङ्गलबार दिनभर २३१ कम्पनीहरुको ३७ लाख ६५ हजार ५१६ कित्ता सेयर २५ हजार ३६४ पटक खरिदबिक्री हुँदा एक अर्ब २५ करोड ३७ लाख ५७ हजार ७१५ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ५० करोड रुपियाँले कमी हो ।

सोमबार दिनभर २३० कम्पनीहरुको ६१ लाख ८६ हजार ९४१ कित्ता सेयर ३६ हजार ४६४ पटक खरिदबिक्री हुँदा एक अर्ब ७५ करोड छ लाख १७१ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।

मङ्गलबार ११ करोड ७२ लाख रुपियाँ बराबरको सेयर खरिदबिक्री भएर नेपाल टेलिकम कारोबार रकमका आधारमा अगाडि देखिएको छ । नबिल बैंकको चार करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

मङ्गलबार आँधीखोला लघुवित्त, सिवाईसी लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यसैगरी, सामुदायिक लघुवित्त, रिभर फल्स पावर, शिवश्री हाइड्रोपावर र एनएमबि हाइडब्रिड फण्ड एल १ को मूल्य आठ प्रतिशतभन्दा बढी बढेको छ ।

मङ्गलबार कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक उकालो लागेको छ । विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.८९ प्रतिशतले उकालो लागेको तेस्रो दिन वित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक तीन प्रतिशतभन्दा बढीले उकालो लागेको छ भने होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त र व्यापार उपसमूहको परिसूचक दुई प्रतिशतभन्दा बढी बढेको छ ।


SHARE THIS